चलचित्र ‘फर्की फर्की’मा सहायक अभिनेता–अभिनेत्रीको भूमिकामा समृद्धि र रवि
काठमाडौंः अभिनेता अनमोल केसीको शीर्ष भूमिका रहने फिल्म ‘फर्की फर्की’को छायांकन सुरु हुने तयारीमा छ। निर्माता रोहित अधिकारीले सुयोग गुरुङले निर्देशन गर्ने फिल्मको कामलाई अघि बढाएका छन्।
दशैंलगत्तै छायांकन सुरु हुने जनाइएको फिल्मको प्रमुख भूमिकामा अनमोल र जसिता गुरुङ देखिने खबर सार्वजनिक भइसकेको छ। अनमोल र जसिताले अनस्क्रिन कपलको भूमिकामा अभिनय गर्ने भनिए पनि यसबारे विस्तृत खुलाइएको छैन।
फिल्ममा थप दुईजना कलाकार अडिसनबाट छनोट भएको निर्माताले जनाएका छन्। फिल्मको सहायक अभिनेता–अभिनेत्रीको भूमिकामा समृद्धि अर्याल र रवि काफ्लेले काम गर्ने जनाइएको छ। समृद्धिले मुम्बईमा रहेर मोडलिङ गर्दै आएकी छन्। निर्माता अधिकारीले दुवै कलाकारको अभिनय उत्कृष्ट लागेपछि अडिसनबाट छनोट गरिएको बताए।