सुदूर पहाडका विद्यार्थीमा मुर्छा पर्ने अनौठो रोग, अभिभावक चिन्तित
बैतडीः सुदूरपश्चिमका पहाडी जिल्लामा अध्ययनरत प्रायः विद्यार्थीमा अनौठो रोग देखा परेको छ। प्रायः विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा मुर्छा पर्ने अनौठो रोग देखा परेको हो। एकाएक बेहोस हुने, रुने, कराउने लगायतका समस्या विद्यार्थीमा देखा गर्न थालेपछि अभिभावक चिन्तित बनेका छन्।
शुक्रबार बैतडीको पञ्चेश्वर गाउँपालिका–१ को डुग्रिखान माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु बेहोस भए। एक जना बेहोस भएपछि सँगै भएका अरु विद्यार्थी पनि बेहोस भएको प्रधानाध्यापक नरेन्द्रसिंह साउँदले बताए। ‘गत वर्षदेखि यस प्रकारको लक्षण विद्यार्थीहरुमा देखा पर्दै आएको छ। एक विद्यार्थीमा देखा परेपछि सँगै रहेका अन्य विद्यार्थीमा पनि यस्तो समस्या देखिने गरेको छ। लहरै विद्यार्थीहरु बेहोस हुने र छटपटाएर अनौठा हर्कत गर्ने गरेका छन्।’
विद्यार्थीहरु रुने, कराउने, बेहोस हुने, काँप्ने, ढल्ने, मुर्छा पर्ने, चिच्याउने, हाँस्ने, दौड्ने, काँप्ने लगायतका समस्या देखा परेको प्रधानाध्यापक साउँदले बताए। उनका अनुसार आफैँले आफैँलाई दाँतले टोक्ने तथा एक जनालाई भयो भने अरुलाई पनि सँगै हुने गरेपछि नियमित पठनपाठनमा समस्या भइरहेको बताए। सुरुमा एक जना विरामी हुने त्यसपछि लहरै अन्य विद्यार्थीहरुलाई समेत सर्ने गरेको प्रधानाध्यापकको गुनासो छ।
धेरै जसो छात्रामा यस्तो समस्या देखिने गरेको सिगास गाउँपालिका–५ मा रहेको शारदा मावि ढुङगाडका प्रधानाध्यापक मीनबहादुर चन्दले बताए। यो समस्या देखा परेपछि रुने, कराउने र बेहोस हुने गरेको उनले बताए। प्रायः १३ देखि १४ वर्ष उमेर समुहका बालबालिकाहरुमा यस्तो समस्या देखिने गरेको छ। यस्तो समस्या के कति कारणले देखा परेको हो भन्ने विषय अझै पत्ता लाग्न सकेको छैन्।
केहिले त यस्तो समस्या देखा पर्नुलाई देवीदेउताको दोषको रुपमा पनि लिने गरेका छन्। कतिपयले भुतप्रेतको संज्ञा समेत दिने गरेका छन्। तर जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले यो मानसिक समस्या भएको भन्दै मास हिस्टोरियाका कारण यस्तो समस्या आएको बताए। मास हिस्टोरियाका कारण विद्यार्थीहरुमा यस्तो लक्षण देखिने गरेको उनले बताए।
‘यो एक मानसिक समस्या हो। यसले ठुलो घातक र समस्या गर्दैन। यसको सामाधान खोज्नुपर्छ। यसप्रकारको समस्या अरुलाई व्यक्त गर्न तथा भन्न नसकेका कारणले यस्तो किसिमको लक्षणहरु देखिन्छ।’ यस्ता लक्षण देखिएका बालबालिकालाई छुट्टा–छुट्टै स्थानमा राखेर मनोसामाजिक परामर्श दिनुपर्ने भट्ट बताउँछन्। ‘लक्षण देखिएका बालबालिकाहरुलाई अलग–अलग आइसोलेशनमा राखेर मनोसामाजिक परामर्श दिनुपर्छ।’