सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–दीपायल द्रुतमार्ग निर्माणका लागि बजेट अभाव

२०८१ वैशाख ६, १०:०० कमल सावद

धनगढी : धनगढी–दीपायल–चैनपुर–उरैभञ्ज्याङ सडक निर्माणका लागि बजेट अभाव भएको छ। धनगढी–दीपायल द्रुतमार्ग निर्माणका लागि चालु आर्थिक वर्षमा विनियोजन गरिएको २५ करोड खर्च भएको हो। एक सय ८६ किलोमिटरमा ३५ किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता गरिएको छ। चार खण्डमा सडक निर्माणको काम गरेका निर्माण कम्पनीहरूले २ करोड भुक्तानी पाउन बाँकी छ। कैलालीमा सडक कालोपत्रको काम अन्तिम चरणमा पुगेका बेला बजेट अभाव भएको हो।

धनगढी–दीपायल–चैनपुर–उरैभञ्ज्याङ सडकको जम्मा लम्बाइ एक सय ८६ किलोमिटर छ। धनगढी–दीपायल क्षेत्रमा ३५ किलोमिटर कालोपत्रको काम जारी छ। कैलालीमा १३ किलोमिटर सडक कालोपत्रको काम अन्तिम चरणमा पुगेको छ। धनगढी–स्याउले–हाटखोली खण्डको कालोपत्रको काम अन्तिम चरणमा पुगेको हो। धनगढी–दीपायल–चैनपुर–उरैभञ्ज्याङ सडक योजना कार्यालयका सूचना अधिकार दिनेश रैखोलाले विपीनगरदेखि दक्षिण तिर तीन वटा ठेक्का रहेको बताए। उनले भने, ‘धनगढीदेखि १३ किलोमिटर कालोपत्रको काम अन्तिम चरणमा छ। सात किलोमिटरको पनि ग्राभेलको काम हुँदैछ। विपीनगरसम्म ग्राभेलको काम सकियो। डोटी तिरको काम पनि जारी छ।’

धनगढीको हसनपुरदेखि स्याउलेसम्मको सडक कालोपत्रको काम सकिएको छ। स्याउले हाटखोली क्षेत्रमा कालोपत्रको काम जारी छ। १३ दशमलव चार किलोमिटर सडकको काम वैशाख महिनाभित्र पूरा हुँदैछ। हाटखोली क्षेत्रको सात किलोमिटर कालोपत्रको कामसमेत जारी छ। हाटखोली क्षेत्रमा ग्राभेल निर्माणको काम हुँदैछ। हाटखोली क्षेत्रको सात किलोमिटर सडक निर्माणका लागि असारसम्मको समय सिमा छ। हाटखोलीदेखि विपिनगरसम्मको सडक ग्राभेलको भने पूरा भएको छ। उनले भने, ‘१० किलोमिटर कालोपत्रको लक्ष्य थियो। सकिएको छ। २५ करोड बजेट थियो। सबै सकिएको छ। बजेटको अभाव रहेको छ।’

धनगढी–दीपायल द्रुतमार्गको कैलालीमा १३ दशमलव चार र डोटीमा ९ दशमलव चार किलोमिटर गरेर २३ किलोमिटर सडक कालोपत्रका लागि २०७८ वैशाखमा सम्झौता भएको थियो। कैलालीमा थप ७ किलोमिटर र डोटीमा १५ किलोमिटर सडक कालोपत्रका लागि दोस्रो चरणमा ठेक्का भएको थियो। डोटीमा ९ किलोमिटर सडकमा बेस निर्माणको काम पूरा भएको छ। ६ किलोमिटरमा सडक चौडा पार्ने काम हुँदैछ। तर, काम गरेका निर्माण कम्पनीहरूले २ करोड भुक्तानी पाएका छैनन। चालु आर्थिक वर्षमा सडक निर्माणका लागि विनियोजन भएको २५ करोड खर्च भएपछि बाँकी भुक्तानी दिन समस्या भएको हो। धनगढी–दीपायल–चैनपुर–उरैभञ्ज्याङ सडक योजना कार्यालयका सूचना अधिकार दिनेश रैखोलाले दीपायल क्षेत्रमा मंसिरसम्म काम पूरा हुने बताए। उनल भने, ‘२५ करोड सकिएको छ। २ करोडको बिल आएको छ। असारसम्म थप रकम आउछ भन्ने छ।’

धनगढीको हसनपुरदेखि बझाङको थलारासम्मको एक सय ८६ किलोमिटर सडकमा २० प्रतिशत काम मात्र भएको छ। बाँकी सडक निर्माणका लागि ठेक्का सम्झौता गर्न पनि बजेटको अभाव देखिएको छ।

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस