धनगढीमा नक्सा पास नगरेरै धमाधम भौतिक संरचना निर्माण हुँदै
धनगढीः धनगढी उपमहानगरपालिका २६१ दशमलव ७५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ भने यहाँ ४४ हजार ७७९ घरपरिवारको बसोबास छ। प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीको जनसंख्या २०७८ को जनगणना अनुसार एक लाख ९८ हजार ७९२ रहेको छ।
करिब दुई लाख व्यक्ति बस्ने धनगढीमा निर्माण भएका सबै घर राष्ट्रिय भवन संहिता र मापदण्ड अनुरूप निर्माण भएको हुनुपर्ने हो। तर, धनगढीमा नक्सा पास नगरेरै घर निर्माण गर्ने क्रम रोकिएको छैन। नक्सा पास बिना घर निर्माण गरेको पाइए भत्काउन समेत सकिने धनगढी उपमहानगरपालिकाका डिभिजनल इन्जिनियर द्विजराज भट्टले बताए।
‘नक्सा पास बिना घर निर्माण गर्न पाइन्न। यदि बनाइएको छ भने मापदण्ड नमिलेको अवस्थामा स्थानीय सरकारले भत्काउन पाउँछ।’ उनले भने, ‘मापदण्ड मिलेको छ भने जरिबान लिएर नक्सा पास गर्न सकिन्छ। संघीय सरकारले बनाएको कानूनमै नक्सा पास बिना घर निर्माण गर्न नपाइने व्यवस्था स्पष्ट रुपमा लेखेको छ।’ स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २७ मा नक्सा पास नगराइ भवन निर्माण गर्न नहुने व्यवस्था छ।
कानूनले नयाँ भवन बनाउने, पुरानो भवन भत्काई पुनः निर्माण गर्ने, तल्ला थप गर्ने, मोहडा फेर्ने वा साविक थपघट गरी झ्याल ढोका, बार्दली, कौसी, दलान, टहरा तबेला वा ग्यारेज र कम्पाउन्ड वाल समेत निर्माण गर्न अनिवार्य गाउँपालिका र नगरपालिकाबाट नक्सा पास गरेको हुनुपर्ने व्यवस्था गरेको छ। नक्सा पास बिना मापदण्ड अनुसार घर निर्माण भएको छ भने नक्सा पास गर्न सुरूको दस्तुरको तेब्बर बढी दस्तुर लिने व्यवस्था रहेको डिभिजनल इन्जिनियर भट्टले बताए।
‘नक्सा पास बिना निर्माण गरिएको घरको नक्सा पास गराउँदा जरिबाना लाग्छ।’ उनले भने, ‘जरिबानाको विषय पनि ऐनमै व्यवस्था गरिएको छ। घर निर्माण गरेपछि नक्सा पास गर्दा धनगढीमा दुई सय प्रतिशत जरिबाना लाग्छ।’ नम्बरी जग्गामा नक्सा पास नगरेर घर बनाएको विषय उपमहानगरको जानकारीमा आएमा वा कसैले उजुरी दिएमा आवश्यक कारबाही गर्ने उपमहानगरले जनाएको छ।
कसैले उजुरी गरेको अवस्था वा उपमहानगरले अनुगमन गर्दा घर नक्सा तथा थपिएको तलाको नक्सा पास नगरेको भेटिए मापदण्ड अनुसार भए नक्सा पास गरिनेछ भने मापदण्ड विपरीत भए भत्काइने कानुनी व्यवस्था छ। तर, ऐलानी जग्गामा बनेका घरहरूको हकमा भने आवश्यक कारबाही भूमि आयोगले जग्गाको लालपुर्जा वितरण गरेपछि मात्रै अगाडि बढ्ने डिभिजनल इन्जिनियर भट्टले बताए।
‘नम्बरी जग्गाको हकमा घर बनाउनुभन्दा अगाडि नक्सा पास गरेको हुनुपर्छ। ऐलानीको हकमा भने नक्सा पास गर्न सकिन्न।’ उनले भने, ‘ऐलानी जग्गाको लालपुर्जा वितरण गरिएपछि नक्सा पास गर्न मिल्छ।’ धनगढी उपमहानगरपालिकासँग १९ वटै वडामा घरपरिवारको संख्या कति छ भन्ने तथ्याङ्क भए पनि नक्सा पास बिना बनेका घरको तथ्याङ्क भने छैन। मापदण्ड अनुसार घर तथा भवन निर्माण गर्न नक्सा पास गर्ने अधिकार पाएको उपमहानगरले नक्सा पास गरेको र मापदण्ड अनुसार घर निर्माण गर्नुपर्ने नियमको पूर्ण कार्यान्वयन गर्न सकेको छैन।