नेपाली चलचित्र ‘दिमाग खराब’को प्रदर्शन स्थगित
काठमाडौँ: नेपाली चलचित्र ‘दिमाग खराब’को प्रदर्शन स्थगित गरिएको छ। गत शुक्रवारदेखि प्रदर्शनमा आएको फिल्मलाई हलहरूले अन्यायपूर्ण व्यवहार गरेको भन्दै स्थगित गरिएको हो। चलचित्र हलसँग विमति राख्दै यो फिल्मको प्रदर्शन स्थगित गरिएको निर्माण कम्पनी सिनेमा आर्टस्ले जनाएको छ।
आर्टस्ले हलहरूले नेपाली फिल्मलाई सधैँ अन्यायपूर्ण व्यवहार गर्ने गरेको कारण यसको प्रतिवाद गरेको एक विज्ञप्ति मार्फत बताएको छ । “विगतदेखि हामी नेपाली चलचित्र निर्माताले प्रदर्शकहरूबाट सधैँ अन्यायपूर्ण व्यवहार खेप्दै आएका छौँ । विदेशी चलचित्रलाई बिना तर्क प्रशस्तै सोहरू दिने र दर्शकको अत्यधिक चासो भएको र दर्शकहरूले हेर्न खोजेका नेपाली चलचित्रलाई पनि आवश्यक सो नदिने प्रचलन पुरानै हो,” विज्ञप्तिमा अगाडि भनिएको छ, “पहिलो र दोस्रो हप्ता निर्माता र हल सञ्चालकमा हुने शेयर बाँडफाँट ५०%–५०% प्रतिशत हुन्छ । तर, तेस्रो हप्तादेखि निर्मातालाई ३५% र प्रदर्शकलाई ६५% शेयर बाँडिने कुरा पनि हामीले जाहेर गर्दछौँ । र, यो अन्यायपूर्ण व्यवहार निरन्तर जारी रहेको हुनाले हामीले प्रतिवाद गर्ने निर्णय गरेका छौँ ।”
जबसम्म विदेशी फिल्म र नेपाली फिल्मलाई बराबर शेयर बाँडफाँट हुँदैन तबसम्मको लागि नेपालमा फिल्म प्रदर्शन रोक्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । हलमा रिलिज गर्ने वातावरण नरहे दर्शकलाई अन्य कुनै माध्यमबाट फिल्म देखाउने समेत विज्ञप्तिमा उल्लेख छ ।