कैलालीमा खैरो हेरोइनसहित दुई जना पक्राउ
धनगढी: धनगढी उपमहानगरपालिकाका दुई स्थानबाट खैरो हेरोइन जस्तो देखिने पदार्थसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
सोमबार साँझ धनगढी उपमहानगरपालिका–३ सिसा पोस्ट नजिकबाट भारत लखिमपुर खिरी घर भएका १९ वर्षीय हेमन्त रानालाई ८० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा उनको साथबाट उक्त पदार्थ फेला पारेपछि आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको हो।
यसैगरी, सोही दिन साँझ धनगढी उपमहानगरपालिका–३ ट्राफिक चोकबाट २७ वर्षीय बिबेक गौतमलाई ७९० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित पक्राउ गरिएको छ। अस्थायी प्रहरी पोष्ट विशालनगरबाट खटिएको प्रहरी टोलीले शंका लागेर जाँच गर्ने क्रममा उनको साथबाट समेत उक्त पदार्थ बरामद गरेको हो।
पक्राउ परेका दुवै जनामाथि लागूऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।