सुदूरका धार्मीक पर्यटकीय क्षेत्रमा बढ्दैछ लगानी, कुन मन्दिरमा कति लगानी?
धनगढीः सुदूरपश्चिम प्रदेशका प्रमुख धार्मीक पर्यटकीय क्षेत्रमा पछिल्लो समय लगानी बढ्दै गएको छ। संघ र प्रदेश सरकारबाट धार्मीक पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माणदेखि भ्यू टावरसम्ममा लगानी बढ्न थालेको हो।
सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गतको पर्यटन विकास शाखा मार्फत आर्थिक वर्ष २०७९/८० मा बेहडाबाबा धाममा २ करोड ९० लाख, उग्रतारा मन्दिर, खप्तड क्षेत्रमा मालिका मन्दिर व्यवस्थापनका लागि संघीय सरकारबाट १८ लाख र स्थानीय तहबाट ६ लाख, शैलेश्वरी मन्दिरमा ७० लाख र त्रिपुरा सुन्दरी मन्दिरमा पर्खाल निर्माणका लागि १ लाख बजेट विनियोजन भएको देखिएको छ।
उग्रतारा मन्दिरमा ५५ हजार तथा मालिकार्जुन मन्दिरमा १० लाख बजेट सो अवधिमा विनियोजन भएको हो। प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाई मार्फत आर्थिक वर्ष २०७८÷७९ मा धार्मिक सांस्कृतिक पर्यटन पूर्वाधार निर्माण तर्फ २ करोड ३५ लाख १२ हजार ७२ रुपैयाँ खर्चेर २५३ वटा आयोजनाहरु सम्पन्न भएको रेकर्ड छ।
धार्मिक सांस्कृतिक पर्यटन पूर्वाधार निर्माणबाहेक प्रदेश सरकारले भ्यू टावर निर्माण, पर्यटन पदमार्ग निर्माण, पार्क तथा पिकनिक स्पट निर्माण, अध्ययन अनुसन्धान र अन्य पूर्वाधार जस्तै धर्मशाला, अतिथिगृह, संग्रहालय, स्वागतद्धार निर्माणमा समेत ठूलो बजेट खर्च गरेको पाइएको छ। धार्मिक पर्यटन पूर्वाधार निर्माण संख्याका आधारमा चार आर्थिक वर्षको तथ्याङ्क हेर्दा सबैभन्दा बढी कैलाली जिल्लामा १३० र सबैभन्दा कम डडेलधुरामा १२ वटा निर्माण गरिएको छ।
त्यस्तै आर्थिक वर्ष २०७५/७६ मा सबैभन्दा बढी पूर्वाधार निर्माण भएको र त्यसपछिका आर्थिक वर्षहरुमा भने घट्दै गएको छ। आर्थिक वर्ष २०७८/७९ मा कैलाली र कञ्चनपुरमा मात्रै जम्मा ३० वटा पूर्वाधार निर्माण सम्बन्धी कार्य गरिएको छ। धार्मिक पर्यटन पूर्वाधार निर्माणमा जिल्लागत खर्च बिवरण हेर्दा वार्षिक रुपमा घट्दै गइरहेको छ।
आर्थिक वर्ष २०७६/७७ मा सबैभन्दा बढी ८ करोड ४८ लाख १६ हजार खर्च गरिएकोमा आर्थिक वर्ष २०७८/७९ मा २ करोड ३५ लाख १२ हजार मात्र खर्च भएको छ। चार आर्थिक वर्षमा जिल्लागत रुपमा सबैभन्दा बढी खर्च कैलालीमा ९ करोड १९ लाख ९० हजार तथा सबैभन्दा कम डडेलधुरामा ८२ लाख ८० हजार खर्च भएको छ।
आर्थिक वर्ष २०७५/७६ देखि २०७८/७९ सम्म धार्मिक पर्यटन प्रादेशिक खर्चको तथ्याङ्क हेर्दा कैलालीमा ३६ प्रतिशत, कञ्चनपुरमा १८ प्रतिशत, बैतडीमा ९ प्रतिशत, अछाममा ८ प्रतिशत, डोटी र बाजुरामा ६ प्रतिशत, बझाङ्ग र दार्चुलामा ६ प्रतिशत तथा डडेलधुरामा ३ प्रतिशत भएको छ। धार्मिक पर्यटन खर्च कैलाली र कञ्चनपुर मात्र केन्द्रित देखिएको छ।
आर्थिक वर्ष २०७५/७६ देखि २०७८/७९ सम्म जिल्लागत पर्यटन पदमार्ग निर्माणमा खर्च हेर्दा सबैभन्दा बढी कञ्चनपुरमा ३८ प्रतिशत र सबैभन्दा कम बझाङमा १ प्रतिशत मात्र रहेको छ। रकमका आधारमा कञ्चनपुरमा १ करोड १३ लाख ९३ हजार र बझाङामा ३ लाख ११ हजार मात्र पदमार्ग निर्माणमा खर्च गरिएको छ। डोटी, अछाम, बाजुरा र बझाङ्ग जिल्ला समेटिएको खप्तड पर्यटकीय क्षेत्रमा पदमार्ग निर्माणमा बढी रकम खर्च गर्नुपर्ने देखिएको छ।