सुदूर नेपाललाई विश्वसँग जोड्दै

आगलागी र हावाहुरीको जोखिममा सुकुम्बासी बस्ती

२०८१ वैशाख २३, ०४:५८ रासस

धनगढीः कैलालीको टीकापुर नगरपालिका–१ एकतानगर शिविरकी शारदा विश्वकर्मालाई गर्मी मौसम सुरु भएसँगै चिन्ताका दिन सुरु भएको बताइन्। शिविरमा बस्दै आएकी शारदालाई शिविरमा सुकेका ठूला रुख कतिबेला घरको छाना माथि खसेर ज्यान जाने हो भन्ने त्रासले १७ वर्षदेखि पिरोल्दै आएको छ। वर्षौँदेखि सुकेका रुख कतिबेला भुइँमा खस्छन् भन्ने ठेगान हुँदैन। गर्मी मौसममा हुने आगलागीको जोखिम पनि सुकुम्बासी बस्तीमा उत्तिकै रहेको उनी बताउँछन्।

“गर्मी मौसममा हावाहुरीले रुख ढल्दा ज्यान गएका घटना  आँखा अगाडि ताजै छन्, त्यो घटनाबाट बर्सेनि त्रासमा जीवन बिताउनुपर्ने बाध्यता हाम्रा अगाडि छ”, उनले भनिन्, “गर्मी मौसम सुरु भएदेखि वर्षायाम नसकिँदासम्म हाम्रा दुःखका दिन समाप्त हुँदैनन्।” वर्षौंदेखि पुनःस्थापनको पर्खाइमा बसेकी शारदा जस्ता सयौँ परिवार आज पनि त्यसैको पर्खाइमा रहेका छन्। टीकापुर बहुमुखी क्याम्पसको जग्गा अतिक्रमण गरेर बसोबास गर्दै आएका सुकुम्बासी आज पनि आफूहरुको पुनःस्थापन हुन्छ भन्ने आशामा छन्।

अहिले शिविरको बस्तीमा सुकेका रुख ठिङ्ग्रिङ ठडिएका छन्। शिविरमा हरिया रुख नभए पनि सुकेका रुख कतिबेला ढल्ने हुन भन्ने पत्तो हुँदैन। कतैबाट आगोको झिल्को शिविरमा पर्नेबित्तिकै सबै खरानी हुने स्थिति छ। गर्मी मौसम आउने हावाहुरीले त्यसरी सुकेका रुख ढल्ने र घरमुनि खसेर यसभन्दा अगाडि कैयौँ धनजनको क्षति भइसकेको छ। “हावाहुरी आउँदा घर बाहिर भाग्नुपर्ने स्थिति छ, दिनमा घर बाहिर भागे पनि रातिको समयमा कता भाग्ने?”, विन्दु भन्छन्, “अन्त कतै जाऊ भने जाने ठाउँ छैन, यतै बस्दा ज्यान जोगाउन मुस्किल छ, आजभोलि त हावाहुरीभन्दा आगलागीको त्रास बढी हुने गरेको छ।” सरकारले आफूहरुको व्यवस्थापनका लागि ध्यान नदिँदा पीडामा जीवन बिताउनुपर्ने बाध्यता आफ्ना अगाडि रहेको उनकोे बुझाइ छ।

एकतापुर शिविरमा बसोबास गर्दै आएका रामेश्वर चौधरीका अगाडि २०७६ मा हावाहुरीका कारण रुख घर माथि ढल्दा एक जनाको ज्यान गयो। रातिको समयमा आएको हावाहुरीले लाखौँको धनमाल नष्ट गर्‍यो। आँखा अगाडि भएको त्यो घटना रामेश्वरका लागि ताजै लाग्छ। ज्यानलाई हत्केलामा राखेर मृत्युसँग लडेर बाध्यताको बसाइँ बस्नुपरेको उनको भनाइ छ। “सुनाउन धेरै थियो, सुनिदिने हाम्रो कोही छैन, हामी सुकुम्बासीलाई अझै सुकुम्बासी  बनाउन कैयौँ लागिपरेका छन्”, उनले दुखेसो पोख्दै भने, “प्राकृतिक विपत्तिले दिने दुःख मात्रै होइन, मानिसहरुले गर्ने व्यवहारबाट पनि हामी निकै प्रताडित छौँ।”

माटो र काँचो इँटा प्रयोग भएका घरका लागि हावाहुरी तथा आगलागीमा  मात्रै नभई वर्षात्को बाढी र डुबान पनि अर्को दुःख बनेर बसेको छ। वर्षौंदेखि जग्गा पाउने आशामा बसेका सुकुम्बासीले राष्ट्रिय भूमि आयोगको फाराम पनि भरेका छन्। फाराम भरेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको फाराम भरेका उनीहरुले जग्गाको निस्सासमेत प्राप्त गरिसकेका छन्। उनीहरुले बसोबास गरिरहेको जग्गा पाउनुपर्ने माग पनि गर्दै आएका छन्। उक्त जग्गा क्याम्पसका नाममा भएका कारण सो बस्तीका नागरिकलाई सोही स्थानमा व्यवस्थापन गर्न चुनौती छ। नगरपालिकाको वडा नं १ ले वडाबाट भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको हकमा गर्नुपर्ने प्रक्रियाको काम गरिसकेको वडाध्यक्ष मोहन विकले बताए। 
 

कमेन्ट लोड गर्नुस