अत्तरियामै किन राजधानी लैजान चाहन्छन लेखराज भट्ट ?
प्रदेश नम्बर ७ को स्थायी राजधानी अत्तरिया सार्न माओवादी केन्द्रका नेता लेखराज भट्टले कसरत तिब्र पारेका छन्। सबै जिल्लाका बासीन्दाहरुका लागि पायक पर्ने स्थान अत्तरिया भएको भन्दै उनले अत्तरियामा राजधानी बनाउन कसरत तिब्र पारेका हुन्।
उनले धनगढी, गोदावरी र गौरीगंगा नगरपालिकाका मेयर नथा नगर विकास समितिका अध्यक्षहरुलाई अत्तरिया स्थित आफ्नै निवासमा बोलाएर अत्तरिया क्षेत्रमा राजधानीका लागि जग्गाको खोजी गर्न आग्रह गरेको कुरा बाहिर आएको छ।
नेता भट्टले धनगढी उप–महानगरपालिका सहित गोदावरी र गौरीगंगा नगरपालिकाका नगरप्रमुखहरु र नगर विकास समितिका सबै अध्यक्षहरुलाई अत्तरिया स्थित आफ्नै निवासमा बोलाएर अत्तरियामा राजधानी स्थापना हुने भन्दै जग्गाको खोजी गर्न आग्रह गरेका हुन्। भट्टले नगरप्रमुखहरु र नगर विकास समितिका अध्यक्षहरुलाई अत्तरिया क्षेत्रको ४ ठाउको जग्गालाई राजधानीका लागि छनौट गर्न प्रस्ताव गरेका हुन। नेता भट्टको निवासमा भएको सो छलफलमा गौरीगंगा नगरपालिकाको नगर विकास समितिका अध्यक्ष सहित नगरप्रमुख भिमबहादूर देउवा, गोदावरी नगरपालिकाका नगर प्रमुख हरिसिंह साउद र नगर विकास समितिका अध्यक्ष पुष्पराज भट्ट सहभागी थिए। त्यस्तै धनगढीका नगर प्रमुख नृप ओड सो समयमा काठमाडौमा रहेकाले उहाँ सहभागी भएका थिएनन भने धनगढीबाट नगर विकास समितिका अध्यक्ष छत्र साही सहभागी भएका थिए।
छलफलमा नेता लेखराज भट्टले चौकीडाँडाको जंगल क्षेत्र, तेघरी व्यारेकको उत्तरपट्टीको जंगल, अत्तरिया भन्दा पुर्व जमुनाभाडी क्षेत्र र बिद्युत प्राधिकरणको सव स्टेशनको दक्षिण पट्टीको जग्गा मध्ये एक ठाउमा सहमती गर्न नगरप्रमुख र नगर विकास समितिका अध्यक्षहरुलाई आग्रह गर्नुभएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।
नेता भट्टले यस्तो आग्रह गरेपछि नगरप्रमुख र नगर विकास समितिका अध्यक्षहरुले आफ्नो धारणा राख्दै वन क्षेत्रको जग्गामा राजधानी बनाउने निर्णय हुदा भोली जंगल फडानी गर्ने बेला कानूनी जटिलता उत्पन्न हुने धारणा राखेको ति नेताले जानकारी दिए। तर पनि चार ओटा बिकल्प मध्ये गौरीगंगा नगरपालिकाका मेयर भिमबहादूर देउवाले जमुनाभाडी क्षेत्रको जग्गामा आफुहरुले सहमती जनाउन सक्ने प्रतिक्रिया दिएको श्रोतले जनाएको छ।
तर यता धनगढी नगर विकास समितिका अध्यक्ष छत्र शाहीले भने चार ओटै विकल्पहरु जंंगल क्षेत्रमा पर्ने भएकोले गेटा माछा पालन स्थित जग्गा सबैभन्दा उपयुक्त हुने प्रस्ताव गरेका थिए। उक्त प्रस्तावमा अत्तरियाका मेयर हरिसिंह साउदले पनि आंशिक सहमती जनाएकोे बताईएको छ।
तर शाहीले माछा पालनलाई गाँउ तिर सारेर गेटामा राजधानी स्थापना भए सबै किसिमले उपयुक्त हुने बताउदा नेता भट्टले त्यसलाई भारतिय सिमाबाट धेरै नजिक रहेको भन्दै नकारीदिएको बताईएको छ।
नेता भट्टले बैठकमा आफुले प्रस्ताव गरेका चार आटा बिकल्प मध्येकै एक ठाउमा सहमती खोज्न आग्रह गर्दै केहि समयभित्रै प्रदेश सभाबाट निर्णय हुने जानकारी गराएको बताईएको छ।