सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली क्याम्पसमा तीनवटा संकायमा विद्यार्थी भर्नादर घट्दो

२०८० साउन ८, ०६:५५ नारायण अवस्थी

धनगढीः विश्वविद्यालय तहमा हरेक वर्ष विद्यार्थी भर्ना दर घट्न थालेको छ। सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक कलेज कैलाली बहुमुखी क्याम्पसमा हरेक वर्ष नयाँ भर्नाका लागि आउने विद्यार्थी घट्न थालेका हुन्। सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा गुणस्तरीय उच्च शिक्षा हासिल जनशक्ति उत्पादन गरी प्रदेशको आर्थिक बिकासमा उपयोग गर्न बिभिन्न विश्वविद्यालयबाट सम्बन्धन लिई संचालित उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थालाई प्रदेश विश्वश्वविद्यालयमा रुपान्तरण गर्न सम्भाव्यता अध्ययन गरिनेछ भन्ने उल्लेख गरिएको छ।

तर, प्रदेशकै सबैभन्दा ठूलो शैक्षिक संस्था कैलाली बहुमुखी क्याम्पसमै विद्यार्थी भर्ना ओरालो लागेको छ। रोजगारमुखी शिक्षा नहुनुका कारण स्नातक र स्नातकोत्तर तहमा विद्यार्थी भर्ना दर घटेको क्याम्पस प्रमुख प्राध्यापक तोयराज भट्टले बताए। ‘विविध कारण मध्ये सबभन्दा ठुलो कारण रोजगारमुखी शिक्षा नहुनु नै हो।

रोजगारी र स्वरोजगारी हुने भएकाले व्यावसायीक शिक्षामा अहिले विद्यार्थीहरूको आकर्षण बढेको छ,’ उनले भने, ‘चार वर्ष ६ वर्षसम्म पढेर रोजगारीको कुनै टुङ्गो नहुने भएकाले र विदेश जाने प्रवृत्ति बढेकाले पनि विद्यार्थी संख्या घट्न थालेको हो।’ २०३३ सालमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालनमा आएको कैलाली बहुमुखी क्याम्पस २०७७ माघबाट सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक भएको हो।त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा कैलाली बहुमुखी क्याम्पस हुदाँ २०७६ सालमा व्यवस्थापन संकायको स्नातक तहमा ९३२ जना भर्ना भएका थिए।

मानविकी र शिक्षा संकायमा क्रमशः ६३० र ४०५ जना विद्यार्थी भर्ना भएका थिए। कैलाली बहुमुखी क्याम्पसमा २०७७ मा व्यवस्थापन संकायमा  ७०४ जना भर्ना भएका थिए। मानविकी संकायमा ७४४ र शिक्षा संकायमा ३५७ जना भर्ना भएका थिए । तर, पछिल्ला वर्षमा भने विद्यार्थी भर्ना हुने क्रम ओरालो लागेको छ। २०७८ मा व्यवस्थापन संकायको स्नातक तहमा ५९४ जना विद्यार्थी मात्रै भर्ना भए। त्यसैगरी मानविकी संकायमा ७१३ जना भर्ना हुँदा शिक्षा संकायमा केवल २९९ जना विद्यार्थीले भर्ना भएका छन्।

कैलाली क्याम्पसमा २०७९ मा आएर नयाँ भर्ना हुने विद्यार्थीको संख्या भने आधाले घटेको छ। २०७९ मा स्नातक तहको व्यवस्थापन संकायमा ३६७, मानविकीमा  ३०८ र शिक्षा संकायमा जम्मा २९६ जना मात्रै भर्ना भएका छन्। सेमेस्टर प्रणाली लागु हुनु र पढेर पनि रोजगारीको सुनिश्चितता नहुँदा शिक्षा, मानविकी र व्यवस्थापन संकायमा भर्ना हुने विद्यार्थीको संख्या कम भएको प्राध्यापक भट्टको भनाइ छ। सेमेस्टर प्रणालीमा नियमित कलेज आउनुपर्ने जस्ता कारणले कैलाली बहुमुखी क्याम्पसमा स्नातक तह पढ्न जाने विद्यार्थीको संख्या घटेको प्राध्यापकहरूले बताएका छन्।

साधारण संकायमा विद्यार्थी संख्या कम देखिए पनि सुदूरपश्चिम विश्वविद्यालयले सुरु गरेका कानून संकाय, विज्ञान र प्राविधिक विषयमा प्रवेश परीक्षा दिन उल्लेख्य संख्यामा विद्यार्थी आउने गरेको क्याम्पस प्रमुख भट्टले बताए। केही वर्षदेखि पढ्ने भन्दा पनि कमाउने कुरामा विद्यार्थी केन्द्रीत हुँदा विश्वविद्यालय तहमा विद्यार्थी संख्या घट्न थालेको अनुमान गरिएको छ। यस्तै, विश्वविद्यालयको डिग्री बजारमा खपत हुने सम्भावना नदेख्दा कक्षा १२ पासपछि विद्यार्थीहरू अध्ययन तथा रोजगारीका लागि विदेश पलायन हुने क्रम बढेकाले पनि स्नातक र स्नातकोत्तर तहमा विद्यार्थी संख्या घटेको बताइएको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस