कैलालीमा कुलो निर्माणको नाममा जनप्रतिनिधिबाटै रकम पचाउने खेल भएपछि...
धनगढीः कैलालीको राजीपुरमा रहेको गौरीगंगा नदीमा कच्चि बाँध निर्माण गरेर किसानले १९९६ सालदेखि पानी खेतमा ल्याउन थाले।
२०४८ सालमा पक्की बाँध निर्माण थालियो। तर निर्माण कम्पनीले काम गर्न सकेन। फेरि अर्काे निर्माण कम्पनिले २०५६ सालमा निर्माण थालिएको कुलोको बाँध २०५८ मा सकियो। २०५९ सालबाट नहरमा पानी बग्न थालेको थियो। किसानले खेत–खेतमा सिँचाइ सुविधा पाए। किसानले २०६९ असोजसम्म नदीको पानीले खेती सिँचाई गरे।
तर २०६९ असोजमा आएको बाढीले कुलाको बाँध बगायो। किसानलाई सिँचाइको समस्या सुरु भयो। क्षमता भएका किसानले मोटर जडान गरे, डिप बोरिङ्ग गाडे। तर आर्थिक क्षमता नभएका किसानले अहिले पनि आकाशको पानीको भरमा खेती गर्नुपर्ने बाध्यता छ।
स्थानीय किसान खुशिराम चौधरीले १२ महिना नै कुलो सञ्चालन हुँदै आएको बताए। उनले भने, ‘बाढीले कुलोको बाँध बगायो। पानी आएको छैन। चालु थियो, बाढीले बगाएको हो। गहुँ, धान सबैमा लाग्दै आएको थियो। १२ महिना नै कुलो सञ्चालन हुँदै आएको थियो।’ गौरीगंगा नगरपालिका वडा नम्बर ४ मा १२ महिना नै सञ्चालन हुने सिँचाई कुलो थियो।
नगरपालिकाका खुरखुरिया, सुपारी आँप, सिमलपुर, राजिपुर लगाएतका क्षेत्रका किसानले धान, गहुँ, तरकारी खेतीमा कुलोको पानी प्रयोग गर्दै आएका थिए। तर गौरीगंगा नदीको बाढीले कुलाको बाँध बगायो। किसानले १० वर्षदेखि कुलोको पानीले सिँचाई गर्न पाएका छैनन्। बाढीले बगाएको कुलो पुनः निर्माणका लागि किसानबाट रकमसमेत संकलन गरिएको छ।
किसानबाट २ लाख ८३ हजार बढी रकम संकलन भएको छ। तर ७/८ वर्षदेखि संकलन भएको रकमको कुनै लेखाजोखा छैन्। राजनीतिक आडमा किसानको रकम पचाउने काम भएको छ। एक जना स्थानीयले भने, ‘उपसमितिसँग एक÷डेढ लाख सबैसँग छ। ७ वर्षदेखि व्यक्तिगत रुपमा चलाउदै आएका छन्। उनीहरुले पनि दिदैनौ भनेका छैनन्। मुल समितिले जिम्मा लिनुपर्ने हो।’
गौरीगंगा नगरपालिकाको वडा नम्बर ४ का वडाध्यक्ष रामबहादुर चौधरी, वडासदस्य बलराम सापकोटा लगायतका व्यक्तिले राजनीतिक आडमा किसानबाट रकम उठाएका थिए। तर वडाध्यक्षमा विजयी भएको एक वर्षसम्म पनि उनीहरुले संकलित रकमको हिसामसमेत दिएका छैनन्। टोलटोलबाट संकलन भएको रकम सिँचाई आयोजनाको मुल समितिमा बुझाएका छैनन्।
वडासदस्य सापकोटाले मुल समितिले हिनामिना गर्ने डरले रकम नदिएको दाबी गरे। उनले भने, ‘भेलाले मुल समितिलाई नदिने भनेको छ। ठेक्का भयो भने मात्र जम्मा गर्ने भनेको छ।’ पुरानो समितिले हिसाब नदिएको तर्क उनको छ। ‘चुनावका बेला पनि कुरा उठेको थियो। म दिन तयार छु। तर कोलाई दिने हो। मुल समितिलाई नदिने भनेको छ,’ उनले भने।
बाढीले सिँचाइ कुलाको बाँध पूर्ण क्षति भएको छ। बाध पुनःनिर्माणका लागि ३० करोड बजेट आवश्यक पर्ने देखिएको छ। ९ किलोमिटर कुलाको नहर छ। कुलोको पानीले गौरीगंगा नगरपालिका वडा नम्बर ४ को ६ सय हेक्टर जमिन सिँचाइ गर्नेछ। तर बाध पुनःनिर्माणको बाहनामा किसानबाट संकलन भएको रकमको लेखाजोखासमेत भएको छैन।
वडाध्यक्ष चौधरीले किसानबाट संकलन भएको रकम विभिन्न व्यक्तिसँग रहेको बताए। उनले भने, ‘मैले बुझ्दा खेरी, तीन लाख खुरखुरिया सिँचाइको बैंक खातामा थियो। तर पछि खातासमेत भेटिएन्। पहिला १९ करोड बजेट आएको थियो। ६/७ वर्षपहिलाको कुरा हो। टोलटोलबाट पैसा उठाउने जिम्मा दिइएको थियो। मैले ३० हजार उठाएको थिए। केहीले दिएका थिएनन्।’
खुरखुरिया सिँचाइ आयोजनाको समितिले रकम हिनामीना गरेकाले उपसमितिले किसानबाट संकलन भएको रकम मुल समितिलाई नबुझाएको दाबी गरिएको छ। पुराना समितिले समेत रकम हिनामीना गरेको आरोप लागेको छ। सिँचाइ कुलो आयोजना समितिमार्फत उपसमितिहरु गठन गर्दै किसानबाट रकम उठाइएको छ।