राजस्थानमाथि दिल्लीको रोमाञ्चक जित

इन्डियन प्रिमियर लिग (आईपीएल)मा ऋषभ पन्त र कप्तान श्रेयष ऐयरको अर्धशतकको मद्दतमा दिल्ली डेयरडेभिल्सले राजस्थान रोयल्समाथि चार रनको रोमाञ्चब जित दर्ता गरेको छ । भारी वर्षा भएपछि खेललाई १८ ओभरमा छोट्याइएको खेलमा टस हारेर व्याटिङ गरेको दिल्लीले ६ विकेट गुमाउँदै १९६ रन बनायो । दिल्लीका ऋषभ पन्तले ७ चौका र पाँच छक्काको मद्दतमा ६९ रनको योगदान गरे । उनी प्लेयर अफ दी म्याच भए । यसैगरी कप्तान श्रेयस ऐयरले ५० रन बनाए । पृथ्वी शाले ४७ र विजय शंकरले १७ रन योगदान गरे । बलिङतर्फ जयदेव उनादकदले सर्वाधिक तीन विकेट लिए ।
डकवर्थ लुईस नियमको आधारमा राजस्थानलाई १२ ओभरमा १५१ रनको लक्ष्य दिइयो । जवाफी व्याटिङमा उत्रिएको राजस्थान पाँच विकेटको क्षतिमा १४६ रनमा समेटियो । राजस्थान रोयल्स जस बटलरले ६७ रन बनाए । २६ बल सामना गरेका उनले चार चौका र सात छक्का प्रहार गरेका थिए । बलिङतर्फ ट्रेन्ट बोल्टले २ विकेट लिए ।




