सुदूर नेपाललाई विश्वसँग जोड्दै

देशका ७३ जिल्लामा फैलियो डेंगी, डोटी पनि उच्च संक्रमण हुने जिल्लाको सुचीमा

२०८१ साउन ७, ०९:५३ खबर संवाददाता

काठमाडौँः देशका ७३ जिल्लामा डेंगीको संक्रमण फैलिएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशका ७३ जिल्लाका १६ सय ५७ जनामा डेंगीको संक्रमण देखिएको छ। महाशाखाले सन् २०२४ को सुरुदेखि अर्थात् जनवरी १ देखि जुलाई १८ (पुस १६ देखि साउन ३ गते) सम्मको तथ्यांक सार्वजनिक गर्दै यो जानकारी दिएको हो।

मुस्ताङ, डोल्पा, हुम्ला र जुम्लामा भने हालसम्म डेंगी संक्रमण देखिएको छैन। यसअघि संक्रमण नदेखिएको मुगु जिल्लामा भने अघिल्लो महिनाबाट संक्रमण देखिएको छ। मुगुमा २ जना संक्रमित भएका छन्। प्रदेशगत रूपमा हेर्दा बागमती प्रदेशमा डेंगी संक्रमण उच्च देखिएको छ।

सबैभन्दा कम असर कर्णाली प्रदेशमा छ। बागमती प्रदेशका ५७० जना डेंगीको संक्रमणबाट प्रभावित भएका छन्। यो कुल संक्रमणको ३४.४ प्रतिशत हो। कोशीमा ३९६, गण्डकीमा २५६, लुम्बिनीमा १९६, सुदूरपश्चिममा १७५, मधेस प्रदेशमा ४१ र कर्णाली प्रदेशमा २३ जनामा डेंगीको संक्रमण भएको छ।

महाशाखाका अनुसार उच्च संक्रमण हुने १० जिल्लामा काठमाडौं, झापा, चितवन, मकवानपुर, ओखलढुंगा, तनहुँ, भोजपुर, डोटी, सिन्धुपाल्चोक र काभ्रेपलान्चोक रहेका छन्।
 

कमेन्ट लोड गर्नुस