सुदूर नेपाललाई विश्वसँग जोड्दै

फाप्ला मैदान निर्माणका लागि ठेक्का आह्वान, वर्षौंदेखिको सपना कार्यान्वयनको चरणमा

२०८३ मंसिर ५, १०:१० खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ठेक्का आह्वान भएको छ। फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेलग्राम परियोजनाअन्तर्गत रङ्गशाला निर्माणका लागि बहुवर्षीय ठेक्का आह्वान गरिएको हो।

सहरी विकास तथा भवन निर्माण कार्यालय धनगढी कैलालीले सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय सार्वजनिक खरिद प्रणालीमार्फत बोलपत्र आह्वान गरेको हो। ठेक्का आह्वानसँगै वर्षौंदेखि चर्चामा रहेको फाप्ला रङ्गशाला निर्माणको काम अघि बढ्ने बाटो खुलेको छ।

धनगढी उपमहानगरपालिका–३ स्थित मोहना नदी किनारको बोराडाँडी क्षेत्रमा साढे ३८ बिघा क्षेत्रफलमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालासहित खेलग्राम निर्माण गर्ने सरकारको योजना छ। ठेक्का आह्वान भएपछि फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेलग्राम निर्माण अभियानका नेतृत्वकर्ता सुवास शाहीले यसलाई वर्षौंदेखिको सपना, संघर्ष र धैर्यको ऐतिहासिक उपलब्धिका रूपमा व्याख्या गरेका छन्।

उनले यो उपलब्धि कुनै एक व्यक्ति वा समूहको नभई फाप्लालाई आफ्नो मुटुको टुक्रा ठान्ने हरेक नेपालीको साझा विजय भएको बताएका छन्। अब फाप्ला निर्माणको सपना कल्पनामा मात्र सीमित नरही कार्यान्वयनको चरणमा प्रवेश गरेको उनको भनाइ छ।

शाहीले भनेका छन्, ‘यो उपलब्धि कुनै एक व्यक्ति वा समूहको मात्र होइन, फाप्लालाई आफ्नो मुटुको टुक्रा ठान्ने हरेक नेपालीको साझा विजय हो। अझै यात्रा बाँकी छ, जिम्मेवारी धेरै छन्। तर अब हाम्रो सपना केवल कल्पनामा सीमित रहेन, धरातलमा कार्यान्वयनको चरणमा प्रवेश गरेको छ।’

धनगढीमा विसं २०६६ सालदेखि क्रिकेटको व्यावसायिक विकास र प्रवर्द्धनका लागि सुरु भएका प्रयासले कालान्तरमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको अभियानको रूप लिएको थियो। क्रिकेट अभियन्ता शाहीको अगुवाइमा एसपीए कप, धनगढी क्रिकेट लिग डीसीएल तथा धनगढी प्रिमियर लिग डीपीएल जस्ता प्रतियोगिता सञ्चालन भएपछि धनगढीमा क्रिकेटको लोकप्रियता बढ्दै गएको थियो।

२०७१ सालमा अस्थायी क्रिकेट मैदानका रूपमा फाप्लाको पहिचान गरिएको थियो। त्यसपछि २०७२ सालदेखि फाप्लालाई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका रूपमा विकास गर्ने उद्देश्यसहित ‘ड्रिम फाप्ला’ अभियान सुरु गरिएको थियो। आर्थिक वर्ष २०७२–७३ को संघीय बजेटमा समेत फाप्ला रङ्गशाला निर्माणको विषय समेटिएको थियो। तर, जग्गा प्राप्ति हुन नसक्दा आयोजना अघि बढ्न सकेको थिएन।

२०७८ माघ २४ गते बसेको नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेलग्राम निर्माणलाई राष्ट्रिय प्राथमिकतामा राख्दै आयोजना कार्यान्वयनका लागि विकास समिति गठन गर्ने निर्णय गरेको थियो। त्यसपछि २०७९ वैशाख २६ गते नेपाल राजपत्रमा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति गठन आदेश प्रकाशित भएको थियो। सोही वर्ष आयोजनाका लागि जग्गा प्राप्ति भएको थियो।

यस्तै, २०७९ जेठ २३ गते सरकारले अभियानका नेतृत्वकर्ता सुवास शाहीलाई विकास समितिको अध्यक्षमा मनोनीत गरेको थियो। लामो समयदेखि विभिन्न चरण पार गर्दै आएको आयोजना अब ठेक्का आह्वानसँगै निर्माणको चरणमा प्रवेश गर्ने अपेक्षा गरिएको छ।

कमेन्ट लोड गर्नुस