सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा जताजतै जुवाडे, खेल्ने र खेलाउनेको जेल सजाय बढाइयो

२०८० असोज २, १०:०७ खबर संवाददाता

धनगढीः गत साउन १६ गते धनगढी बसपार्कको कलेल होटलबाट १० जना जुवाडे पक्राउ परे। वडा प्रहरी कार्यालय धनगढीको टोलीले कलेल होटलका सञ्चालक तेजबहादुर कलेलसहितका १० जनालाई पक्राउ गरेको थियो। उनीहरु एक लाख चार हजार ८१० रुपैयाँ नगद र २ गड्डी ताससहित पक्राउ परेका थिए।

पक्राउ पर्नेमा डोटीको पूर्वीचौकी गाउँपालिका–५ का योगेन्द्र ठगुल्ला, खड्क साउँद, पुरन खड्का, देवबहादुर खड्का, धनसिंह विष्ट, अमित बोहरा, दिपायल–सिलगढी नगरपालिकाका–६ का अविनाश कठायत, सुमित खड्का र कैलालीको गोदावरी नगरपालिका–३ का कुबेर खड्का थिए। त्यस्तै २०८० बैशाखमा धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीका ३२ वर्षीय भुपेन्द्र चौधरीको कुखुरा फर्ममा जुवातास खेलिरहेको अवस्थामा चौधरी समेत गरी १२ जनालाई पक्राउ परेका थिए।

वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ४७ हजार २ सय रूपैयाँ र ५ थान ताससहित पक्राउ गरेको थियो। यी त केबल प्रतिनिधि उदाहरण मात्र हुन्। यसरी जुवातास खेल्ने र खेलाउने समुह धनगढीमा मात्र नभएर प्रदेशभित्रै सक्रिय रुपमा देखा पर्ने गरेको छ।

होटल, घर तथा संघसंस्थाभित्रै जुवातास खेल्ने र खेलाउने समुहलाई प्रहरीले बेलाखबत पक्राउ गर्ने गरे पनि नियन्त्रण भने हुन सकेको छैन्। सुदूरपश्चिममा आर्थिक वर्ष २०७७/७८ मा जुवा खेल्न वा सट्टाबाजीका ५५ उजुरी प्रहरीमा दर्ता भएको अभिलेख छ। यो संख्या आर्थिक वर्ष २०७८/७९ मा ३१ तथा आर्थिक वर्ष २०७९/८० मा ३२ रहेको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ।
खेल्ने र खेलाउने दुबै अपराध
जुवातास खेल्ने र खेलाउने कार्यलाई नेपालको कानुनले अपराधमा राखेको छ। नयाँ अपराध संहिता लागु हुनु अगाडि सजायको व्यवस्था निकै कम भएको र त्यसले जुवातास नियन्त्रण नहुने धेरैको मत थियो। जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई सय रुपैयाँ जरिबाना र दोस्रोपटकदेखि भने बढीमा नौ महिना कैदको व्यवस्था थियो।

तर २०७५ साल भदौदेखि लागु भएको मुलुकी अपराध संहितामा जुवा खेल्ने वा खेलाउनेलाई सजाय बढाइएको छ। उक्त संहिताको दफा १२५ मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिबानाको व्यवस्था छ। दोस्रो पटकमा एक वर्षसम्म कैद वा ५० हजारसम्म जरिबाना तोकिएको छ।

दोस्रो पटक सजाय भुक्तान गरेर पक्राउ परेमा हरेक पटक थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिबाना तिर्नु पर्ने व्यवस्था छ। जुवा खेल्न प्रयोग भएको साधन र जुवा खालमा प्राप्त सम्पुर्ण चलअचल सम्पत्ति जफत हुने कानुनी व्यवस्था छ। तर जुवा खेलेको घर वा कोठा वा ठाउँ वा सवारीसाधन भने जफत हुँदैन।

कमेन्ट लोड गर्नुस