धनगढी–१८ फूलबारीमा १०७ परिवारको जग्गामा अर्कैले दाबी गरेपछि...
धनगढीः कैलालीको फूलबारीमा एक सय ७ परिवारको जग्गा अर्कैले दाबी गरेपछि स्थानीय त्रसित भएका छन्। धनगढी उपमहानगरपालिका–१८ मा एक सय ७ परिवारको जग्गामा अर्कैले दाबी गरेपछि स्थानीय त्रसित बन्न पुगेका हुन्।
काठमाडौंका दुई स्थानीयले वडा नम्बर १८ को विभिन्न स्थानमा रहेको जग्गा आफ्नो भएको भन्दै दाबी गरेका छन्। काठमाडौं महानगरपालिका–३३ का प्रद्युम्न पाण्डेय र कल्याणराज पाण्डेयको वारिसले २ सय ४२ बिघा जग्गा आफ्नो भएको भन्दै भूमि सुधार तथा मालपोत कार्यालयमा निवेदन नै दिएका छन्।
धनगढी उपमहानगरपालिका वडा नम्बर १८ मा २ सय ४२ बिघा २ कट्ठा १९ दशमलव ५ धुर जग्गा गुरू पुरोहित जनकराज पाण्डेयले राणा शासनको समय १९९३ सालमा लालमोहरबाट प्राप्त गरेको र २०२१ सालको नापनक्सा हुँदा छुट हुन गएको भन्दै अहिले आएर छुट जग्गा दर्ता गर्न मालपोत कार्यालय धनगढीमा निवेदन परेको हो।
काठमाडौं महानगरपालिका–३३ का प्रद्युम्न पाण्डेयको वारिस धनगढी–५ का पदमबहादुर चन्द र कल्याणराज पाण्डेयको वारिस दिलिप सापकोटाले छुट हुन गएको जग्गा दर्ता गर्न निवेदन दिएका हुन्। तर निवेदन दिएको जग्गामा भने २०३६ सालदेखि बसोवास रहेको छ। २०३६ सालमा आवास कम्पनी र त्यसपछि विभिन्न समयमा गठन भएका सुकुम्वासी आयोगले अहिले बसोवास गरिरहेका एक सय ७ परिवारलाई लालपुर्जा दिएको वडाअध्यक्ष भुवन रिजालले बताए।
अहिले वर्षौदेखि लालपुर्जासहित हकभोक गरिरहेको जग्गामा दाबी गरिएपछि स्थानीयमा त्रास बढेको अध्यक्ष रिजालले बताएका छन्। ‘यहाँ बसिरहेका मान्छेहरूले २०३६ सालमा बस्ती विकास कम्पनीबाट लालपुर्जा पाएका छन्। त्यसैगरी, विभिन्न समयमा गठन भएका सुकुम्बासी आयोगले समेत लालपुर्जा वितरण गरेकम छन्,’ उनले भने, ‘अहिले काठमाडौंका मान्छेले दाबी गरेको जग्गामा वर्षौदेखि मानिसहरूको बसोवास रहेको छ।’
प्रद्युम्न पाण्डेयको वारिस पदमबहादुर चन्द र कल्याणराज पाण्डेयको वारिस दिलिप सापकोटाले छुट जग्गा दर्ता अन्तर्गत निवेदकका नाउँमा जग्गा दर्ता गरी पाउँ भन्दै मालपोत कार्यालयमा निवेदन पेस गरेका छन्। मालपोत कार्यालयले पनि प्लट रजिष्टर, फिल्डबुक, स्थानीय तहको सिफारिस समेत संलग्न राखेर निवेदकको माग अनुसारका कित्ता जग्गाहरू दर्ता गरी दिँदा आफूसँग भएको प्रमाणसहित ३५ दिनभित्र हकदाबी गर्न बैशाख ७ गते सार्वजनिक सूचना गरेको छ।
एक सय ७ परिवारले लालपुर्जासहित भोगचलन गर्दै आएको जग्गा एकाएक ८८ वर्षपछि अर्कैले दाबी गरेपछि अहिले धनगढी उपमहानगरपालिका वडा नम्बर १८ का स्थानीय सशंकित बनेका छन्। वडा कार्यालयबाट गुरू पुरोहित जनकराज पाण्डेयकै जग्गा हो भन्ने सिफारिस पूर्व अध्यक्षले गरेकाले सोही आधारमा मुद्दा लडेर जग्गामा दाबी गरिएको वडाअध्यक्ष रिजालको दाबी छ।
‘वडा नम्बर १८ मा यो जग्गा गुरू पुरोहित जनकराज पाण्डेयको हो भनेर वडा कार्यालययले सिफारिस गरेकाले समस्या भयो,’ उनले भने, ’तत्कालिन वडा अध्यक्ष मुरारी अधिकारीले दिएको सिफारिसका आधारमा अदालतबाट मुद्दा जितेर अहिले जग्गा दर्ताका लागि निवेदन दर्ता भएको हो।’ आफूहरुको नाममा लालपुर्जा भएको जमिनमा अहिले आएर अर्कैले दाबी गरेपछि त्रासको वातावरण सिर्जना भएको स्थानीयको गुनासो छ।
पूर्व वडाअध्यक्ष मुरारी अधिकारीले आफूले सिफारिस गर्दा कुनै गल्ति नभएको दाबी गरेका छन्। अधिकारीले मालपोत कार्यलयबाट बैशाख पहिलो साता सूचना सार्वजनिक हुँदा वडा कार्यालयले त्यसको जानकारी स्थानीयलाई समयमै नदिएको तर्क गरेका छन्।
विभिन्न समयमा नापी भएर लालपुर्जा पाइसकेको अवस्थामा अहिले अर्कै व्यक्ति आएर जग्गा दाबी गर्न नमिल्ने वडाअध्यक्ष रिजालको तर्क छ।
सबै प्रमाण संकलन गरेर मालपोत कार्यालयमा पेस गरेपछि हाल उक्त मुद्दा तामेलीमा रहेको वडाअध्यक्ष रिजालले बताए। मालपोत कार्यालय धनगढीका प्रमुख मालपोत अधिकृत प्रेमबहादुर दौल्यालले निवेदन आएको भए पनि कारबाही अगाडि नबढेको बताए। धनगढी उपमहानगरपालिका–१८ का स्थानीय ८८ वर्षपछि जग्गामा अर्कैले हक दाबी गरेपछि चिन्तित बनेका छन्।