‘नेपाल एडभेन्चर रनिङ महासङ्घ’को सुदूरपश्चिम प्रदेश अध्यक्षमा रावल

कैलाली: नेपाल एडभेन्चर रनिङ महासङ्घ सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा तपेन्द्र रावल चयन भएका छन्।
महासङ्घका केन्द्रीय अध्यक्ष एकेन्द्र कुँवरको उपस्थितिमा आइतवार धनगढीमा सम्पन्न भेलाले रावलको अध्यक्षतामा ११ सदस्यीय प्रदेश कमिटी गठन गरेको हो। कमिटीको उपाध्यक्षमा तखत कुँवर र शैलेन्द्रजङ्ग कुँवर, सचिव इन्द्रा केसी, लोकविक्रम सामन्त चयन हुनुभएको छभने सदस्यहरूमा जनक कडायत, तेजु रोकाया, मनोज रेग्मी, दिलबहादुर रोकाया र राजेन्द्र रावललगायत चयन भएका छन्।

समितिमा चयन भएका सम्पूर्णलाई बधाई दिँदै केन्द्रीय अध्यक्ष कुँवरले नेपाल एडभेन्चर रनिङ महासङ्घको मुख्य उद्देश्य नेपालको प्राकृतिक र पहाडी भूगोललाई उपयोग गर्दै ट्रेल रनिङ, अल्ट्रा रनिङ र स्काई रनिङजस्ता साहसिक दौड खेललाई व्यवस्थित, सुरक्षित र अन्तरराष्ट्रियस्तरमा लोकप्रिय बनाउँदै खेलाडी उत्पादन, तालिम, प्रतियोगिता आयोजना तथा पर्यटन प्रवद्र्धन गर्नु रहेको बताए। उनले आगामी आर्थिक वर्षमा सुदूरपश्चिमको खप्तड रामारोसन अन्तरराष्ट्रिय अल्ट्रा रनिङ प्रतियोगिता आयोजना गरिने तयारी गरिएको जानकारी दिए।


