बालेन्द्र शाहको अभिव्यक्तिविरुद्ध अनेरास्ववियुको खबरदारी र्याली, धनगढीमा फोटो दहन
नेकपा (एमाले) निकट अनेरास्ववियु कैलालीले प्रधानमन्त्री बालेन्द्र शाहको संसदमा दिएको अभिव्यक्तिको विरोध गर्दै आइतबार धनगढीमा खबरदारी र्याली तथा कोणसभा आयोजना गरेको छ।
अनेरास्ववियु कैलाली जिल्ला समितिको आयोजनामा “राष्ट्रिय स्वाभिमान, राष्ट्रिय हित र सार्वभौम नेपालका लागि एकजुट बनौं” भन्ने मूल नारासहित धनगढी उपमहानगरपालिका–१ स्थित पार्कमोड पिपल चौताराबाट सुरु भएको र्याली जेन्जी मार्ग चोकमा पुगेर कोणसभामा परिणत भएको थियो। कार्यक्रममा सहभागीहरूले प्रधानमन्त्री शाहको फोटोसमेत दहन गरेका थिए
कार्यक्रममा अनेरास्ववियु कैलालीका अध्यक्ष कुबेर खड्काको नेतृत्वमा अनेरास्ववियु केन्द्रीय अध्यक्ष दीपक धामी, सुदूरपश्चिम प्रदेश अध्यक्ष मनोजराज राईलगायत करिब ३०–३५ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ।
कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष खड्काले प्रधानमन्त्री शाहले राष्ट्रिय स्वाभिमान र सार्वभौमसत्तासँग जोडिएको विषयमा गैरजिम्मेवार अभिव्यक्ति दिएको आरोप लगाए। उनले नेपालको भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीको विषयमा राष्ट्रिय हितअनुसार स्पष्ट अडान लिनुपर्ने भन्दै प्रधानमन्त्रीको भनाइप्रति आपत्ति जनाए।
विरोध प्रदर्शनका क्रममा सहभागीहरूले राष्ट्रिय स्वाभिमान, सीमा रक्षा तथा प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध विभिन्न नाराबाजी गरेका थिए।
अनेरास्ववियुले प्रधानमन्त्रीको भनाइ सच्याउन तथा राष्ट्रिय हितविपरीत अभिव्यक्ति नदिन सरकारलाई खबरदारी गर्न कार्यक्रम आयोजना गरिएको जनाएको छ।