सुदूर नेपाललाई विश्वसँग जोड्दै

एक शिक्षकको बकपत्र

२०७५ मंसिर २३, ०१:०२

मैले विभिन्न निजि शिक्षण संस्थाहरुमा करिब चौध बर्ष शिक्षण गरे तर जब जब म आफुले पढाएका बिद्यार्थी,बिद्यालय र शिक्षण गरेर बिताएका ती दिनहरु सम्झन्छु, मेरो मन खिन्नताको तुवालोले ढाकिन्छ। मैले बिगत चौध बर्षको अवधिमा मन लगाएर पढाउन त पढाए तर मैले उक्त अवधिमा आत्मसन्तुष्टि कहिले प्राप्त गर्न सकेन।शिक्षण कार्य सबैले सजिलै र प्रभावकारी ढङ्गले सबै अवस्थामा गर्न सक्दैनन् भन्ने कुरा म आफ्नै शिक्षण अनुभवको मुल्यांकनबाट भन्न सक्दछु।

मैले २०६० सालबाट निजि स्कुलमा पढाउन सुरु गरेको हु।त्यतिबेला म प्लस टु उत्तीर्ण गरेर पहाडबाट तराई झरेको थिए उच्च शिक्षा हासिल गर्ने उत्कट इच्छा बोकेर। मैले आफ्नो पढाई भन्दा पढाउने कुरालाई महत्व दिनुपर्ने स्थिती निर्माण हुन गयो जसको कारकतत्व माओवादी बिद्रोह थियो। मासिक दुई हजार तलव पाउने गरि मैले निजि बिद्यालयमा शिक्षक हुने अवसर पाउनु पनि त्यतिबेला निकै महत्वपूर्ण उपलब्धि थियो। अङ्ग्रेजी माध्यमको निजि बिद्यालयमा जहाँ थोरै तलवमा पुरै सात पिरियड पढाउनु पर्ने नियम थियो त्यसलाई पनि मैले खुशीका साथ स्वीकार गरेको थिए।सुरुका केही हप्ता शिक्षक हुन पाउदाको जोसले निकै काम गर्‍यो।उत्साहका साथ कक्षामा पढाउन थालेको थिए तर बिस्तारै पहिलाको उत्साह मर्दै थियो कारण थियो शिक्षण विधि,सीप र कलाको अभाव अनि भोको पेट र कलेजको पढाईको पिर।त्यसैमा महिनाको एक सय रुपैयाँ माओवादीलाई चन्दाको रुपमा बुझाउनु पर्दा झन आँखामा त्यो सय रुपियाँको नोट फनफनी घुम्थ्यो।भोकले सताउदा समेत एक समोसा खाने पैसा नहुदा पानी खाएर चित्त बुझाउने गरिन्थ्यो।

शिक्षण पेशा अगाल्नु मेरो रहर थिएन।माओवादी द्वन्द्वका कारण पढाई खर्च जुटाउन मैले शिक्षक बन्नुपरेको थियो।त्यसैले पनि मेरो शिक्षक हुँदाको उत्साह केही हप्तामा नै मरेको थियो। शिक्षक र शिक्षणको दौरानमा मेरो स्नातक तहको पढाई चौपट भैसकेको थियो।फेल हुने अग्रिम डरको कारण मैले स्नातक पहिलो बर्षको परीक्षा फाराम नै भरेन।शिक्षण पेशा अगाल्नुलाई म आफ्नो निरन्तरको पढाइको बाधक सम्झन्थे।यो बुझाइले गर्दा पनि मैले आफ्नो पढाई र शिक्षणलाई सुरुका दिनमा सङ्गसङ्गै लैजान असफल साबित भए। घरदेखी टाढाको बसाइँ खाना पकाउने,लुगा कपाडा भाडाबर्तन आफै सफा गर्नुपर्ने, जुनकुरामा म त्यति अभ्यस्त भएको थिएन,गर्नु पर्दा मेरो दैनिकी नै अस्तव्यस्त हुन पुग्यो। कक्षाकोठामा जब बिद्यार्थीहरुलाई थाल्दथे भोको पेटले मलाई बोल्ने उर्जा नै प्रवाह गर्न सक्दैनथ्यो। मेरा बिद्यार्थीले कति बुझे कति बुझेनन् भनेर म आकलन गर्ने सामर्थ्य नै राख्न सक्दैनथे अनि यस्तो स्थितिमा बिचरा ती अवोध बालबालिका कसरी जीवन्त सिकाईको अनुभव र अनुभुति प्राप्त गर्दा हुन भनेर आजकल सम्झिदा आफ्नो त्यो दयनीय मास्टरी देखेर लज्जित हुन पुग्छु।

कलेजको बिद्यार्थी,स्कुलको टाइबाला मास्टर,सहरी परिवेशमा,जीवनले अलिकती रङ्ग भर्न नपाउदै मास्टरीको बोझ र कलेजको पढाईको पिरलोले मेरो अठार बर्षे कोमल गालामा नमस्ते मुद्रा झल्किन थालिसकेको थियो।घरबाट पैसा आउने कुनै अवस्था नै थिएन।सन्चो बिसन्चोको खवर पाउन समेत महिनौं कुर्नु पर्दथ्यो। उन्नाइस सय रुपैयाँमा एक महिना गुजार्नु बाध्यता थियो। नास्ता खाने,कपडा किन्ने जस्ता रहर बन्दकी राखेर रमाउन सक्नु बाध्यता थियो। एकसरो खाना बिहान पाँच बजे खाएर कलेज गयो चार पिरियड पढेर कलेजबाट नै स्कुल जानुपर्दा पहोलो पिरियडमै पेट खाली भैसकेको हुन्थ्यो, सात पिरियड कटाउन पानीले साथ दिने गर्दथ्यो। भोको पेटले के को नबिनतम सिकाई गर्न प्रेरित गर्थ्यो र भोकको झोकमा कुनै दिन बिचरा विद्यार्थीले कुटाइ खान पुग्थे।यसो फर्केर ती नमिठा पल सम्झिदा अचेल आफैलाई लज्जाबोध हुनजान्छ। मैले सुरुका दिनहरुमा शिक्षक भएर पढाउदा पढाउन जानेकै रहेनछु।बिना कुनै योजना कक्षामा प्रवेश गर्नु,किताबमा भएको कुरा पढेर सुनाउनु, अलिकती अर्थ बुझायो,अभ्यास गरायो, कापी जाच गर्‍यो,पिरियड सिध्यायो फेरि अर्को कक्षामा त्यसै गर्‍यो।यो किसिमले पढाउदा कसरी विद्यार्थीले जीवन्त सिकाइ अनुभव गर्दा हुन भनेर मलाई अहिले आएर ग्लानी हुन्छ।

समयक्रम सङ्गै म अलिकती अनुभवी शिक्षक हुँदै गए तर मेरो व्यक्तिगत अनुभव अनि बुझाइ त्यसपछी पनि कक्षाकोठामा,शिक्षण सिकाइमा प्रयोग गर्ने अवसर कहिल्यै प्राप्त भएन। निजि विद्यालयको शिक्षकले आफ्नो ज्ञान,सीप अनि ब्यक्तिगत अनुभव र बुझाइको आधारमा कक्षामा शिक्षण सिकाइ गर्न पाउदैन।शिक्षकले मौलिक र सृजनात्मक शिक्षण कला र सीप प्रयोग गर्नुको सट्टा संचालकहरुको परंरागत शैली र बुझाइलाई नै पछ्याउनु पर्ने बाध्यता हुन्छ। जसको कारण शिक्षकले प्रभावकारी शिक्षणद्वारा बिद्यार्थीमा सिर्जनात्मक सीप र ज्ञान प्रवर्द्धन गर्न सक्दैन भन्ने मेरो बुझाइ रहेको छ। बिद्यार्थीमा प्रभावकारी सिकाइ भन्दा पनि छ महिना,आठ महिनामा बर्षभरिको पाठ्यक्रम सिध्याउनु पर्ने बाध्यता शिक्षक र बिद्यार्थी माथी थोपरिदा अर्थपुर्ण सिकाइबाट विद्यार्थी सदैव बन्चित हुने स्थिती निर्माण गरिन्छ। हाम्रा बिद्यालयहरुमा बिद्यार्थीले के सिक्यो,कति सिक्यो,कसरी सिक्यो अनि सिकाइ दिगो र प्रभावकारी छ कि छैन भन्ने कुराको लेखाजोखा कहिल्यै गरिदैन।विद्यार्थीलाई रेसकोर्सको घोडा झै बढी अङ्क प्राप्त गर्ने कुरा मात्रै सिकाइनुले उसमा दीर्घकालीन र जीवनोपयोगी सिकाइ हुन सक्दैन।परीक्षामा राम्रो नतिजा लाउने तर ब्यवहारिक र ब्यवसायिक जीवनमा उल्लेखनीय प्रगती हासिल गर्न नसक्नुको पछाडि पनि हाम्रो बिद्यालय शिक्षाको कमजोरीले काम गरेको हुनुपर्छ।

सामुदायिक बिद्यालयका शिक्षकहरु शिक्षण सिकाइ प्रभावकारी बनाउन उपयुक्त शिक्षण विधि र प्रक्रिया अपनाउन स्वतन्त्र हुन्छ्न तर उहाँहरु अल्छी,उदासीनता र राजनीतिक झोला र झण्डाले सिथिल र थला परे झै प्रतीत हुन्छ्न।शिक्षण सिकाइलाई सामुदायिक शिक्षकले पनि प्रभावकारी बनाउन सकेका छैनन्।उचित तलव भत्ता,समय समयमा तालिम र पेशागत ग्यारेन्टी हुँदा समेत सरकारी बिद्यालयका शिक्षकहरुले वास्तविक शिक्षक बन्न नसक्नु दु:खको कुरा हो। प्रयाप्त शैक्षिक पुर्वाधार हुदाहुदै पनि त्यसको सदुपयोग नहुनु समग्र शिक्षा नीति र नियमकै उपहास हो। मेरा शिक्षण यात्राका सुरुका केही वर्ष आर्थिक हिसावले कहालीलाग्दो थिए भने अन्तिमका केही बर्ष आर्थिक हिसावले मजबुत हुदाहुदै पनि बिद्यार्थीलाई सिर्जनात्मक र सिकाइमा मौलिक हिसावले क्रियाशील बनाउने मामलामा मैले उल्लेखनीय सफलता हासिल गर्न सकेन भन्ने मेरो बुझाइ रहेको छ। प्रयाप्त तालिम अनि अध्ययन र अनुसन्धान बिनाको शिक्षण पुर्ण नै हुँदैन। तसर्थ निजि बिद्यालयले पनि शिक्षकहरुको पेशागत ग्यारेन्टी र समय समयमा तालिमको अवसर प्रदान गरेर सिकाइलाई प्रभावकारी बनाउनु अपरिहार्य छ।बिना कुनै दबाब शिक्षकले आफ्नो बिषयमा आधुनिक र मौलिक शैक्षिक बिधिहरुको प्रयोग गर्न स्वतन्त्रता प्रदान गर्नु पर्ने देखिन्छ।बिद्यालयहरुले शिक्षकहरुलाई कुनै निश्चित समयसीमा भित्र पाठ्यक्रम सिध्याउनु पर्ने बाध्यता थोपर्नु हुँदैन। बर्षभरी पढाउन तयार गरिएको पाठ्यपुस्तक छ महिनामा नै सिध्याउन लगाउनु हुँदैन। पाठ्यक्रमका उद्देश्य हासिल गर्न शिक्षकलाई उसको बिषयमा पढाउने तरिका र विधि छनौटमा पुर्ण स्वतन्त्रता दिनुपर्ने हुन्छ। शिक्षकले पनि आफ्नो बिषयमा गहन अध्ययन अनुसन्धान गर्ने जागर आर्जन गर्नुपर्ने हुन्छ।शिक्षकको पेशागत ग्यारेन्टी र समय सापेक्ष तलवभत्ता दिनुका साथै अति पढाई गर्नुपर्ने बाध्यतालाई हटाउनुपर्ने देखिन्छ। सात पिरियडको पढाई बिद्यार्थीको लागि प्रयाप्त हुन्छ।स्कुल भन्दा पछाडि र अगाडिको समयमा हुने अतिरिक्त पढाई बास्तबिक पढाई नभएर अतिरिक्त बोझ हो भन्ने कुरा बुझेर शिक्षक र विद्यालयले हटाउनुपर्ने देखिन्छ। उपयुक्त सिकाइका लागि बिद्यार्थीले प्रयाप्त अतिरिक्त समय पाउनुपर्ने हुन्छ।बिद्यार्थीको अतिरिक्त समय खोस्ने कार्य कसैले पनि गर्नु भनेको विद्यार्थीको सिर्जनशील बयवहारलाई कुल्चिनु जस्तै हो।

मैले शिक्षण पेशा छोडेको धेरै समय भएको छैन तर शिक्षण सिकाइका बारेमा यो अवधीमा आवश्यक ज्ञान र अनुभवको सश्लेषण र विश्लेषण गर्न प्रयाप्त समय पाएको छु। मैले पढाएका विद्यार्थी डाक्टर,इन्जिनियर,नर्स,व्यापारी,सरकारी र निजि क्षेत्रको विभिन्न पदहरुमा कार्यरत छ्न।केही विद्यार्थी स्वदेश र विदेशमा उच्च अध्ययन गरिराखेका छ्न।जब म तिनीहरुलाई सम्झिन्छु आफुले एक कुसल र प्रभावकरी शिक्षकले जस्तै शिक्षण गर्न सकेको थिएन भन्ने कुराले मेरो मनलाई सदैव चिमोटी रहन्छ।

कमेन्ट लोड गर्नुस