सुदूरपश्चिमको शिक्षा र सामाजिक क्षेत्रमा करोडौं दान गर्ने डा. जोशीको संघर्ष र सफलताको कथा
अमेरिकामा उच्च सम्मान पाउने एक्लो नेपाली
धनगढीः बझाङको छविसपाथिभेरा गाउँपालिकामा बिस १९९५ मा जन्मेका प्राध्यापक डाक्टर तुलसीराम जोशी अचेल अमेरिकामा छन्। उनी शिक्षाका माध्यमबाट विश्वमा शान्ति कायम गर्न सकिन्छ भन्ने मान्यताका चिन्तक हुन्।
यहीँ मान्यताले हुनुपर्छ प्राध्यापक जोशीले नेपालमा ७ र अमेरिकामा ४ वटा छात्रवृत्ति कार्यक्रम स्थापना गरेका छन्। शिक्षाको उन्नयन र सामाजिक विकासका लागि प्राध्यापक जोशीले नेपालमा गएको चार वर्षमा मात्रै १ करोड ५० लाख दान गरेका छन्। उनले सुदूरपश्चिममा मात्रै जोशीले ५ विद्यालयलाई आर्थिक सहयोग गरेका छन्।
धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको राष्ट्रिय तुलसीराम माध्यमिक विद्यालयमा झन्डै एक करोड सहयोग गरेका प्राध्यापक जोशीले धनगढी–२ मा रहेको शारदा माध्यमिक विद्यालयलमा विद्यालय भवन निर्माण गर्न १८ लाख १४ हजार ५७४ रुपैयाँ सहयोग गरेका छन्। प्राध्यापक जोशीले यो विद्यालयमा १ लाख र ६ लाख ५५ हजार ४१८ रुपैयाँ प्रदान गरेर दुइटा छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्न सहयोग गरेका छन्। यस्तै जोशीले बझाङको छविसपाथिभेरा गाउँपालिकामा रहेका शान्ति माध्यमिक विद्यालय र बान्नीचौर माध्यमिक विद्यालय तथा चैनपुरको सत्यवादी माध्यमिक विद्यालयमा पनि गरिव र विपन्न विद्यार्थीका लागि छात्रवृत्ति कोष स्थापना गरेका छन्। उनले सुदूरपश्चिमका विभिन्न सामाजिक संस्थालाई पनि आर्थिक सहयोग गरेका छन्।
तुलसीराम विद्यालयको भवन निर्माण गर्नसमेत आर्थिक सहयोग गरेका जोशीकै नामबाट विद्यालयको नामाकरण पनि गरिएको छ। यो विद्यालयले प्राध्यापक जोशीको सम्मानमा अर्धकदको शालिक पनि राखेको छ भने विद्यालय भवनको नामाकरण जोशीकी पत्नी मारलिनको नामबाट गरिएको छ। यस्तै शारदा माध्यमिक विद्यालयले प्राप्त गरेको १८ लाख बढी रकमबाट विद्यालय भवन निर्माण गरेर उक्त भवनको नाम ‘तुलसी म्यारिलिन जोशी भवन’ उल्लेख गरिएको छ। यस्तै प्राध्यापक जोशीले विद्यालयलाई प्रदान गरेको ६ लाख ५५ हजार ४१८ रुपैयाँ बैंकमा जम्मा गरिएको छ।
विद्यालयले यो रकम ‘तुलसी म्यारिलिन छात्रवृत्ति कोष’ नाम दिएर बैंकको मुद्दती खातामा जम्मा गरिएको हो। यो रकमको ब्याजबाट २ जना छात्रा र २ छात्र गरि हरेक वर्ष कक्षा ११ र १२ तथा डिप्लोमा तर्फको कृषि विज्ञान र कम्युटर इन्जिनियरिङमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति दिने योजना बनाइएको छ। सुदूरपश्चिमका पहाडी जिल्लाका गरिव, विपन्न र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने सो विद्यालयका प्राचार्य तेजबहादुर सिंहले बताए।
यस्तै प्राध्यापक जोशीकी छोरी तारा मोरान जोशीले प्रदान गरेको १ लाख रकम ‘तुलसी म्यारिलिन छात्रवृत्ति’ कार्यक्रमबाट हरेक वर्ष विद्यालयमा अध्ययनरत एक छात्रा र एक छात्रलाई छात्रवृत्ति प्रदान गरिने विद्यालयले जनाएको छ। यसरी बितेका ४ वर्षमा प्राध्यापक जोशीले सुदूरपश्चिमा मात्रै करिव २ करोड रकम सामुदायिक विद्यालयलाई दान गरेका छन्।
जोशीको विगतछबिसपाथिभेराको तामाखानी गाउँमा जन्मिएका जोशी भूगोल विषयका प्राध्यापक हुन्। उनले बझाङको सदरमुकाम चैनपुरमा रहेको सत्यवादी माध्यमिक विद्यालयबाट सन् १९५७ मा एसएलसी पास गरेका थिए। सत्यवादी स्कुलबाट एसएलसी पास गर्ने पहिलो समूहको विद्यार्थी रहेका जोशी, त्रिभुवन विश्वविद्यालयमा भूगोलबाट स्नातक र स्नातकोत्तर गर्ने दोस्रो समूहका विद्यार्थी हुन्। त्रिभुवन विश्वविद्यालयबाट भूगोल विषयमा स्नातकोत्तर गर्दा सोधपत्र लेख्ने पहिलो विद्यार्थी आफू नै भएको जोशीको दाबी छ। उनले राप्ती उपत्यकाको विषयमा आफ्नो सोधपत्र तयार गरेका थिए।
त्रिचन्द्र कलेजबाट स्नातक गरेर सोही कलेजमा ल्याव टेक्निसियनको काम गर्न थालेका जोशीले आफूमा अध्ययन गर्ने तीव्र चाहना भएकाले सफल भएको जिकिर गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरे लगत्तै छात्रवृत्ति पाएर सन् १९६४ मा अमेरिका पुगेका जोशीले दोहोरो स्नातकोत्तर र विद्यावारिधी उपाधी अमेरिकाबाट प्राप्त गरेका हुन्। ४३ वर्षसम्म प्राध्यापक जोशीले फेयमन्ट स्टेट युनिभर्सिटीमा प्राध्यापन गरेका छन्। अमेरिकामा विगत ३५ वर्षदेखि अन्तर्राष्ट्रिय छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्न १५ मिलियन अमेरिकी डलर सहयोग गरेका प्राध्यापक जोशीको आर्थिक सहयोगमा एक सयभन्दा बढी व्यक्तिले अमेरिकामा उच्च शिक्षा अध्ययनको अवसर पाएका छन्। जसमध्ये ५० जना नेपालीले छात्रवृत्ति पाएका छन्।
अमेरिकामा उच्च सम्मान पाउने एक्लो नेपाली
बझाङको सत्यवादी स्कुलको पहिलो प्रवेशिका परीक्षा उत्तीर्ण गर्ने अवसर पाएका प्राध्यापक जोशीले सन् १९६४ मा अमेरिका आउँदा करीब १० देखि १५ जना नेपाली मात्रै अमेरिकामा थिए। उनले अमेरिकामा विद्यावारिधी पूरा गरेसँगै वेष्ट भर्जिनियाको फेयरमन्ट स्टेट युनिभर्सिटीमा प्राध्यापन सुरु गरेका थिए। राजा महेन्द्रले प्राध्यापक जोशीलाई सन् १९६३ मा शिक्षातर्फको स्वर्ण पदक पनि प्रदान गरेका थिए। यस्तै सन् १९६२ मा जोशीले खेलकुदतर्फको जन्मोत्सव पदक रानी रत्नराज्यलक्ष्मीबाट प्राप्त गरेका थिए। यस्तै भर्जिनिया राज्यका गभर्नरले जोशीलाई दीर्घ सेवा पदकबाट सम्मान दिएका थिए।
अमेरिकामा यो पदक पाउने जोशी पहिलो र एक्ला नेपाली हुन्। जोशीले अमेरिकी राष्ट्रपतिबाट नेपाल र अमेरिकामा शिक्षा र समाज सेवाको क्षेत्रमा योगदान पुगाएको भन्दै सन् २०१८ मा प्रेसिडेन्ट्स भोलेन्टियर सर्भिस स्वर्ण पदक प्राप्त गरेका छन्। यस्तै सन् २०२१ मा आउटस्ट्याण्डिङ फिलान्थ्रोफिष्ट अवार्ड पनि प्राध्यापक जोशीले प्राप्त गरेका छन्। प्राध्यापक जोशीले नेपालका राष्ट्रपतिबाट पनि सम्मान सहित कदर पत्र प्राप्त गरेका छन् भने भर्जिनियाको शिक्षा विभागबाट प्रतिष्ठित साइरस भेन्स अवार्ड पाएका छन्।
प्राध्यापक जोशी दम्पत्तीका नाममा अमेरिकाको वेष्ट भर्जिनियाका दुईवटा विश्वविद्यालयमा एकेडेमिक अफिस स्थापना गरिएको छ। प्राध्यापक जोशीले अमेरिकाको दुई विश्वविद्यालयमा ४ वटा अन्तर्राष्ट्रिय अध्ययन कार्यक्रम चलाएका छन्। जसका लागि हालसम्म जोशी दम्पतीले व्यक्तिगत ३५० हजार अमेरिकी डलर खर्च गरेका छन्। यसरी प्राध्यापक जोशीले आफ्नै आम्दानीमा शिक्षा क्षेत्रमा सक्दो सहयोग गरेको बताएका छन्। विश्वका मानिसहरूमा मैत्रीपूर्ण भावनाको विकास होस् र गरिव तथा विपन्नले पनि पढ्न पाउन भनेर अन्तर्राष्ट्रिय अध्ययन कार्यक्रम अमेरिकी विश्वविद्यालयमा सुरुवात गरेको जोशीले बताउने गरेका छन्।
पत्नीले नेपालप्रतिको अभिरुचि जगाइन्
सामान्य गाउँले परिवेशबाट काठमाडौं उच्च शिक्षा अध्ययन गर्न पुगेका जोशीको व्यवसायिक र वैवाहिक जीवनको सुरुवात अमेरिकामा भएको हो। नेपालबाट अमेरिका गएको सुरुवाती दिनमा पारिवारिक समस्याका कारण नेपालप्रतिको भावना कम भए पनि पत्नी म्यारिलिनका कारण जन्मभूमिप्रतिको माया र श्रद्धा पुनर्जाग्रीत भएको जोशीको सुखद क्षण छ। उनले पत्नीको प्रेरणाले नेपालको शिक्षा र सामाजिक क्षेत्रमा सहयोग गर्न सकेको भाव प्रस्तुत गरेका छन्।
फालेको कागज र दाडिमको बोक्राको मसी हुन्थ्यो
राणाकालीन समयमा निकै सीमित व्यक्तिले मात्रै पढ्ने अवसर पाउँथे। टनकपुरबाट सामान लगेर बझाङमा व्यापार गर्ने बुवाको कारण जोशीले पढ्ने अवसर पाएका थिए। भारतीय व्यापारीसँगको सम्बन्धका कारण पढाईको महत्व बुवाले बुझेको र उच्च शिक्षा हासिल गर्ने अवसर पाएका जोशीले त्यो स्कुले जीवन भने निकै अभावयुक्त बिताएको स्मरण गरे।
उनले लेख्न कापी नपाउने हुँदा चैनपुरमा सरकारी अड्डाले फालेको नेपाली कागज अभ्यासका लागि प्रयोग गर्ने गरेको सम्झना ताजै रहेको सुनाए। सरकारी अड्डाले प्रयोग गरेर फालेको नेपाली कागजको एकातिर लेखिएको हुन्थ्यो भने अर्कोतर्फको खाली भागमा आफूले लेखेर अभ्यास गरेको उनको अनुभव छ। मसी र कलम पनि किन्न नसक्ने अवस्थामा निगालोको कलम बनाएर दाडिम र ओखरको दानाको बोक्राको मसीले लेखेको उनको भनाइ छ। त्यो समयमा स्कुलभर एक कक्षाको एक सेट किताब मात्रै हुने हुँदा, पूरै किताब सारेर पढ्नुपर्ने बाध्यता हुन्थ्यो। त्यसैगरी विद्यालयमा शिक्षकहरूको अभाव हुने हुँदा माथिल्लो कक्षाको विद्यार्थीले तल्लो कक्षालाई पढाउनु पर्ने अवस्था हुन्थ्यो।
एसएलसी दिन काठमाण्डौं आउन १५ दिन लाग्यो
सत्यवादी स्कुलबाट सन् १९५७ मा पहिलो पटक एसएलसी परीक्षा दिने पाँच जना विद्यार्थीमा जोशीसहित चैनपुरका गंगाबहादुर सिंह, चैनपुरकै स्थिरजंगबहादुर सिंह, मानबहादुर सिंह र भोपुरका दीर्घराज जैसी थिए। ५ जना प्रवेशिका परीक्षामा सामेल भएकोमा ४ जना उत्तीर्ण भएका थिए। प्रवेशिका परीक्षाको केन्द्र काठमाडौं भएकाले भारतको बाटो हुँदै १५ दिन लगाएर काठमाडौ पुगेको जोशी स्मरण गर्छन्। बझाङबाट पैदल हिँडेर ९ दिनमा टनकपुर पुगेको उनको टोली भारतको रक्सौल, अमलेखगञ्ज हुँदै हेटौडा पुगेको थियो। हेटौडाबाट फेरि पैदल भीमफेदीको बाटो हुँदै थानकोट पुग्दा १५ दिन लागेको थियो।
बझाङदेखि अमेरिका सम्मको आठ दसक बढीको रोमाञ्चक यात्रा
अहिले ८४ वर्ष पुगेका जोशीले बझाङको विकटबस्तीदेखि अमेरिकाको वैभवको प्रत्यक्ष अनुभव गर्ने अवसर पाउने थोरै व्यक्तिमा पर्छन्। सन् १९६४ मा अमेरिका पुगेका जोशी पहिलो पुस्ताको प्रतिनिधि हुन्। अमेरिकामा अध्ययन र अध्यापन गर्न थालेको ५८ वर्षमा अमेरिकाले सबै क्षेत्रमा विकासले फड्को मारेको भए पनि नेपालको अवस्थामा भने सुधार हुन नसकेको अनुभव गरेको जोशी बताउँछन्। एसएलसी दिन १५ दिनको यात्रा तय गरेर काठमाण्डौं पुगेका जोशीलाई सुरुमा काठमाडौं नै नयाँ संसारजस्तो लागेको थियो। काठमाडौंमा कलेज पढ्दाको समय निकै अभावग्रस्त रहे पनि पढाइमा भने जोशीले सचेत रहेकाले सफलता पाएको बताए। जोशीले अमेरिका पुग्दा निर्जन लाग्ने ठाउँमा अहिले ठुल्ठुला सहर बसेका छन् भने अमेरिका विश्वकै महाशक्ति बनेको छ।
कुनै बेला निकै धनाढ्य या दुतावासमा काम गर्ने बाहेक अन्य नेपालीले अमेरिका जाने कल्पनासम्म गर्न सक्दैन थिए। औंलामा गन्न सकिने नेपाली अमेरिका भएको समयमा छात्रवृत्ति पाएर पढ्न त्यहाँ पुगेका जोशीले आफ्नै खर्चमा पचासौं नेपालीलाई विद्यावारिधी गर्न छात्रवृत्ति उपलब्ध गराएका छन्। यस्तै लाखौं नेपाली समुदाय अमेरिकाको विभिन्न राज्यमा बसोबास गरिरहेको देख्ने अवसर पाउँदा निकै खुसी लाग्ने गरेको जोशी सुनाउँछन्। बझाङको सानो गाउँमा जन्मेका जोशीले अमेरिकाले भौतिक, शैक्षिक, आर्थिक, कूटनीतिक र सामरिक सबै क्षेत्रमा हासिल गरेको श्रेष्ठताको साक्षी बस्ने सौभाग्य प्राप्त गरेका छन्। अमिरकाले विज्ञान, प्रविधि, शिक्षा, सञ्चारलगायत क्षेत्रमा गरेको प्रगति आँखा अगाडि देख्न पाउनु जीवन भोगाइका रोमाञ्चक क्षण भएको जोशी जिकिर गर्छन्।
शिक्षाप्रतिको लगाव
गुणस्तरीय शिक्षा नै उन्नति र प्रगतिको साधन हो भन्ने मान्यता राख्ने प्राध्यापक जोशीले नेपालमा शिक्षाको सहज पहुँचबाट कसैले पनि वञ्चित हुने अवस्था नआओस् भनेर सक्नेले विद्यालयहरूलाई सहयोग गर्नुपर्ने धारणा राख्छन्। धनगढीका दुई र बझाङका तीन विद्यालयमा विपन्न तथा जेहेन्दार विद्यार्थीले सहजै पढ्न सकून भनेर छात्रवृत्ति कोष स्थापना तथा विद्यालय भवन बनाउन सहयोग गरेको जोशीको दाबी छ।
नेपाल आफ्नो मातृभूमि भएकाले नेपालबारे सदैव चिन्तित हुने गरेको बताउने जोशीले नेपालमा कानुन राम्रो बनेका भए पनि कार्यान्वयन पक्ष भने निकै कमजोर रहेको भन्दै गुनासो गरेका छन्। सुदूरपश्चिम पर्यटनका दृष्टिकोणले राम्रो सम्भावना बोकेको क्षेत्र भए पनि विदेशी पर्यटकले हवाई भाडा निकै बढी तिर्नुपर्ने नियमका कारण पर्यटक जान नसकेको जोशीको बुझाइ छ।
विदेशीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुदूरपश्चिम जानु पर्दा पाँच गुणा बढी भाडा लिनु न्याय संगत नभएकाले यो कुरामा सुधार ल्याए सुदूरपश्चिम क्षेत्रमा पनि पर्यटनको विकास हुन सक्छ भन्ने जोशीको भनाइ छ।
यो विषयमा आफू सन् २०१९ मा नेपाल आउँदा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र पर्यटन मन्त्री योगेश भट्टराईलाई पत्र लेखेको भए पनि कुनै सुनुवाइ नभएको उनले बताए।