पिकनिक विवाद हिंसात्मक झडपमा परिणत, प्रहरीसहित ६ जना घाइते
धनगढीः कैलालीमा पिकनिक खान गएका स्थानीयबीच भएको सामान्य विवादले उग्र रूप लिँदा झडपमा परिणत भई प्रहरीसहित ६ जना घाइते भएका छन् भने घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्लाको कैलारी गाउँपालिका–१ स्थित वनदेवी मन्दिर क्षेत्रमा बिहीबार घोडाघोडी नगरपालिका–११ टप्पाका स्थानीयहरूबीच पिकनिकका क्रममा विवाद चर्किँदै कुटाकुट भएको हो।
स्थिति नियन्त्रणमा लिन पुगेको इलाका प्रहरी कार्यालय हसुलियाको टोलीमाथि समेत आक्रमण भएको प्रहरीले जनाएको छ। झडप नियन्त्रणका क्रममा इलाका प्रहरी कार्यालय हसुलियाका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) साउनसिंह क्षेत्री भाट, प्रहरी हवलदार भवानसिंह बुडाल र प्रहरी सहायक हवलदार शैलेन्द्र बोहरा घाइते भएका छन्।
त्यसैगरी स्थानीय गोकर्ण बोहरा, रामचरण चौधरी र नृप बोहरा पनि घाइते भएका छन्। घाइतेमध्ये प्रहरी सहायक हवलदार बोहरा र गोकर्ण बोहराको निसर्ग अस्पतालमा उपचार भइरहेको छ भने अन्य घाइते सामान्य उपचारपछि घर फर्किएका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घटनामा संलग्न २० वर्षीय स्वरुप कठरिया, २३ वर्षीय दिलीप कठरिया र २१ वर्षीय अरमान कठरियालाई पक्राउ गरिएको छ।
प्रहरीका अनुसार झडपका क्रममा खुकुरी, खुडा र चक्कुजस्ता घरेलु हतियार समेत प्रयोग गरिएको थियो। प्रारम्भिक रूपमा सानो संख्यामा पुगेको प्रहरी टोलीमाथि आक्रमण भएपछि पछि थप प्रहरी परिचालन गरी अवस्था नियन्त्रणमा लिइएको हो।