सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा प्रथम फेन्सिङ्ग प्रतियोगिता हुँदै

२०८२ असार १०, ०७:५४ खबर संवाददाता

अत्तरिया: कैलालीमा प्रथम जिल्लास्तरिय खुला फेन्सिङ्ग प्रतियोगिता हुने भएको छ। 

‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ कैलाली जिल्ला फेन्सिङ्ग संघको आयोजनामा यही असार १४ गते प्रतियोगिता हुने भएको हो।

आयोजक कैलाली जिल्ला फेन्सिङ्ग संघले मङ्गलवार धनगढीमा पत्रकार सम्मेलमार्फत प्रथम जिल्ला स्तरीय फेन्सिङ्ग प्रतियोगिता हुने जानकारी दिएको छ।

 कैलाली जिल्ला फेन्सिङ्ग संघका अध्यक्ष जगतबहादुर शाहीले प्रतियोगित असार १४ गते धनगढीको खुला मञ्चमा खेलाइने बताए। उनले प्रथम, दृतीय र तृतीयलाई क्रमस १० हजार, ८ हजार र ५ हजार नगद पुरस्कार दिइने जानकारी दिए । उनले यो प्रतियोगितामा सरकारको प्राथमिकता दिन आवश्यक रहेको बताए। यस अघि धनगढीमा प्रदेश स्तरिय प्रतियोगिता सम्पन्न भईसकेको जानकारी दिदैँ उनले जिल्लास्तरिय पहिलो भएको उल्लेख गरे। धेरैलाई फेन्सिङ्ग खेलबारे थाहा नै छैन त्यसलाई चिनाउन पनि यो प्रतियोगिता आयोजना गरिएको अध्यक्ष शाहीको भनाई छ। ‘यो खेलको सम्भावनासंगै चुनौती पनि छ’ उनले भने, ‘यो खर्चिलो खेल हो। यसको ड्रेस अत्यन्त महगो पर्छ । यद्यपी ओलम्पिकसम्म जाने योभन्दा सजिलो अन्य खेल छैन।’ प्रतियोगितामा ४० जना जना भन्दा बढी खेलाडीहरुको सहभागिता रहने उनले जानकारी दिए।

पत्रकार सम्मेलनमा फेन्सिङ्गका कोच दिनेश पाण्डेले इपी र सेभर विधामा खेल खेलाइने बताए। यो खेलमा जोखिम कम रहेको उनको अनुभव रहेको छ। 

त्यस्तै कार्यक्रममा सुदूरपश्चिम स्तरीय फेन्सिङ्ग संघका अध्यक्ष त्रैलोक्य पाण्डेले फेन्सिङ्ग खेल खेलाडीलाई अन्तराष्ट्रिय खेल खेल्न सजिलै अवसर पाउन सक्ने बताए। अरु खेल डोजाङ्ग, जिल्ला, प्रदेश, राष्ट्रिय खेलेपछि अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिन पाइन्छ भने फेन्सिङ्ग खेल प्रदेश, राष्ट्रिय खेलेपछि अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी जनाउन सकिने उनले बताए। उनले यो अत्याधिक खर्चिलो भएको उल्लेख गरे।

२०७९ सालमा दुई दिने प्रथम मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ कप २०७९ को आयोजना गरिएको थियो। प्रतियोगितामा बागमतीका १२, सशस्त्र प्रहरीका १०, कोशी १७, गण्डकी १४ र सुदूरपश्चिमका १८ गरेर ७१ जना खेलाडीको सहभागिता रहेको थियो । फेन्सिङ्ग प्राचीन तरवारबाजी कला हो। 

चार हजार वर्ष पहिले इजिप्ट, चीन, ग्रीस र भारतमा तरवारबाजी लोकप्रिय थियो । प्रत्येक आधुनिक ओलम्पिकमा निरन्तर हुँदै आएको चार खेल मध्यको फेन्सिङ्ग पनि एक हो। फेन्सिङ्ग खेलमा धैर्यता, सुझबुझ र चातुर्यताको आवश्यकता रहन्छ । कैलालीमा वि.स. २०७८ सालबाट खेलाउन सुरु गरिएको फिन्सिङ्ग खेल नेपालमा भने सन् २०१५ मा प्रवेश भएको थियो।

कमेन्ट लोड गर्नुस