बुढीपोल्ली: एक समिक्षा
सुभाष सङ्कल्प भण्डारी, धनगढी: खेम बताससंग धेरै लामो परिचय त होइन मेरो। चार पाँच वर्ष भयो होला चिन्न थालेको। उनलाई एउटा शसक्त कविको रुपमा मात्र चिनेको थिए। उनको कविता वाचन गर्ने शैली र कला अद्भुत लाग्छ मलाई। उस्तै सुरिलो आवाज।
डोटेली र थारु संस्कृतिलाई राम्ररी बुझेको खेम बतास गद्य कविताको सुदूरपश्चिमको नामूद कवि हो। उसो त गजल पनि उत्तिकै दमदार र ओजपुर्ण हुन्छ बतासका। नाम जस्तै उसका कामहरु पनि बतास लाग्छन मलाइ। कहिले बतास मायाप्रेममा चल्छ, कहिले बतास सामाजिक अन्याय र अत्याचारमा। कहिले बतासले निर्मम प्रहार गर्छ जातीय विभेद र लैङ्गिक असमानतालाई। कहिले बतास चल्छ सामाजिक बिसङ्गति, राजनैतिक बेइमानी र भ्रस्टाचारका बिरुद्धमा।
बतासको कलमबाट क्रान्तिका कविताहरु जन्मिन्छन, विभेदका बिरुद्दका कबिता कोरिन्छन। कहिले शोषण र दमनका गजल फुर्छन त कहिले माया पिरतिका। कहिले डोटेली मौलिक संस्कृति पाटाहरु उप्किन्छ्न त कहिले थारु समुदायका लबजहरु मिश्रित सृजनाहरु। बहुआयामिक बिधामा कलम चलाउन सक्ने डोटी, जोरायल गाउँपलिका, ठुलढुङ्गा मातृभूमि भएका युवा प्रतिभा खेम बतासले “ बुढीपोल्ली “ कथा सङ्ग्रह मार्फत आफुलाई एउटा अब्बल दर्जाको कथाकारको रुपमा उभ्याएको मैले महसुस गरेको छु।
उनले आफ्नो कथा सङ्ग्रहको नाम सार्वजनिक गरेको करिब छ महिना पश्चात् “ बुढीपोल्ली “ प्रकाशित भएर पाठकको हातमा परेक छन्। उनले आफ्नो फेसबुक पेज मार्फत नाम सार्वजनिक गरे लगत्तै म उनलाई पछ्याइरहन्थे। “बुढीपोल्ली“ प्रकाशनको प्रतीक्षा केही समय लम्बियो, सायद प्राबिधिक रुपमा केही तयारी अपुग थियो होला। उनले नाम सार्वजनिक गरे संगै “बुढीपोल्ली“ ले मेरो मन तानिसकेको थियो।
एक त “बुढीपोल्ली“ विशुद्ध डोटेली लोक संस्कृतिसंग सम्बन्धित नाम थियो। डोटेली लोक संस्कृतिको एउटा छुट्टै मौलिक पर्वको रुपमा सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा असोज एक गतेका दिन मनाइने “बुढीपोल्ली“ पर्व संग मेल खाएका कारण पनि मैले बतासको “बुढिपोल्ली“ को प्रतीक्षा गरिरहेको थिए। अर्काे उनको लेखन शैली र कथा बुन्ने कलाको केही सङ्केत पाएकै कारण पनि उनका कथाहरु पढ्न आँतुर थिए।
ठ्याक्कै छ महिनाको पर्खाइ पश्चात् “बुढीपोल्ली“ हातमा पर्यो। बाहिरी कभर पृष्ठमा आँखा जाने नै भयो। वर्तमान प्रबिधिको प्रयोगमा “बुढीपोल्ली“ पर्वको छनक दिने गरि पुतना दहनको तस्बिर राखिएको छ। यसले कथालाइ झन् रहस्यमय बनाउँछ। नामलाई न्याय दिएको जस्तो लाग्छ। अझ यसमा कृतिम तस्बिर नराखेर “बुढीपोल्ली“ पर्वको वास्तविक तस्बिर राख्न सकेको भए झन मौलिक देखिन्थ्यो। सायद मौलिक तस्बिर पाउन मुस्किल भयो वा कन्जुस्याइँ गर्नुभयो?
जसरी बतासले आफ्नो कथा सङ्ग्रहको नाम “बुढीपोल्ली“ राखेर डोटेली लोकसंस्कृतिलाई ठूलो गुन लगाएका छन्, त्यसरी नै कथा भित्रका कथाहरुले डोटेली लोकसंस्कृतिका बिबिध पाटाहरुलाई उप्काएको छन, समेटेका छन। नयाँ युवा पुस्ताले यसरी लोप भैरहेको आफ्नो मौलिक लोकपरम्परालाई टिपेर कथा लेख्नु सकारात्मक कुरा हो। एउटा नयाँ प्रयोग र साहस पनि हो खेमको। “बुढीपोल्ली“ कथा सङ्ग्रह भित्र बार ओटा कथाहरु समेटिएका छन। जसमध्य क्रमको आधारमा दशौँ क्रममा रहेको कथा “ बुढीपोल्ली“ हो।
प्रत्येक कथाहरु दमदार छन्। रहस्यमय छन्। कथा भित्रपनि स–साना कथाहरु बुनिएका छन। पढ्न बसेपछी उठ्न मन लाग्दैनन्। रोचक छन्। यथार्थ छन्। समसामयिक सामाजिक मुद्दाहरु बोकेका जिवन्त छन्। केही कथाहरु धेरै पहिले रचिएका जस्ता लागेपनि सन्दर्भ सदाबहार लाग्छन्। “बुढीपोल्ली“ भित्र समावेश सम्पूर्ण कथाहरु डोटेली समाजकै उपजहरु लाग्छन्। कथाहरु काल्पनिक थोरै, यथार्थ बढी लाग्छन्।
प्रायजसो कथाहरु कैलाली जिल्लाको गोदावरी नगरपालिका अन्तर्गतका लालपुर ओलानी क्षेत्रको परिवेश बनाएर रचिए पनि पात्रहरुका नामहरु डोटेली समाजका परम्परागत नामहरु नै हुन् । जसले गर्दा पाठकहरुलाई झन बढी आत्मिक लाग्न सक्छन कथाहरु। कथा भित्रका कथाहरु पनि डोटेली लोक संस्कृतिका तमाम आयामहरुलाई छोएर अघि बढ्छन्। जातीय बिभेदका कथा, लैङ्गिक असमानका कथा, कुरीति र बेथितिका कथाहरु सुन्दर ढ्ङ्गले बुनिएका छन्। बिषयवस्तुमा बिबिधता छ। समाजको यथार्थतालाई चित्रण गरिएको छ।
जातीय भेदभावका दृश्य र संबादहरु जस्ताको तस्तै उतारिएका छन कथाहरुमा । धेरै जसो कथाहरुमा दलित समुदायले भोगेका जातीय विभेद र अन्यायका यथार्थ कथाहरु उतारेका छन्। जुन सन्दर्भहरु अहिले काल्पनिक जस्तो लाग्छन् । डोटेली संबादहरुको अधिकतम प्रयोग गरिएको छ। गाउँघरमा प्रयोगमा आउने डोटेली उखान टुक्कालाई टिपेर ठीक ठीक ठाउँमा राखेका छन्। यो कला तारिफयोग्य छ।
डोटी जिल्लाको जोरायल गाउँपालिकाबाट बसाइँसरी कैलालीको लालपुर र ओलानी क्षेत्रमा बसोबास गरिरहेका बासिन्दाको लबज प्रयोग गरिएका छन धेरै कथाहरुमा। पात्रहरुका संबादलाई न्याय गरेका छन । संबादहरु पढ्दा पाठकले आफुलाई कुनै डोटेली गाउँमा पाँउछ। डोटेली ग्रामीण परिबेशको झल्को दिन्छन। डोटेली भाषाको प्रयोग गर्दा तेति धेरै आत्मबिश्वासी देखिदैनन् कथाकार। आफ्नो मातृभाषा डोटेली भएर होला डोटेली भाषालाई उच्च स्थान दिएका त छन्। तरपनि डोटेली भाषाको प्रयोगमा तेती सफल भएको मैले देखिनँ।
प्रयास अधिकतम गरेका छन , तर मेरो नजरमा चित्त बुझ्दो पाएन। संवादको उद्घाटन त राम्रो छ तर पुछारमा पुग्दा अल्मलिए जस्तो लाग्छ। तरपनि डोटेली लोक संस्कृतिका बिबिध पाटाहरुलाई समेट्दै भाषा, चालचलन, स्वभाव, लबज, चाडपर्व इत्यादीलाई उच्च स्थान दिएका छन। जसले गर्दा गैरडोटेलीलाई पनि डोटेली भाषा, संस्कृति, चालचलनको ज्ञान हुने देखिन्छ। नेपाली भाषा संसंगै डोटेली भाषा पनि कथामा बगेको छ। पाठकहरुले फरक स्वाद पाउनेछन डोटेली भाषा र संस्कृतिको।
नयाँ पुस्ताले पनि लोप हुन लागेको आफ्नो मातृभाषाको प्रयोगको सन्दर्भ बुझ्नेछन। भाषा अध्ययन गर्ने विद्यार्थीहरु र भाषाबैज्ञानिकलाई डोटेली भाषाको अध्ययन गर्नलाई एउटा महत्वपूर्ण दस्ताबेज बन्न सक्छ बुढीपोल्ली। कथाका बिषयबस्तुमा बिबिधता छ। क्रान्तिका कथा छन्। छापामारका कथा छन्। द्वन्द र शान्तिका कथा छन्। राजनीतिक बिचलन र अस्थिरताका कथा छन्। माओबादीले सुरु गरेको आन्दोलनका सकारात्मक र नकारात्मक पाटाहरु केलाइएका छन्। बदनाम गल्ली भित्रका बदनाम कथाहरु कोरिएका छन्। कयैन सिनहरु रोमान्टिक पनि छन्।
पढ्न बस्दा समय बितेको पत्तै हुदैन्। कुनै कुनै कथाहरु पढ्दै जादा म आफू पनि आफ्नो बाल्यकालीन स्मृतिमा फर्किन पुग्छु। बालसखालाई सम्झिन पुग्छु। आफ्नै मातृभूमि डोटी,गडसेरामा पाँउछु। बैदेशिक रोजगारीले निम्त्याएका समस्याहरु छन् बुढीपिल्ली भित्र। गरिबी र बेरोजगारीका पहाडहरु छन यहाँ। संघर्ष र मिहिनेतका मिठा कथाहरु छन “ बुढीपोल्ली “ भित्र। नोकिया एक्स वान मोबाइलका कथा देखि बर्तमान हटस्पट सम्मका कथा छन यहाँ।
लैङ्गिक असमानताका बिरुद्द उभिएका क्रान्तिकारी नारीका कथा छन्। भ्रष्टाचार र बेथितिका बिरुद्द बोल्न आँट गर्ने नारीका सफलताका कथा छन्। घुसखोरी र भ्रष्टाचार गरेर सजाय पाइन्छ भन्ने नैतिक शिक्षा सिकाउने कथा पनि यसै बुढीपोल्ली भित्र पढ्न पाइन्छ। मजदुर र किसानका पीडाहरु देख्न पाइन्छ। जमिन्दार र ठूलाठालुका शोषण र दमनका कथाहरु पढ्न सकिन्छ । माया प्रेमका सुन्दर उदाहरणिय कथाहरु यहीँ छन्। त्यसकारण बार ओटा कथाका बार ओटा भन्दा बर्ता बिषयबस्तु छन्।
बुढीपोल्लीको सबभन्दा मनपरेको बिषय भनेको पहाडी जिल्लाहरुबाट बसाइँ सरेर तराईका विभिन्न गाउँमा बसोबास गरिरहेका गाउँलेहरुले आफ्नो मौलिक चालचलन, काज्वार र लोकपरम्परालाई निरन्तरता दिने जुन प्रण गरेका छन, प्रयास गरेका छन त्यो तारिफयोग्य छ। कथाकार खेम बतासले यो महत्त्वपूर्ण मुद्दाको उठान गरेका छन्। खासगरी बसाइँसराइ संगै हाम्रा मौलिक लोकसंस्कृतिको लोप भैरहेको अवस्थामा बुढीपोल्ली मार्फत नयाँ पुस्तालाई आफ्नो भाषा, साहित्य,कला, सस्कृतिलाई जोगाउन प्रेरणा दिन खोजेका छन्।
अग्रज पुस्तालाई पनि आफू संगै आफ्नो पहिचान मर्न नदिन आग्रह गरेका छन् । हाम्रो मौलिक लोकसंस्कृति परम्परागत चाडपर्व, रीतिरिवाज जगेर्ना गर्ने जिम्मेवारी हामी सबैको हो भन्ने सन्देश पनि कथाकारले आफ्ना कथाहरु मार्फत प्रस्तुत गरेका छन्। बसाइँसराइसंगै हाम्रा मौलिक पहिचानहरुलाई आयातित संस्कृतिले बिस्थापित गरिरहेको परिपेक्षमा बुढीपोल्लीले त्यसलाई निरुत्साहित गरेको छ। भौगोलिक रुपमा जहाँ बसाइँ सरे पनि आफ्नो भाषा, सस्कृति, कला नछोड्न अपिल गरेको महसुस हुन्छ।
“बुढीपोल्ली“ कथामा प्रस्तुर “ओल्के“ कथामा भने कथाकार एकोरिएका छन। “ओल्के“ पर्वको महिमालाई एकतर्फी प्रस्तुत गरेको अनुभूति हुन्छ। यसको समाजशास्त्रीय ढङ्गले बिस्तृत अध्ययन गर्न चुक्नु त भएन कतै? ओल्के पर्वका विविध आयामहरु छुटेका छन। समग्रमा “बुढीपोल्ली“ जातीय विभेद, लैङ्गिक असमानता, परम्परागत कुरीति, राजनैतिक बेइमानी, भ्रष्टाचार जस्ता सामाजिक समस्याहरुको उठान र त्यसले सृजना गरेको परिणामलाई पस्किएको सामाजिक कथा हो। डोटेली भाषा र लोकसंस्कृतिको समिश्रण गरी उनिएको माला हो –बुढीपोल्ली।
समाजमा ब्याप्त रहेको जातीय विभेद, लैङ्गिक असमानताको सचित्र दर्पण हो – बुढीपोल्ली। र त्यस्ता उड्पिडन, असमानता, अन्याय अत्याचारका बिरुद्द आवाज उठाउने मात्र होइन बिद्रोह गर्नुपर्छ भन्ने आँट र साहस प्रदान गर्ने औषधिय गुण भएको बुटि पनि हो–बुढीपोल्ली। आवाजबिहिनहरुको आवाज र कलमबिहिनहरुको कलम पनि हो– बुढीपोल्ली। काल्पनिक कथाहरु बुनिएको कल्पनाचित्र मात्र होइन बुढीपोल्ली समाजको यथार्थ चित्रण गरेको यथार्थ परिघटनाको सिलसिलापनि हो– बुढीपोल्ली।
बुढीपोल्ली हाम्रो संस्कृति हो। हाम्रो समाजको वास्तविक ऐना हो। हाम्रो इतिहास हो र बर्तमान पनि। डोटेली समाजको जरा हो ,हाँगा हो र फल पनि। यी र यस्तै तमाम पक्षहरुलाई सुन्दर तरिकाले पस्किदै तयार भएको सुन्दर कृति हो–बुढीपोल्ली। यस्त यस्तै कृतिहरु पुनः पुनः पढ्न पाइयोस, शुभकामना खेम बतासलाई।