सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरिया–धनगढी ३३ केभी विद्युत प्रसारण लाइन विस्तार सुरु

२०७९ पुष २, १२:३७ कमल सावद

धनगढीः अत्तरियादेखि नेपाल विद्युत प्राधिकरण, धनगढी वितरण केन्द्रसम्मको दुरी १३ किलोमिटर छ। १३ किलोमिटरमा नयाँ ३३ केभी प्रसारण लाइन विस्तार गर्न चार करोड ६१ लाख ९३ हजार लगानी अनुमान गरिएको छ। विद्युत प्राधिकरण, प्रादेशिक कार्यालय अत्तरियासँग मौजुदा रहेका विद्युत सामाग्री दिनेगरी दुई करोड २२ लाख ८१ हजार रुपैयाँमा ठेक्का सम्झौता गरिएको छ।

६ महिनाभित्र विद्युत लाइन विस्तारको काम सक्ने गरी सम्झौता भएको नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय, अत्तरियाका प्रमुख जंगबहादुर चन्दले बताए। ‘प्रादेशिक कार्यालयबाट धनगढी वितरण केन्द्रसम्म ३३ केभी प्रसारण लाइन विस्तार गर्दैछौ। काम सुरु भइसकेको छ। धनगढी क्षेत्रमा कुनै अवरोध नआएमा फागुन÷चैतसम्म विस्तारको काम पूरा हुन्छ। गर्मी सौसममा हुने विद्युत समस्या समाधानका लागि काम गर्दैछौ’, उनले भने। 

प्राधिकरणले गर्मी समयभन्दा अगाडि नै विद्युत लाइन विस्तारको काम सक्ने लक्ष्य लिएको छ। सोही अनुसार निर्माण कम्पनीले विस्तारको काम सुरु गरेको छ। अत्तरिया–धनगढी विद्युत लाइन पुरानो तथा कम क्षमताको भएकाले तार चुँडिने समस्या छ।  नयाँ ३३ केभीको लाइन विस्तारको काम पूरा भए विद्युतको तार चुँडिने समस्या समेत हल हुने धनगढी विद्यूत वितरण केन्द्रका प्रमुख सूर्यनारायण मण्डलले बताए। उनले भने, ‘धनगढीमा विद्युतको तार ट्रिप हुने समस्या छ।

गर्मीमा हुँदै आएको समस्या चिसोमा पनि भयो। अब नयाँ ३३ केभीको लाइन विस्तार हुँदैछ। ३३ केभीको काम पूरा भए, त्यो समस्या समाधान हुन्छ।’ अत्तरिया–धनगढी नयाँ ३३ केभी प्रसारण लाइनको काम फागुन–चैतभित्र पुरा हुने प्राधिकरणको दाबी छ। सडक किनारबाट टेलिस्कोपी पोलहरु गाड्ने काम सुरु भइसकेको छ। १३ मिटर लम्बाईका पोलहरु पहिलाका भन्दा बढी क्षमताका छन्। तारहरुको पनि क्षमता बढी रहेको दाबी प्राधिकरणको छ। 

विद्युत प्राधिकरण प्रादेशिक कार्यालय, अत्तरियाका प्रमुख चन्दका अनुसार तारको क्षमता अहिलेको तारभन्दा धेरै छ। विद्युतका पोलहरु पनि गुणस्तरीय छन्। पुराना विद्युत संरचनाका कारण विद्युत आपूर्तिमा समस्या हुने गरेको छ। धनगढीको विद्युत समस्या समाधानका लागि सव–स्टेशनसँगै नयाँ विद्युत लाइनसमेत आवश्यक छ। नयाँ विद्युत लाइन विस्तारको काम पूरा भए विद्युत समस्या समाधान हुने दाबी प्राधिकरणको छ।
 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस