सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘सफा धनगढी’ अभियानमा करिव ६० हजार विद्यार्थीको सहभागिता

२०८१ जेठ ५, ०६:४० नारायण अवस्थी

धनगढीः कैलालीको धनगढीमा जारी सरसफाइ अभियानमा विद्यालयहरूले हातेमालो गर्न थालेका छन्।

उपमहानगरपालिकाले चलाएको ‘हाम्रो धनगढी, सफा धनगढी’ अभियानमा सम्पूर्ण विद्यालय जोडिएका हुन्। धनगढीका ६८ सामुदायिक र ११० निजी विद्यालयसहित क्याम्पसमा अध्ययनरत करिव ६० हजार विद्यार्थी मार्फत घरघरमा सरसफाइ सम्बन्धी अवधारणा पुगाउने उपमहानगरको उद्देश्य छ।

May be an image of 9 people, hospital and text

विद्यालयहरूले सरसफाइ अभियानमा सहभागी हुँदा सफा धनगढी अभियान सफल हुने अपेक्षा गरिएको सरसफाइ शाखा प्रमुख अशोक अवस्थीले बताए। ‘धनगढी उपमहानगरपालिकाले चलाएको ‘हाम्रो धनगढी, सफा धनगढी’ अभियानमा धनगढीका ६८ सामुदायिक र ११० निजी विद्यालय जोडिएका छन्।

धनगढीलाई देशकै सफा नगर बनाउने अभियानमा करिव ६० हजार विद्यार्थीको प्रत्यक्ष सहभागिता देखिएको छ। जसले गर्दा फोहरमैला व्यवस्थापन गर्न सहज हुने भएको छ’, अवस्थीले भने। धनगढीका विद्यालय र कलेजमा यो वर्ष करिव ६० हजार विद्यार्थी रहेको उपमहानगरपालिकाले जनाएको छ। विद्यालय र कलेजमा अध्ययनरत विद्यार्थीहरूलाई उपमहानगरको आग्रहमा विद्यालय र कलेजबाट सामुदायिक सरसफाइ अभियानमा लगाउन थालिएको छ।

विद्यार्थीहरूलाई सामुदायिक सरसफाइमा लगाउँदा सरसफाइ सम्बन्धी सकारात्क सन्देश परिवार र समुदायमा जाने कैलाली मोडेल माध्यमिक विद्यालयका प्रधानाध्यापक तपेन्द्रबहादुर सिंहले बताए। ‘उपमहानगरपालिकाले अहिले चलाएको अभियान एकदम राम्रो छ।

May be an image of 15 people and hospital

सरसफाइ अभियानमा विद्यार्थीको सहभागिताले वयस्कहरूमा पनि जथाभावी फोहर गर्नु हुन्न भन्ने मानसिकता निर्माण गर्न सहयोग पुगेको छ’, उनले भने, ‘सरसफाइलाई सिकाइसँग जोड्ने काम भएको छ, यसले सफा धनगढी अभियानलाई पक्कै पनि सफल बनाउनेछ।’ धनगढी उपमहानगरपालिकाले हरेक विद्यालयमा सरसफाइ अभिमुखीकरण अभियानसमेत थालेको छ। हरेक विद्यालयमा सरसफाइ समिति गठन गरिएको छ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले समुदायमा गएर सरसफाइ गर्दा त्यसको व्यक्ति र समुदायमा सकारात्मक सन्देश गएको पञ्चोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिशकुमार ओझाले बताए। ‘अहिले विद्यालय रहेको स्थान वरपर समुदाय पनि सरसफाइ गर्दा त्यहाँका स्थानीयले पनि सरसफाइ अभियानमा भाग लिने गरेको देखियो। यो अभियानले सबैमा सकारात्मक सन्देश दिन सहयोग पुगाएको छ’, ओझाले भने।

उपमहानगरपालिकाले विद्यार्थीबाट समुदाय र परिवारले सरसफाइ सम्बन्धी व्यवहार सिकेर हरेक दिन अभ्यासमा ल्याउन भन्ने चाहेको छ। विद्यार्थीका सरसफाइ सम्बन्धी सकारात्मक प्रयास र अभ्यासबाट हरेक व्यक्तिको व्यवहारमा परिवर्तन आओस् भन्ने अपेक्षा समेत गरिएको छ। हरेक घरमा सरसफाइ सम्बन्धी सन्देश पुगाउन विद्यालय र विद्यार्थीको योगदान महत्वपूर्ण हुने धनगढी उपमहानगरपालिकाको सरसफाइ शाखा प्रमुख अशोक अवस्थीले बताए।

सरकारी र निजी विद्यालयले मात्रै नभएर धनगढीमा रहेका ट्रेनिङ इस्टिच्युट र व्रिज कोर्ष पढाउने संस्थाहरूले समेत सरसफाइ अभिमुखीकरण र अभियान चलाउने गरेका छन्। यस्तै सामुदायिक स्तरमा टोल समूहले समेत सरसफाइ अभियान चलाउने गरेका छन्। जसबाट फोहर व्यवस्थापन गर्ने व्यवहार हरेक व्यक्तिमा निर्माण हुने उपमहानगरले अपेक्षा गरेको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस