सुदूर नेपाललाई विश्वसँग जोड्दै

गेटा मेडिकल कलेजको निर्माणमा महत्वपूर्ण भुमिका खेलेका पुजाराको सरुवा

२०७६ वैशाख १०, ०६:५६ नवराज पनेरु

सुदूरपश्चिम प्रदेशमा मेडिकल कलेज स्थापनाको छलफल सुरु भएको झण्डै १० बर्ष पुगिसकेको थियो। १० वर्षसम्म छलफल र बहस भएपनि सरकारले भने बजेट नै विनियोजन गरेन्। सरकारले विसं २०६६ सालमा गेटामा मेडिकल कलेज स्थापनाको घोषणा ग¥यो तरपनि मेडिकल कलेज निर्माणको प्रक्रिया भने अगाडी बढ्न सकेन्। शंकराचार्यले २०५६ मा जयन्त सरस्वती स्वर्ण महोत्सव ट्रस्ट स्थापना गरेकोमा त्यही वर्ष सरकारले गेटाको ७७ बिघा जमिन मेडिकल कलेज स्थापनाका लागि ट्रस्टका नाममा दिएको थियो तर उक्त जग्गा वन क्षेत्रमा थियो। त्यसपछि २०६९ सालतिर कलेजका लागि सरकारले ८० बिघा जग्गाको स्वामित्व हस्तान्तरण गरेपनि निर्माणको प्रक्रिया भने अगाडी बढ्न सकेन्। मेडिकल कलेजको भोगाधिकारका लागि उपलब्ध गराइएको ८४ बिघा जमिनको पहिचान तथा नक्सांकनको काम पनि भयो। गेटास्थित सहिद संघारी भीमदत्त पन्त सामुदायिक वन उपभोक्ता समूहले मेडिकल कलेज खोल्न आफ्नो वनक्षेत्र दिने सहमति भने जनाएको थियो। तर जिल्ला वन कार्यालय कैलाली मेडिकल कलेज निर्माणका लागि तगारो बन्यो। जिल्ला वन कार्यालयले रुख कटानीको आदेश नै लामो समय सम्म दिएको थिएन्। सोही समयमा दिनेश एफएमले गेटामै साझा मञ्च कार्यक्रम तयार पार्दा कार्यक्रम स्थलबाटै गएका स्थानीयले मेडिकल कलेज स्थापनामा वन तगारो बनेको भन्दै रुख नै काटिदिएका थिए। सो समयमा गेटा मेडिकल कलेज पुर्वाधार विकास समितिको कार्यकारी निर्देशक डाक्टर भीमसिंह टिंकरी थिए। लामो समयको विवाद र छलफलका बिच जग्गाको भोगाधिकार र प्रशासनीक भवन, सडक लगायतका संरचनाको निर्माणका लागि टेण्डर भने भएको थियो तर काम भने हुन सकेन्। 

सोही समयमा २०७२ साल असोज १६ गते मेडिकल कलेज पुर्वाधार विकास समितिमा कार्यकारी निर्देशक भएर आए, हेमराज पुजारा। उनी आउँदा सम्म मेडिकल कलेज निर्माणका लागि वातावरणीय प्रभाव मुल्याङकन समेत भएको थिएन् भने रुख कटानीको विवाद कायमै थियो। उनी आएको ४ महिना भित्रै वातावरणीय प्रभाव मुल्याङकन भएको थियो भने त्यस्को ४ महिनापछि रुख कटानी सुरु भएको थियो। त्यसपछि मेडिकल निर्माणका लागि ५ सय ५३ वटा रुखहरु काटिए। उनी आएकै बर्ष ६ वटा ठेक्का भए। अहिले चालु अवस्थामा ७ वटा ठेक्का छन्। कलेजका लागि दुई तलाको र तीन तलाको गरी दुई वटा छुट्टा छुट्टै भवन निर्माणाधीन रहेकोमा अधिकांश निर्माण कार्य पूरा भइसकेको छ। यस्तै पाँच तलाका दुई वटा छात्रावास भवनको काम पनि आधाभन्दा वढी सकिएको छ। चिकित्सकको आवास गृहको रुपमा आठ वटा भवन निर्माणको काम पनि तिव्र गतिमा भईरहेको छ। अन्य कर्मचारीको आवासका लागि पनि तीन वटा छुट्टै भवन निर्माणको काम भईरहेको छ। भौतिक संरचना निर्माणका लागि हालसम्म झण्डै ४ अर्बको ठेक्का भइसकेको छ। 

विभिन्न बाधाका विच अलपत्र परेको गेटा मेडिकल कलेजको विवाद समाधान गर्दै पुर्वाधार निर्माणको सुरुवात गर्दा महत्वपूर्ण भुमिका खेले पुजाराले। तर पुजाराको गेटा मेडिकल कलेज पुर्वाधार विकास समितिका कार्यकारी निर्देशकबाट सरुवा भएको छ। झण्डै साढे तीन बर्ष सम्म मेडिकल कलेजको कार्यकारी निर्देशकमा रहेका पुजाराको शिक्षा विभागमा सरुवा भएको हो। पुजाराको स्थानामा कैलालीमा जिल्ला शिक्षा अधिकारी भईसक्नुभएका भिमवहादुर साउँदलाई पठाईएको छ। पुजाराले मेडिकल कलेजको पुर्वाधार विकास अन्तिम चरणमा पुगिसकेको बताउँदै अव अस्पताल र पठनपाठन सुचारुका लागि प्रक्रिया अगाडी बढाउन आवश्यक रहेको बताए। उनले सुरुमा कुन प्रारुपमा कलेजलाई सञ्चालन गर्ने हो त्यस्को टुङगो लाग्नुपर्ने बताए। पुजाराको सरुवा भएपनि धेरै सुदूरपश्चिमवासीले मेडिकल कलेजको निर्माणमा महत्वपूर्ण भुमिका खेलेका उनलाई सम्झिरहनेछन्। 

 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस