सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरिया–धनगढी ३३ केभीको म्याद वैशाखमै सकियो, काम अझै सकिएन

२०८० साउन ४, १०:३६ खबर संवाददाता

धनगढीः अत्तरियादेखि धनगढीसम्मको नयाँ ३३ केभी विद्युत प्रसारण  लाइन विस्तारको म्याद सकिएको चार महिनासम्म काम सकिएको छैन। अत्तरियादेखि धनगढीसम्म १३ किलोमिटरमा नयाँ ३३ केभी विद्युत लाइन विस्तारको म्याद वैशाख १५ गते सकिएको हो। नेपाल विद्युत प्राधिकरण, प्रादेशिक कार्यालय अत्तरियाका अनुसार काम सुस्त गतिमा हुँदैछ। 

विद्युतको प्रादेशिक कार्यालय, अत्तरिया प्रमुख जंगबहादुर चन्दले वैशाखमा म्याद सकिएको बताए। उनले निर्माण कम्पनीले दैनिक २८ जना प्राविधिक तथा कर्मचारी ३३ केभी विद्युत लाइन विस्तारका लागि खटाएको दाबी गर्दै आएको बताए। तर म्याद सकिएको झण्डै चार महिना हुँदा पनि आधा मात्र काम भएको भन्दै उनले असन्तुस्टी व्यक्त गरेका छन्। चन्दले भने, ‘म्याद वैशाखमा सकिएको हो। ठेक्का तोड्दा काम हुँदैन। पेनाल्टिमा काम गर्दैछ। ठेकेदारले काम सुस्त गर्दैछ। २८ जना लगाएको छु भन्दै थिए। तर कामले गति लिएको छैन।’

नेपाल विद्युत प्राधिकरणको प्रादेशिक कार्यालय अत्तरियाले ४ करोड ६१ लाख ९३ हजार लागतमा उक्त लाइन विस्तारको ठेक्का सम्झौता गरेको हो। विद्युत प्राधिकरण, प्रादेशिक कार्यालय अत्तरियासँग मौजुदा रहेका विद्युत सामाग्री दिनेगरी दुई करोड २२ लाख ८१ हजार रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो।

प्राधिकरणले दिएका विद्युतका पोल गाडेको निर्माण कम्पनीले उपकरण खरिदका लागि बजेट अभाव भएको भन्दै लामो समयसम्म काम अलपत्र समेत छोडेको थियो। नेपाल विद्युत प्राधिकरण, धनगढी वितरण केन्द्रका प्रमुख सूर्यनारायण मण्डलले विद्युत लाइन विस्तारको काम एक महिनामा पूरा हुने बताए। उनले श्रावण महिना भित्र काम सकिने दाबी गरेका हुन्।

नेपाल विद्युत प्राधिकरण र निर्माण कम्पनी बिच ६ महिनाभित्र विद्युत लाइन विस्तारको काम सक्ने गरी सम्झौता भएको थियो। तर सम्झौताको समय सकिएको चार महिना हुँदा पनि  ३३ केभी प्रसारण लाइन विस्तारको काम आधा मात्र सकिएको छ।

प्राधिकरणले गर्मी समयभन्दा अगाडि नै विद्युत लाइन विस्तारको काम सक्ने लक्ष्य लिएको थियो। तर, श्रावण सुरू भैसक्दा पनि आधा काम मात्र भएको छ। अत्तरिया–धनगढी विद्युत लाइन पुरानो तथा कम क्षमताको भएकाले तार चुँडिने समस्या छ।

नयाँ ३३ केभीको लाइन विस्तारको काम पूरा भए विद्युतको तार चुँडिने समस्या हल हुने दाबी गरिएको छ। तर, ३३ केभी लाइन विस्तारमा अझै एक महिना लाग्ने देखिएको छ। सडक किनारबाट टेलिस्कोपी पोलहरुमा तार विस्तारको काम हुँदैछ। ३३ केभीको नयाँ विद्युत लाइन विस्तारको काम जारी रहेकाले बिहान ७ देखि १२ बजेसम्म धनगढीमा विद्युत अवरुद्ध हुँदै आएको छ।

अत्तरिया–धनगढी ३३ केभीको काम ठप्प, ‘ठेकेदारसँग पैसा छैन’

अत्तरिया–धनगढी ३३ केभी विद्युत प्रसारण लाइन विस्तार सुरु
 

कमेन्ट लोड गर्नुस