सुदूर नेपाललाई विश्वसँग जोड्दै

तरकारी खेतीबाट आम्दानी लिँदै मुक्तकमैया

२०८१ वैशाख १८, ०८:३८ रासस

कञ्चनपुर : कञ्चनपुरको बेदकोट नगरपालिका–३ आशापुरमा मुक्तकमैयाको सानो बस्ती छ। विसं २०५७ मा कमैया मुक्त भएपछि सरकारले १६ परिवारलाई आशापुरमा जग्गा उपलब्ध गराएको थियो। 
मुक्तकमैयाको परिवार सङ्ख्या बढेर अहिले २२ पुगेको छ। यहाँका स्थानीय कोही घर बनाउने मिस्त्री र कोही कोही मजदुरी गर्थे । तर अहिले धेरैजसो मुक्त कमैयाका परिवार  तरकारी खेतीमा सक्रिय छन्। 
कमैयामुक्तपछि जानकी चौधरीको परिवारका लागि तरकारी खेती आम्दानीको गतिलो स्रोत बनेको छ। ‘कमैयामुक्तिपछि तरकारी खेतीको तालिम लियौँ। यसबाट हुने आम्दानीले घरखर्च चलिरहेको छ’, उनले भने, ‘सिजनमा  डेढदेखि दुई लाखसम्म आम्दानी हुने गरेको छ।’ 

कमैयामुक्तिपछि सरकारले एक परिवारलाई पाँच कट्ठाको दरले जमिन उपलब्ध गराएको थियो। जानकीले आधा बिघा जमिन अधियाँमा लिएर धान÷गहुँ खेती गर्नुहुन्छ। नौ कट्ठा जमिनमा चाहीँ काँक्रा, फर्सी, लौका, घिरौला, बोडीलगायत तरकारी खेती गरेका छन्। उनले च्याउ खेती पनि गरेका छन्। 

४० वर्षीय मानबहादुर डगौँराले १० कट्ठा जमिन भाडामा लिएर तरकारी खेती गरेका छन्।  तरकारी बेचेरै उनले घरखर्च चलाउँदै आएका छन्। वार्षिक  दुई देखि तीन लाख आम्दानी हुने गरेको उनले बताए। ‘अटो रिक्सामा राखेर तरकारी सब्जीमण्डीमा बेच्न लैजान्छौँ, सिँचाइ हुँदा राम्रो उब्जाउ हुन्छ’, उनले भने, ‘थोरै सिँचाइको असहजता छ, नहर लाग्दैन। बोरिङको पानीले सिँचाइ गर्नुपर्छ।’ कमैया बस्दा मानबहादुरले पढ्न पाएनन। कमैयामुक्ति भएपछि लिएको तालिमले तरकारी खेतीमा लाग्न प्रेरणा मिलेको उनले बताए। तरकारी खेतीबाटै कमाएको पैसाले आशापुरमा मानबहादुर पक्की घर निर्माण गर्दै छन्। 

आशापुरकै विक्रम डगौँरा पनि तरकारी खेती गर्छन। कमैयामुक्त भएपछि उनी तीन पटक वैदेशिक रोजगारीमा गए। मथनर, दुबई र साउदीमा मजदुरी गरे। श्रीमती र छोरा बिरामी भएपछि स्वदेश फर्किएका विक्रम अहिले गाउँमै तरकारी खेती गरेर आम्दानी गरिरहेका छन्। ‘आठ÷नौ वर्ष विदेशमा मजदुरी काम गरियो। त्यहाँबाट फर्किएपछि गाउँमै तरकारी खेती गरँे, अहिले राम्रो आम्दानी भइरहेको छ’, उनले भने, ‘स्वदेशमै मेहनत गरे कमाइ हुने रहेछ।’
 

कमेन्ट लोड गर्नुस