सुदूर नेपाललाई विश्वसँग जोड्दै

यस्तो छ भौतिक पूर्वाधार विकास मन्त्रालयको तीन आर्थिक वर्षको लेखाजोखा

२०८० असार २९, ०७:२४ नारायण अवस्थी

धनगढीः आगामी आर्थिक वर्ष सहित तीन वर्षमा भौतिक पूर्वाधार विकास मन्त्रालयले १० हजार ९५५ योजनामा बजेट विनियोजन गरेको हो। मन्त्रालयले सडक पूर्वाधार ऊर्जा सिँचाइ तथा नदी नियन्त्रण, खानेपानी तथा सरसफाइका योजनामा बजेट विनियोजन गर्दै आएको छ। यस्तै, आवास, सहरी विकास तथा भवन निर्माण र यातायात व्यवस्थापन तर्फ बजेट विनियोजन गर्दै आएको छ।

सडक पूर्वाधारका योजना
आर्थिक वर्ष २०८/०७९ मा भौतिक पूर्वाधार विकास मन्त्रालयले सडक पूर्वाधारका १ हजार १६ योजनामा बजेट विनियोजन गरेको थियो। आर्थिक वर्ष २०७९/०८० मा १ हजार ७६ सडक पूर्वाधारका योजनामा बजेट विनियोजन गरेको मन्त्रालयले आगामी वर्षका लागि भने २६७ योजनामा मात्रै बजेट विनियोजन गरेको छ। जसमध्ये २४३ गत पुराना अर्थात् क्रमागत योजना हुन् भने ३४ मात्रै नयाँ योजना समावेश गरिएको छ। गत वर्षभन्दा आगामी वर्षको बजेटमा सडक पूर्वाधारका ८०९ योजना कम छन्।

सिँचाइ र जलस्रोत तर्फका योजना
प्रदेश सरकारले तयार गरेको कार्यक्रम पुस्तिका हेर्दा आर्थिक वर्ष  २०७८/०७९ मा जलस्रोत तथा सिँचाइका १ हजार ५७० योजनामा बजेट विनियोजन हुँदा आर्थिक वर्ष २०७९/०८० मा योजनाको संख्या बढाएर २ हजार ४४९ पुगाइएको छ। आगामी वर्षको बजेटमा सिंचाइका ५९० योजनामा बजेट विनियोजन गरेको पाइएको छ। जसमध्ये ४७३ पुरानै योजना हुन् भने ११६ योजना नयाँ समेटिएका हुन्। आगामी वर्षको बजेटमा जलस्रोत र सिँचाइका १ हजार ८५९ योजना कम छनोट गरिएको छ।

खानेपानी र सरसफाइ तर्फका योजना
आर्थिक वर्ष २०७८/०७९ खानेपानी तथा सरसफाइका ८३९ योजनामा बजेट हालेको भौतिक पूर्वाधा मन्त्रालयले चुनावी वर्षको बजेटमा १ हजार १४५ योजना समावेश गरेको पाइएको छ। आर्थिक वर्ष २०८०/०८१ को बजेटमा भने ९१९ वटा योजनामा मात्रै बजेट विनियोजन गरिएको छ। जसमध्ये ८६६ योजना अघिल्लो सरकारले ल्याएका हुन् भने नयाँ योजना केबल ६३ मात्रै रहेको कार्यक्रम पुस्तिकामा उल्लेखित विवरणमा देखिएको छ।

सहरी विकास र भवन निर्माणका नाममा सामुदायिक भवन निर्माण 
सहरी विकास तथा भवन निर्माणतर्फ आर्थिक वर्ष २०७८/०७९ मा ३१० योजनामा बजेट हालेको प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० मा योजना बढाएर ५५९ पुगाएको छ।

चुनावी बजेटमा सामुदायिक भवन र सहिद स्मृति भवन निर्माण गर्न हरेक जिल्ला र गत वर्ष सरकारमा रहेका मन्त्रीहरूको निर्वाचन क्षेत्रमा हरेक टोलमा सामुदायिक भवनको योजना र वडाहरूमा पुष्पलाल स्मृति भवन र सहिद स्मृति भवनको नाममा पार्टीका कार्यालय बनाउन रकम विनियोजन गरिएको पाइएको छ। गत वर्ष भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी तत्कालीन आर्थिक मामिला मन्त्री प्रकाश रावलको निर्वाचन क्षेत्रमा टोल र वस्ती नछुटाएर सामुदायिक र सहकारीका भवनमा बजेट छुट्याइएको छ।

तत्कालीन भौतिक पूर्वाधार विकास मन्त्री सोडारीले कैलालीमा १५९ वटा सामुदायिक भवन, जातीय त धार्मिक भवनमा बजेट विनियोजन गरेको देखिन्छ। जसमध्ये पुष्पला र सहिद स्मृति भवन भनेर हरेक पालिकामा पार्टीका कार्यालय बनाउन बजेट विनियोजन भएको छ।

गत वर्ष तात्कालिन आर्थिक मामिला मन्त्री प्रकाश रावलले सहरी विकास तथा भवन कार्यालयबाट कञ्चनपुर जिल्लामा ९५ वटा सामुदायिक भवन, सहकारी र विभिन्न धर्म र सम्प्रदायका भवन निर्माण गर्न बजेट हालेका छन्। यस्तै, डोटीमा २८ वटा, अछाम र बझाङमा समान २६/२६ वटा,  बाजुरामा १७ वटा, बैतडीमा १५ वटा,  र दार्चुला र डडेल्धुरामा समान १३/१३ सामुदायिक भवनमा बजेट हालिएको थियो।

तर, नयाँ बजेटमा भने १८४ योजनामा मात्रै रकम विनियोजन गरिएको छ। जसमध्ये १३१ वटा पुरानै योजना हुन् भने ६५ योजना नयाँ  रहेको मन्त्रालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ।

भौतिक पूर्वाधार मन्त्रालयमा कुन वर्ष कति योजना?
भौतिक पूर्वाधार तर्फ आर्थिक वर्ष २०७८/०७९ मा ३ हजार ७३५ योजनामा बजेट हालेको प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० मा चुनावलाई लक्षित गरेर योजनाको संख्या ५ हजार २२९ पुगाएको देखिन्छ। वर्तमान सरकारले भौतिक पूर्वाधार तर्फ आगामी आर्थिक वर्षका लागि केबल १ हजार ९९१ योजनामा मात्रै बजेट विनियोजन गरेको छ। सरकारको सामर्थ्य हेरेर कार्यान्वयन गर्न सकिने योजनामा मात्रै बजेट विनियोजन गरेको भौतिक पूर्वाधार विकास मन्त्रालयले दाबी गर्दै आएको छ।

आगामी आर्थिक वर्षमा योजनाको संख्या मात्रै नघटेर भौतिक पूर्वाधार मन्त्रालयको  बजेट पनि घटेको पाइएको छ। तीन वर्षको वार्षिक कार्यक्रम पुस्तिका र रातो किताब हेर्दा आगामी आर्थिक वर्षमा भौतिक पूर्वाधार मन्त्रालयको बजेट पनि घटेको छ।

यस्तो छ नयाँ बजेटमा मन्त्रालयले तय गरेको लक्ष्य 
आर्थिक वर्ष २०७८/०७९ मा सडक पूर्वाधारका लागि ५ अर्ब १६ करोड ५९ लाख बजेट विनियोजन गरिएकोमा आर्थिक वर्ष २०७९/०८० मा बजेट बढाएर ५ अर्ब ५७ करोड ७३ लाख र आगामी वर्षका लागि ५ अर्ब ६८ करोडमा २१८ किलोमीटर पक्की सडक, २८८ किलोमीटर ग्राभेल सडक र १० वटा सडक पुल निर्माण गर्ने लक्ष्य मन्त्रालयले राखेको छ।

आर्थिक वर्ष २०७८/०७९ मा २ अर्ब २४ करोड तथा आर्थिक वर्ष २०७९/०८० मा  ४ अर्ब ३० करोड बजेट विनियोजन गरिएकोमा आगामी आर्थिक वर्षमा ऊर्जा तथा नदी नियन्त्रण तर्फ २ अर्ब ८७ करोड बजेट विनियोजन गरिएको छ।मन्त्रालयले ३ हजार ८ सय हेक्टर जमिनमा सिँचाइ तथा २०७ हेक्टरमा जमिन उकास हुने गरि नदी नियन्त्रण गर्ने लक्ष्य राखेको छ।

आर्थिक वर्ष २०७८/०७९ मा खानेपानी तथा सरसफाइ तर्फ १ अर्ब २७ करोड, आर्थिक वर्ष २०७९/०८० मा १ अर्ब ६७ करोड बजेट विनियोजन गरिएकोमा नयाँ बजेटमा १ अर्ब ७७ करोडको लागतमा १ लाख १९ हजार थप जनसंख्यालाई शुद्ध खानेपानी सेवा प्रदान गर्ने लक्ष्य लिएको छ।

आर्थिक वर्ष २०७८/०७९ मा ५४ करोड र आर्थिक वर्ष २०७९/०८० मा १ अर्ब ५ करोड बजेट विनियोजन गरिएकोमा नयाँ बजेटमा ३९ करोडमा जनता आवास, सहरी विकास तथा सरकारी भवन निर्माण गर्ने लक्ष्य मन्त्रालयले लिएको जनाएको छ।
नयाँ बजेटमा भौतिक पूर्वाधार मन्त्रालयले यातायात व्यवस्था तर्फ ५ करोड बजेट विनियोजन गरेको छ।

आर्थिक वर्ष २०८०/८१ को बजेटमा यातायात व्यवस्था कार्यालयमा डिजिटलाइजेसन र विद्युतीय भुक्तानी लगायतका सेवा प्रदान गर्ने मन्त्रालयले जनाएको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस