सुदूर नेपाललाई विश्वसँग जोड्दै

कांग्रेसलाई रचनात्मक प्रतिपक्ष बन्न सभामुखको आग्रह

। फोटो स्रोत ।
२०७६ वैशाख १५, ०४:४६

सभामुख कृष्णबहादुर महराले नेपाली कांग्रेसलाई रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्न आग्रह गरेका छन्। संसदको बजेट अधिवेशन सुरु हुने एक दिनअघि आइतबार पत्रकारसँग कुरा गर्दै सभामुख महराले रचनात्मक ढंगले सरकारको आलोचना गर्न अपिल गरे।

संसदमा प्रतिपक्षमाथि विभेदपूर्ण व्यवहार गरेको भनी सभामुख महराको आलोचना भइरहेका बेला उनले संसदलाई बहसको थलोको रुपमा लिन कांग्रेसलाई आग्रहसमेत गरे। ‘म कांग्रेसलाई रचनात्मक ढंगले सरकारको आलोचना गर्न अपिल गर्दछु’, उनले भने ‘संसदलाई बहसको थलोको रुपमा लिन आग्रह गर्छु।’

राष्ट्रिय जनता पार्टी नेपालले तराई मधेसमा भएको आन्दोलनमा भएको बल प्रयोगको विषयमा छानबिन गर्न गठित गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै संसद अवरुद्ध गर्दै आएको थियो। बजेट अधिवेशनमा राजपाले संसद अवरुद्ध नगर्ने आफ्नो अपेक्षा रहेको सभामुख महराले बताए। यस विषयमा राजपासँग कुराकानी भइरहेको पनि उनले बताए।

सरकारले वैशाख २० गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र यो पारित भएपछि वैशाख ३१ गतेसम्म प्रिबजेट छलफल हुने सभामुख महराले जानकारी दिए। साभार - अनलाइनखबर
 

कमेन्ट लोड गर्नुस