सुदूर नेपाललाई विश्वसँग जोड्दै

अक्षय तृतीयाको महत्त्व 

२०८१ वैशाख २८, ०६:१९

सीताराम अवस्थीः अक्षय तृतीयाको दिनलाई हाम्रा शास्त्रले पवित्र दिन मानेको छ। भगवान् परशुरामको पुण्य जन्म तिथि, शिव पार्वती विवाह महोत्सव पनि यसै दिनमा पर्दछ। यश दिनमा गरेको तीर्थ दर्शन, स्नान, दान जप तप, हवन, देव पितृ तर्पण जस्ता शुभ कर्मको फल अनन्त अथवा अक्षय,नास नहुने हुन्छ।

त्रेता युगको प्रारम्भ भएको यस पुण्य तिथिमा भगवान् नर नारायण, परशुराम र हयग्रीवको पनि अवतार भएको कुरा पुराणमा वर्णन गरिएको छ। अक्षय तृतीया ठूलो, पवित्र र स्वयं सिद्ध मुहर्त सुख सौभाग्य प्रदान गर्ने दिन मानिन्छ। यस दिनमा गङ्गा, यमुना, सरस्वती, नारायणी, कोशी, गण्डकी जस्ता नदी तलाउमा स्नान गरी  व्रत बसेर गहुँ, चना अनाज, दुध, दही, फलफूल, मिठाइँ, सातु, सर्वत, जलपूर्ण घडा, छाता, जुत्ता पङ्खा, भाडा वर्तन, वस्त्र दान गरेमा त्यसको अक्षय फल प्राप्त हुन्छ।

महिलाहरूले गौरी अम्बिकाको पूजा गरी सर्वतको घडा, चना, सातु, फल, मिष्ठान दान गरेमा सुख सौभाग्यको वृद्धि हुने कुरा हाम्रा शास्त्रले बताएका छन्। अक्षय तृतीयाको दिन पवित्र तीर्थ बद्रीनाथ केदारनाथ  दर्शनका लागि मन्दिरको ढोका खुल्दछ। यसैदिन शिव–पार्वती विवाह महोत्सव पनि मनाइन्छ। बैतडी जिल्लाको जगन्नाथ धाममा यसैदिन अक्षय मेला लाग्दछ।

अक्षय तृतीयाको दिन कुनै प्रकारको सम्पत्ति कमाउनु र संचय गर्नु उत्तम मानिन्छ। अक्षय तृतीयाको दिनमा दिएको दानको फल क्षय नहुने हुन्छ। त्यसमा पनि स्नान दानका लागि बैशाख महिना उत्तम मानिएको छ। बैशाखे शुक्ल पक्षेतु तृतीया रोहिणी युता। दुर्लभा बुधबारेण सोमेनापि युतातथा।। बैशाखे शुक्ल पक्षेतु तृतीयायां तथैवच। गङ्गा तोये नर स्नात्वा मुच्यते सर्व किल्बिषैः।।

अर्थात् बैशाख महिनाको शुक्ल पक्ष तृतीया तिथिको दिनमा रोहिणी नक्षत्र, बुधवार वा सोमवार समेतको संयोग परेमा अति उत्तम योग मानिन्छ। यस दिनमा गङ्गा स्नान गर्दा सबै पाप नास हुन्छन् भनिएको छ। यस वर्ष २०८१ साल बैशाख २८ गते अक्षय तृतीयाको दिनमा बार बाहेक रोहिणी नक्षत्र र तृतीया तिथि संयोग परेको छ। त्यसैले यस वर्षको अक्षय तृतीया अझ उत्तम मानिएको छ। अक्षय तृतीयाको दिन हामी सनातन धर्मावलम्बीले शक्तिअनुसारको स्नान दान, जप, तप जस्ता पुण्यकर्म गर्ने र यसको महत्त्वका बारेमा सबैलाई जानकारी गराउने एवं हाम्रा सन्ततिलाई यस कार्यमा संलग्न गराउनु हामी सबैको प्रमुख कर्तव्य हो।
 

कमेन्ट लोड गर्नुस