सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा एसईई आईडलको तेस्रो संस्करण  सुरू

२०८० असोज १२, ०९:२२ खबर संवाददाता

धनगढीः  प्रभात मिडिया एण्ड ईभेन्ट प्रा.लि.ले हरेक वर्ष आयोजना गर्दै आएको नृत्य र गायन विधाको सुदूरपश्चिम प्रदेश स्तरीय एसईई आईडलको तेस्रो संस्करण सुरू भएको छ। धनगढीको बोराडाँडीमा रहेको अक्सफोर्ड माध्यमिक विद्यालयमा औपचारिक कार्यक्रमकाबीच अडिसन सुरू भएको हो।

उद्घाटन कार्यक्रमका  प्रमुख अतिथि सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.टिएन जोशीले कला र संस्कृतिको प्रबर्द्धनका लागि यस्ता प्रकारका कार्यक्रम आवश्यक रहेको बताए। कार्यक्रममा सुदूरपश्चिम कला प्रतिष्ठानका अध्यक्ष अम्बिका आचार्य, सुदूरपश्चिम एकेडेमीका क्याम्पस प्रमुख योगराज उपाध्याय र कैलाली मोडेल स्कूलका प्राचार्य तपेन्द्र सिंह लगायतले मन्तव्य राखेका थिए।

कार्यक्रमको सभापतित्व प्रभात मिडियाका अध्यक्ष प्रकाशबहादुर छेडालले गरेका थिए भने कार्यक्रम संचालन एसईई आईडल सिजन तीन का संयोजक गुणाकर पनेरु र अनिता धामीले गरेका थिए। अक्सफोर्ड स्कुलमै भएको पहिलो अडिसनमा नृत्यमा ४ र गायनमा ३ गरि ७ जना प्रतिस्पर्धीले आफ्नो प्रतिभा प्रस्तुत गरेका छन्। शुक्रबार नै धनगढीको विशालनगरको कोविदा ईन्टरनेशनल स्कूलमा सम्पन्न दोस्रो अडिसनमा २ नृत्य र २ गायन गरि ४ प्रतिस्पर्धी सहभागी भएका थिए।

सुदूरपश्चिमका सबै जिल्लाका २५ बढी स्थानमा आयोजना गरिने अडिसनमा यस वर्ष एसईई दिने विद्यार्थीहरुले सहभागी हुन पाउनेछन्। नृत्य र गायन विधाका १–१ जना विजेता र १–१ जना उपविजेता बन्नेछन्। दुवै विधाका विजेता र उप विजेताले क्रमशः ५०–५० हजार र  २५–२५ हजार सहित कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति पाउनेछन्। 
 

कमेन्ट लोड गर्नुस