देउवा समूहको सभापतिमा एनपी साउदको चर्चा
धनगढीः नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहमा पार्टीको आगामी नेतृत्व कसले सम्हाल्ने भन्ने बहस सुरु भएको छ। समूहले समानान्तर रूपमा १५औँ महाधिवेशनअन्तर्गत जिल्ला र क्षेत्रीय अधिवेशन अघि बढाइरहेका बेला सभापति पदका सम्भावित उम्मेदवारका रूपमा विभिन्न नेताको नाम चर्चामा आउन थालेको छ। तीमध्ये नेता एनपी साउदको नाम पनि सभापतिको आकांक्षीका रूपमा चर्चामा छ।
देउवा समूहले पूर्वमहामन्त्री शशांक कोइरालालाई १५औँ महाधिवेशन आयोजक समितिको संयोजक बनाएर आफ्नो संगठनात्मक गतिविधि अघि बढाइरहेको छ। जिल्ला र क्षेत्रीय अधिवेशनमार्फत असन्तुष्ट नेता–कार्यकर्तालाई संगठित गर्ने र पार्टीभित्र आफ्नो शक्ति कायम राख्ने रणनीतिमा उक्त समूह देखिन्छ।
संस्थापन समूहले गत १८ देखि २३ असोजसम्म १५औँ महाधिवेशन सम्पन्न गरी गगन थापालाई सभापतिमा निर्वाचित गरिसकेको छ। तर पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकाले देउवा समूहले छुट्टै रूपमा महाधिवेशनको प्रक्रिया अघि बढाएको हो।
देउवा समूहमा अहिले नेतृत्वका लागि शशांक कोइराला, कृष्ण सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र एनपी साउदसहितका नेताहरूको नाम चर्चामा छ। समूहभित्र पुस्तान्तरणको बहस पनि उठिरहेको छ। लामो समय देउवाको निकट रहेर काम गरेका दोस्रो पुस्ताका नेताहरूलाई नेतृत्वमा अघि सार्नुपर्ने मतसमेत देखिन थालेको छ।
त्यही बहससँगै साउदको नाम सभापतिको सम्भावित उम्मेदवारका रूपमा जोडिएको हो। तर उनले भने व्यक्तिगत दाबीभन्दा सहमतिमा नेतृत्व चयन गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन्। देउवा समूहमा नेतृत्व चयनका लागि देउवाकै भूमिका महत्वपूर्ण हुने नेताहरूको भनाइ छ। देउवाले जसलाई नेतृत्वका लागि अघि सार्छन्, उसैलाई स्वीकार गर्ने अवस्था समूहभित्र छ।
समूहको जिल्ला तथा क्षेत्रीय अधिवेशन सम्पन्न भएपछि केन्द्रीय नेतृत्वका विषयमा छलफल हुने नेताहरूको भनाइ छ। यसअघि प्रकाशशरण महतले पनि देउवा समूहबाट सभापतिमा दाबी गर्ने बताएका थिए। देउवासँगको निकटता र देशभरका नेता–कार्यकर्तासँगको सम्बन्धका आधारमा आफ्नो दाबी रहने उनले बताएका थिए। अहिले भने उनले नेतृत्वका विषयमा छलफल भइरहेको र उपयुक्त समयमा आफ्नो धारणा सार्वजनिक गर्ने बताएका छन्।
देउवा समूहमा बीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिको राजनीतिक विरासत बोकेका नेताहरू पनि छन्। शशांक कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिसँगै कृष्ण सिटौला, रमेश लेखक, मोहनबहादुर बस्नेत र शंकर भण्डारीलगायतका नेताहरू समूहमा छन्। एकातिर कोइराला परिवारबाट नेतृत्व ल्याउने चर्चा छ भने अर्कोतिर दोस्रो पुस्ताका नेताहरूलाई जिम्मेवारी दिनुपर्ने आवाज पनि उठिरहेको छ। साउदको नाम यही पुस्तान्तरणको बहससँग जोडिएर चर्चामा आएको हो।