एन्फाको मुख्यालयमा लगाइएको ताला खोलियो
काठमाण्डौ: नेपाल फुटबल सङ्घ (एन्फा)को मुख्यालयमा लगाइएको ताला आज खोलिएको छ । नेपाल फुटलब खेलाडी सङ्घसँग एन्फाको तर्फबाट महासचिव किरण राईको टोलीले गरेको छलफलपछि तालाबन्दी खोलिएको हो ।
एन्फा कम्प्लेक्स परिसरमा भएको छलफलपछि दुवै पक्षबीच सहिद स्मारक ‘ए’ डिभिजन लिग यही चैत ३० गतेबाट शुरू गर्ने सहमति भएको छ । साथै खेलाडी अक्षय कोषमा जम्मा गर्नुपर्ने रकम सङ्घले जम्मा गर्ने प्रतिबद्धता जनाएको छ ।
खेलाडीहरूको सेवा–सुविधासम्बन्धी अघिल्लो कार्यसमितिबाट निर्णय भई भुक्तानी हुन बाँकी रहेको पुरस्कार रकम यही चैत महिनादेखि किस्ताबन्दीमा भुक्तानी गर्दै जाने सहमति पनि भएको छ ।
१ हजार दिनभन्दा बढी समयदेखि हुन नसकेको सहिद स्मारक लिग ‘ए’ डिभिजनको आयोजना निश्चितता, खेलाडी अक्षय कोषबारे जानकारी तथा खेलाडीले पाउन बाँकी पुरस्कार राशि लगायतका माग राख्दै खेलाडी संघले अस्ति आइतवार एन्फाको मुख्यालयमा तालाबन्दी गरेको थियो ।