सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा पहिलो पटक वर्गाीकृत फोहर बिक्री गर्ने काम सुरु

२०८१ वैशाख २६, १०:२८ कमल सावद

धनगढीः कैलालीको धनगढीमा पहिलो पटक वर्गाीकृत फोहर बिक्री गर्ने काम सुरु भएको छ।

धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको सूक्ष्म वर्गाीकरण केन्द्रबाट तयार भएको फोहर बिक्री गर्ने काम सुरु भएको हो। उपमहानगरपालिकाले करिब १५ लाख मुल्यको वर्गाीकरण गरिएको फोहर बिक्री गर्न लागेको छ। उपमहानगरपालिकाले फोहर बिक्री गर्न मूल्य सूचि नै तयार पारेर ठेक्का सम्झौता समेत गरिसकेको छ।

उपमहानगरपालिकाले सञ्चालन गरेको केन्द्रका प्राविधिकसहितका कर्मचारीको तलब खर्चको रकम वर्गीकृत फोहर बिक्रीबाट सङ्कलन गर्ने योजना छ। उपमहानगरपालिकाले तयार पारेको वर्गाीकृत फोहरको न्यूनतम दररेट तयार पारेर ठेक्काका लागि सूचना सार्वजनिक गरेको थियो। उपमहानगरपालिकाको बोलपत्रमा बढी दर पेस गर्ने सोनुराज ट्रेड एण्ड सप्लायर्सले ठेक्का पाएको छ।

कम्पनीले आइतवारदेखि वर्गाीकृत फोहर ढुवानी सुरु गरेको उपमहानगरपालिकाका सरसफाइ व्यवस्थापन शाखाप्रमुख अशोक अवस्थीले बताए।उपमहानगरपालिकाले भुरा कागजको १० रुपैयाँ, कपिको १३ दशमलव ५०, किताबको १३ दशमलव ५०, एलडी/एचएमको ३५, पिपिको २०, पेट बोतलको ४० रुपैयाँ, गुडिया २२ रुपैयाँ, कचराको पाँच दशमलव ५०, पिभिसिको पाँच दशमलव ५०, कट्टाको पाँच दशमलव ५०, रसिहरुको पाँच दशमलव ५० र बोतल प्लास्टिकको दुई दशमलव ५० रुपैयाँ प्रति किलोग्रामको दरले बिक्री गरिदैछ।

यस्तै, टीनको ४५, फलामको ४८, आल्मुनियमको दुई सय २०, तामाको नौ सय ५०, पित्तलको ६ सय ५०, बियरका बोतलको २ दशमलव ५०, सेतो बोतलको पाँच, रुस्लान, खुकुरी लगायत बोतलको १० रुपैयाँ, काठ र दाउराको ६ रुपैयाँ तथा तारको २० रुपैयाँ प्रति किलोग्राममा बिक्री थालिएको हो। टायरको १३, ट्युवको २२ रुपैयाँ प्रति किलोग्राममा बिक्री सुरु गरिएको छ।

धनगढी उपमहानगरपालिका–२ मा एक बिघा जग्गा वार्षिक ८८ हजार आठ सय ८८ रुपैयाँमा भाडामा लिइएको छ। उपमहानगरपालिकाले १९ लाखमा उपकरण तथा संरचना निर्माण गरेको छ। ७ लाखको घेरबारसमेत गरिएको छ। उपकरणका लागि आवश्यक विद्युत् जडान गरेर दुई जना प्राविधिकसहित १२ जनाले सूक्ष्म वर्गाीकरण केन्द्र सञ्चालनमा ल्याएका छन्।

उनीहरुको तलब सुविधाका लागि बिक्री गरिएको वर्गाीकृत फोहरबाट रकम सङ्कलन हुने दाबी छ। सरसफाइ व्यवस्थापन शाखाप्रमुख अवस्थीले कर्मचारीको तलब, विद्युत महसुल, इन्धन लगायत खर्चका लागि वर्गीकृत फोहर बिक्रीको रकमले खर्च धान्ने बताए। धनगढी उपमहानगरपालिकाले केन्द्र सञ्चालनको एक वर्षमा कम्तीमा १५ लाखको वर्गाीकृत फोहर बिक्री थालेको छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस