कैलालीका दुई पसलमा प्रहरीको छापा, अवैध सामानसहित एक जना पक्राउ
धनगढीः कैलालीका दुई पसलमा प्रहरीले छापा मारेको छ। दुबै पसलबाट प्रहरीले ६ लाख ४१ हजारभन्दा बढी मूल्यका अवैध सामान जफत गरेको छ।
जिल्लाको गौरीगङ्गा नगरपालिका–८ बढैपुर स्थित डिल्लीराम आचार्यले सञ्चालन गरेको म्याक्स जनरल स्टोर र गोविन्द शर्माले सञ्चालन गरेको बेरोजगार किराना पसलबाट अवैध सामान बरामद भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको सादा पोसाकको प्रहरी टोलीले सामान जफल गरेको हो। प्रहरी नायव निरीक्षकको कमाण्डमा र इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको १२ जनाको संयुक्त प्रहरी टोलीले विना बिलका अवैध सामान बरामद गरेको छ।
म्याक्स जनरल स्टोरबाट करिब ६ लाख ४१ हजार ९ सय २० मूल्य बराबरका र बेरोजगार किराना पसलबाट करिब ४१ हजार २ सय मुल्य बराबरका अवैध सामान शनिवार दिउँसो बरामद गरिएको हो। अवैध सामानसहित म्याक्स जनरल स्टोरका सञ्चालक डिल्लिराम आचार्यलाई समेत नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मालाखेती पठाइएको छ।
प्रहरीले म्याक्स जनरल स्टोरबाट १९ क्वीन्टल अवैध चिनी, आन्टी सुपारी ६८८ प्याकेट, सुर्ती १५६ प्याकेट, गुट्खा ४३० प्याकेट, पवन सुर्ती ६ सय प्याकेट, बिडी १२ सय बण्डल, स्याम्पु १८ पेटी, पानी पुरी २ पेटी (४८ पोका) र बेरोजगार किराना पसलबाट दुई क्वीन्टल अवैध चिनी, बिडी १५० बण्डल र विभिन्न ब्राण्डका सुर्ती ११४ प्याकेट प्रहरीले नियन्त्रणमा लिएको छ।