सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामको कमलबजार विमानस्थलबाट उडान नियमित हुँदै

फोटो : सुशील भण्डारी
फोटो : सुशील भण्डारी
२०८२ जेठ ५, ०५:२४ खबर संवाददाता

अछाम : अछामको कमलबजार विमानस्थलबाट नियमित उडान हुन थालेको छ।

कमलबजार विमानस्थल निर्माण सुरु भएको ३२ वर्षपछि व्यावसायिक उडान सुरु भएको हो।

कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञप्रसाद ढकालले आइतवार चौथो पटक व्यावसायिक उडान भएको बताए। चौथो पटक व्यावसायिक उडानमा काठमाडौँदेखि १५ जना र कमलबजारदेखि १४ जनाले यात्रा गरेको नगर प्रमुख ढकालले बताएका छन्। गत हप्ता मौसम खराबीका कारण उडान नभए पनि अन्य हप्तामा नियमित उडान भएका हुन्। वैशाख ७ गतेबाट व्यावसायिक उडानको उद्घाटनसहित सुरु भएको थियो।

कमलबजारमा नागरिक उड्डयन प्राधिकरणको कार्यालय समेत स्थापना गरिने भएको छ। नगर प्रमुख ढकालले अहिले साँफेबगरबाट कर्मचारी खटाइने भए पनि निकट भविष्यमा कमलबजारमै कार्यालय स्थापना गरेर दुई जना कर्मचारी प्राधिकरणबाट खटाइने गरी पहल गरिरहेको बताए। नेपाल नागरिक उड्डयन प्राधिकरणको सुरुमा आफ्नै कार्यालय रहेका दुई भवन जुन यस अघि प्रहरीको कार्यालय रहको थियो। प्रहरीको कार्यालय आफ्नै नयाँ भवनमा सरे पछि त्यसको मर्मत सम्भार तथा व्यवस्थापन गरेर कार्यालय स्थापना गरिने भएको छ।

हाललाई हप्तामा एक दिन, आइतवार मात्र उडान हुने सम्झौता अनुसार व्यावसायिक उडान सुरु भएको कमलबजार नगरपालिकाका नगर प्रमुख ढकालले बताए। नियमित उडान हुँदा नागरिकलाई सहजता भएको छ।

 

कमेन्ट लोड गर्नुस