अत्तरिया–धनगढी ३३ केभीको काम ठप्प, ‘ठेकेदारसँग पैसा छैन’
धनगढीः अत्तरियादेखि धनगढीसम्म १३ किलोमिटरमा नयाँ ३३ केभी विद्युत प्रसारण लाइन विस्तारको काम अलपत्र परेको छ। नेपाल विद्युत प्राधिकरणको प्रादेशिक कार्यालय अत्तरियाले ४ करोड ६१ लाख ९३ हजार लागतमा उक्त लाइन विस्तारको काम सुरु गरेको थियो। विद्युत प्राधिकरण, प्रादेशिक कार्यालय अत्तरियासँग मौजुदा रहेका विद्युत सामाग्री दिनेगरी दुई करोड २२ लाख ८१ हजार रुपैयाँमा ठेक्का सम्झौता गरिएको हो।
प्राधिकरणले दिएका विद्युतका पोल गाडेको निर्माण कम्पनीले काम अलपत्र पारेको हो। नेपाल विद्युत प्राधिकरण, धनगढी वितरण केन्द्रका प्रमुख सूर्यनारायण मण्डलले विद्युत लाइन विस्तारको काम रोकिएको बताए। उनले भने, ‘काम रोकिएको छ। पोल गाडिएका छन्। तर, तार तानिएका छैनन्। च्यानलहरु खरिद गरिएको छैन। च्यानलको अडर भएको छ। वैशाख भित्र काम होला भन्ने लागेको छ।’
नेपाल विद्युत प्राधिकरण र निर्माण कम्पनी बिच ६ महिनाभित्र विद्युत लाइन विस्तारको काम सक्ने गरी सम्झौता भएको हो। ३३ केभी प्रसारण लाइन विस्तारका लागि पोलहरु गाड्ने काम पूरा भएपनि अन्य काम बाँकी रहेको हो। एक महिना बढी समयदेखि विद्युत लाइन विस्तारको काम अलपत्र रहेको छ। नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय, अत्तरियाका प्रमुख जंगबहादुर चन्दले निर्माण कम्पनीले काम रोकेको बताए। उनले भने, ‘हामीले दिएको पोल गाडेको छ। च्यानलको अडर गरेको छ। तारहरु आएका छैनन्।’
प्राधिकरणले गर्मी समयभन्दा अगाडि नै विद्युत लाइन विस्तारको काम सक्ने लक्ष्य लिएको थियो। तर, गर्मीको समय सुरू भैसक्दा पनि आधा काम पनि भएको छैन। निर्माण कम्पनीले विद्युतीय सामग्री खरिदका लागि रकमको जोहो गर्न नसक्दा समस्या भएको बुझिएको छ। अत्तरिया–धनगढी विद्युत लाइन पुरानो तथा कम क्षमताको भएकाले तार चुँडिने समस्या छ।
नयाँ ३३ केभीको लाइन विस्तारको काम पूरा भए विद्युतको तार चुँडिने समस्या हल हुने दाबी गरिएको छ। तर, ३३ केभी लाइन विस्तारमा अझै समय लाग्ने देखिएको छ। विद्युत प्राधिकरणका प्रादेशिक कार्यालय प्रमुख चन्दले सामाग्री आएपछि जडानका लागि मात्र एक महिना लाग्ने बताए। उनले भने, ‘अत्तरिया–धनगढी लाइन विस्तारमा एक महिना लाग्छ। ठेकेदारका कारणले हो। उसँग बजेट छैन रहेछ। आर्थिक मन्दिका कारण समस्या भएको हो। हामी पनि सहयोग गर्दैछौँ। ८–१० गतेसम्म सामान आउँछ होला।’
अत्तरिया–धनगढी नयाँ ३३ केभी प्रसारण लाइनको काम फागुन–चैतभित्र पूरा हुने प्राधिकरणको दाबी थियो। वैशाख पहिला हप्ता जाँदा पनि विद्युतीय सामग्री खरिद गरिएको छैन। सडक किनारबाट टेलिस्कोपी पोलहरु मात्र गाडिएका छन्। ३३ केभीको नयाँ विद्युत लाइनसँगै धनगढीको विद्युत समस्या समाधानका लागि सव–स्टेसन निर्माणको प्रक्रिया पनि सुरु भएको छ।