सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको कृषि विकास सहकारीले भैँसी वितरण गर्ने

२०८१ जेठ ६, ०६:०० खबर संवाददाता

धनगढी : कैलालीको धनगढीमा रहेको कृषि विकास सहकारीले किसानलाई भैँसी वितरण गर्ने भएको छ। धनगढी उपमहानगरपालिका–९ गौरीपुरमा रहेको सहकारी संस्था लिमिटेडले कृषि तथा पशुपक्षी विकास मन्त्रालय, ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना डडेल्धुरामार्फत १८ किसानलाई २२ वटा भैँसी वितरण गर्ने भएको हो। 

विश्व बैँकको आर्थिक सहयोगमा सञ्चालनमा रहेको स्टार्ट अफ अनुदानमार्फत ५० प्रतिशत सहकारीको लगानीमा  भैँसी गोठ निर्माण, भैँसी खरिद तथा वितरण र बीमा तथा औषधि खरिद गरिने छ। सहकारीका अध्यक्ष अनुसार एक वर्षसम्म सञ्चालन रहेने कार्यक्रमको गत चैत १७ गते सम्झौता गरिएको हो। २०८१ चैत १६ गते भित्र गोठ निर्माण, भैँसी वितरण, सामाजिक परीक्षण लगाएतको काम पूरा गर्नुपर्ने छ। 

आयोजना सञ्चालनका लागि ४९ लाख ८१ हजार खर्च हुने छ। २४ लाख ६७ हजार नौ सय ४६ रुपैयाँ परियोजनाको रहने छ, भने २५ लाख १३ हजार ५४ रुपैयाँ सहकारीको खर्च हुने बताइएको छ। सहकारीले शनिवार सार्वजनीकरण कार्यक्रमको आयोजना गर्दै किसान, वडा अध्यक्षसहितका जनप्रतिनिधिहरू, किसान तथा सञ्चारकर्मीहरूलाई परियोजनाको विषयमा जानकारी गराएको छ। वडाध्यक्ष प्रेमबहादुर भण्डारीले किसानहरूले दुध बिक्री नियमित रूपमा गर्नुपर्ने बताए। उनले ३० वर्षदेखि एकै व्यक्तिलाई दुध बिक्री गरेका किसान वडामा रहेको बताए। काम पूरा गरेपछि मात्र परियोजनाबाट अनुदान आउने भएकाले किसान समस्यामा रहने उनले बताए। 

कमेन्ट लोड गर्नुस