सुदूर नेपाललाई विश्वसँग जोड्दै

बक्स अफिसमा ‘भष्मे डन’को उत्साहजनक ओपनिङ

२०८० कार्तिक ५, ०३:५७ खबर संवाददाता

काठमाडौँः  बिपिन कार्की स्टारर ‘भष्मे डन’ले दशैं बक्स अफिसमा उत्साहजनक ओपनिङ गरेको छ। शनिवार देशब्यापी रिलिज भएको फिल्मका शोज खचाखच छन्। शनिवारको उत्साहजनक ओपनिङपछि दोस्रो दिन आइतवार पनि फिल्म घरेलु बक्स अफिसको शीर्षस्थानमा छ। निर्माताले ‘बम्पर’ ओपनिङ भएको बताएका छन्।

सातवर्षअघि रिलिज भएको ‘पशुपति प्रसाद’को स्पिन–अफको रुपमा रिलिज भएको फिल्मले एड्भान्स टिकट बिक्रीमा पनि उत्साहजनक ट्रेन्डलाई आत्मसात गरेको थियो। शनिवार र आइतवार दुबै दिनको अकुपेन्सी उच्च देखिएको छ। क्यूएफएक्स, आइएनआइ, बिग, वान सिनेमाजसहित मोफसलका आउटलेटमा पनि फिल्मको दर्शकीय फुटफल उच्च रहेको निर्माताले जनाएका छन्। दशैंलाई फिल्मको ब्यवसायिक कोणबाट राम्रो अवसर मान्न सकिन्छ। त्यो ‘फेस्टिभ मुड’लाई भष्मे डनले आत्मसात गरेको मूल्यांकन गरिएको छ।

यदि ‘वर्ड अफ माउथ’को मद्दत मिलेमा फिल्मले घरेलु बक्स अफिसमा उत्साहजनक कमाइ गर्न सक्छ। निर्माताले ‘भष्मे डन’को पहिलो दिनको कमाइ २ करोड ४० लाख रुपैयाँ रहेको बताएका छन्। तर, चलचित्र विकास बोर्डले फिल्मको आधिकारिक कमाइ सार्वजनिक गरेको छैन। ‘भष्मे डन’ फिल्मको कास्ट एण्ड क्रिउ पनि हल–हलमा पुगेर दर्शकीय प्रतिक्रिया बुझिरहेका छन्। निर्माता खगेन्द्र लामिछाने, निर्देशक दीपेन्द्र के खनाल, कलाकारहरु स्वस्तिमा खड्का, बिपिन कार्की, सौगात मल्ल लगायत शनिवार दिउँसो हलमा पुगेर दर्शकसँगै फिल्म हेरेका थिए। बिहीवारदेखि अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिजले यो फिल्मलाई युएई, कतार, बहराइन र कुवेतमा रिलिज गर्दैछ।
 

कमेन्ट लोड गर्नुस