कैलालीमा परिवार नियोजनको अस्थायी साधन ’सायना प्रेस’ सुरु
धनगढीः नेपाल परिवार नियोजन संघ कैलाली शाखाले जिल्लामा परिवार नियोजनको अस्थायी साधन ‘सायना प्रेस’ सेवा सुरू गरेको छ। मंगलबार गर्भ निरोधक नयाँ साधनको विषयमा जानकारी गराउन आयोजित कार्यक्रममा शाखा प्रमुख चेतरामज फुलाराले परिवार नियोजनको नयाँ सुई ‘साइना प्रेस’ कैलालीमा पनि दिइने बताए। महिलाले प्रयोग गर्ने ३ महिने गर्भ निरोधक सुई कैलालीका स्वास्थ्य संस्थाबाट लगाउन सकिने व्यवस्था मिलाइएको हो।
यसअघि परीक्षणको रुपमा नवलपरासी र सिन्धुलीमा सञ्चालन गरिएको ‘साइना प्रेस’ सुई प्रभावकारी देखिएपछि चालू आर्थिक वर्षबाट देशका कैलालीसहित ७ जिल्लामा सेवा विस्तार गरिएको हो। सायना नामक सुई एक पटक लगाएपछि ३ महिनासम्म गर्भ रहनबाट रोक्ने स्टाफ नर्स सुमिना श्रेष्ठले बताए।
विश्वका अन्य देशमा सायना प्रेसलाई आफैंले लगाउन मिल्ने सुईका रुपमा प्रयोग गरिएको छ। तर, नेपालमा भने सुई आफैं लगाउन अनुमति नदिइएकाले नजिकको स्वास्थ्य संस्थाबाट लगाउन सकिने छ। ३ महिने गर्भ निरोधक सुई साइना प्रेस डिपो र संगीनीभन्दा परिस्कृत खोप भएको स्वास्थ्य तालिम केन्द्र धनगढीका प्रमुख नरेन्द्रसिंह कार्कीले बताए। यसको प्रभावकारिता ९९ प्रतिशत रहेको बताइएको छ।
मान्यता प्राप्त स्वास्थ्य संस्थाबाट चिकित्सकको परामर्शमा सुई लगाउन सकिने अधिकारीहरूले बताएका छन्। नेपाल परिवार नियोजन संघले ‘सायना प्रेस’ सेवा विस्तार सम्बन्धि समन्वयात्मक बैठकमा स्वास्थ्य तालिम केन्द्र धनगढीका प्रमुख नरेन्द्रसिंह कार्की, प्रदेश स्वास्थ्य प्रवद्र्धन केन्द्रका प्रमुख हेमराज खड्का, स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख प्रदीप जोशी, नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशी र विभिन्न मिडियामा कार्यरत पत्रकार र स्वास्थ्यकर्मीको सहभागीता रहेको थियो।