सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुर अस्पतालमा ११ चिकित्सकको माग, आवेदन चार जनाको मात्रै

२०८० कार्तिक १४, ०६:४० नारायण अवस्थी

धनगढीः कैलालीको टीकापुर अस्पतालमा चिकित्सक नआउने समस्या छ। प्रदेश सरकार मातहतको सो अस्पतालमा विज्ञापन खोल्दा दरखास्त नै नपर्ने समस्या देखा परेको हो। सुदूरपश्चिमकै ‘क’ श्रेणीको टीकापुर अस्पताल प्रदेश सरकार मातहत सञ्चालित छ।

टीकापुर अस्पतालमा सेवाग्राहीको संख्या दिनहुँ बढ्दो छ। तर, चिकित्सक नहुँदा उपचार सेवा प्रभावित हुने गरेको छ। प्रदेश सरकारले टीकापुर अस्पतालप्रति गरेको विभेदले अस्पताल समस्यामा परेको गुनासो अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारीको छ। ‘प्रदेश सरकारको नीतिका कारण टीकापुर अस्पताल समस्यामा परेको छ। प्रदेशको सबैभन्दा ठूलो अस्पताललाई सरकारले जिल्ला अस्पतालको हैसियतको व्यवहार गर्ने गरेको छ’, सिडारीले भने।
टीकापुरमा चिकित्सक आउनै मान्दैनन् 
प्रदेश सरकार मातहतको टीकापुर अस्पतालले असोज ७ गते ११ जना चिकित्सकका लागि विज्ञापन खोल्यो। ६ जना विषेशज्ञ चिकित्सक र पाँच जना मेडिकल अधिकृतको विज्ञापनमा चार जनाको मात्रै आवेदन प¥यो। अस्पतालले बालरोग विशेषज्ञ, अर्थोपेडिक सर्जन, नाक, कान र घाँटी रोग विषेशज्ञ एनेस्थेसियोलोजिस्ट र कन्सल्टेन्ट रेडियोलोजिस्ट एक/एक जना र मेडिकल अधिकृत पाँच जनाको विज्ञापन खोलेको थियो।

अस्पतालले एघार जना चिकित्सकको विज्ञान गरे पनि दरखास्त भने चार जनाको मात्रै प¥यो। अन्तर्वार्तामा सामेल हुन तीन जना भए पनि नियुक्ति बुझ्न भने एक जना कन्सल्टेन्ट फिजिसियन र एक जना मेडिकल अधिकृत मात्रै आए। कन्सल्टेन्ट रेडियोलोजिस्ट एक जनाले अन्तर्वार्तामा माग लिए पनि नियुक्ति लिन आएनन्। ११ जना चिकित्सकको विज्ञापन गर्दा मुस्किलले दुई जनालाई नियुक्ति दिन सफल भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारीले बताए।

‘टीकापुरमा चिकित्सक आउनै मान्दैनन्। सरकारी सेवा सुविधा कम रहेको भन्दै डाक्टर आउन मान्दैनन्’, उनले भने, ‘एघार जनाको विज्ञापन खोल्दा बल्लतल्ल दुई जना चिकित्सक ल्याउन सकियो। चिकित्सक सरकारीभन्दा निजी अस्पतालमा काम गर्न रुचाउँछन्।’
यस्तो छ बिरामीको संख्या
टीकापुर अस्पतालमा तीन वर्षमा दुई लाख ४८ हजार ४१ जनाको उपचार भएको छ। आर्थिक वर्ष २०७७/७८ मा ४५ हजार ४७९ जनाको उपचार भएको टीकापुर अस्पतालमा आर्थिक वर्ष २०७८/७९ मा ६६ हजार ७३८ र आर्थिक वर्ष २०७९/८० मा एक लाख ३६ हजार ८२४ जनाले उपचार सेवा लिएका छन्।

आकस्मिक सेवा लिन टीकापुर अस्पतालमा आर्थिक वर्ष २०७७/७८ मा १६ हजार ५६९ बिरामी आएकामा आर्थिक वर्ष २०७८/७९ मा १८ हजार ६२७ र आर्थिक वर्ष २०७९/८० मा २८ हजार १३० जना बिरामी पुगेका छन्। टीकापुर अस्पतालमा सरकारी नीतिका कारण पनि चिकित्सक आउन समस्या भएको ठहर अस्पताल व्यवस्थापनको छ।
प्रादेशिक अस्पताल छात्रवृत्ति करारको भरमा चलाउने योजना
प्रदेश सरकारले प्रादेशिक अस्पताललाई महत्व दिने तर टीकपुर अस्पताललाई जिल्ला अस्पतालको हैसियतले हेर्ने गरेको गुनासो अस्पताल व्यवस्थापनको छ। हाल ११ जना विषेशज्ञ चिकित्सक रहेको टीकापुर अस्पताल ५१ शय्याको भए पनि ७८ शय्या सञ्चालनमा छन्। सो अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नति गरिनुपर्ने मागसँगै  ओएण्डएम हुनु जरुरी छ।

प्रदेश सरकारको व्यवहारका कारण उपचार सेवा दिन समस्या भएको टीकापुर अस्पतालमा चिकित्सक व्यवस्थापनका लागि सामाजिक विकास मन्त्रालयले सहजीकरण गर्ने बताएको छ। नयाँ चिकित्सक भर्ना गर्न खोज्दा दरखास्त नै नपरेको टीकापुर अस्पतालमा छात्रवृत्ति करारका चिकित्सक पठाएर उपचार सेवा सहज बनाउन सहयोग गर्ने सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले बताए।

‘मन्त्रालयले आवश्यक चिकित्सक नियुक्ति गर्न अस्पतालहरूलाई नै अधिकार दिएको छ। तर, विज्ञापन खोल्दा पनि दरखास्त पनि नपर्ने समस्या छ’, उनले भने चिकित्सक पठाउन मन्त्रालयसँग पनि जनशक्ति छैन। त्यसैले छात्रवृत्ति करारका चिकित्सक आउँदा टीकापुर अस्पताललाई प्राथमिकतामा राख्छौँ।’
चार जिल्लाका बिरामी पुग्छन् टीकापुर अस्पतालमा 
टीकापुर अस्पतालमा कैलालीको टीकापुर, लम्कीचुहा, घोडाघोडी र भजनी नगरपालिका, जानकी, जोशीपुर, बर्दगोरिया र मोहन्याल गाउँपालिका, बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिका तथा सुर्खेतको पञ्चचुली नगरपालिकाबाट बिरामी पुग्ने गरेका छन्। कैलाली, बर्दिया, सुर्खेत र डोटीका बिरामीको उपचार गर्न पुग्ने गरेको भए पनि चिकित्सक र शय्या अभावले उपचार सेवा प्रभावित हुने गरेको अस्पतालले जनाएको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस