मतदाता शिक्षाका लागि स्वयंसेवक घरदैलोमा
कञ्चनपुर: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कञ्चनपुरका नौवटै स्थानीय तहमा सोमबारदेखि मतदाता शिक्षाका लागि स्वयंसेवक घरदैलो अभियानमा परिचालित भएका छन्। जिल्लाका तीनवटै निर्वाचन क्षेत्रअन्तर्गत ९२ वडामा स्वयंसेवक खटाइएको छ।
जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका सूचना अधिकारी भानबहादुर महराका अनुसार मतदाता शिक्षाको जिम्मेवारी बालविकास केन्द्रका सहजकर्तालाई दिइएको छ। विगतका निर्वाचनमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिसकेका अनुभवी सहजकर्तालाई प्राथमिकतामा राखेर छनोट गरिएको उनले बताए।
निर्वाचन कार्यालयले जिल्लाका प्रत्येक स्थानीय तहमा एक–एक जना समन्वयकर्ता तोकेको छ। ती समन्वयकर्तामार्फत वडास्तरमा स्वयंसेवक परिचालन गरिएको हो। बदर मत घटाई सदर मतको प्रतिशत वृद्धि गर्ने उद्देश्यसहित ‘शून्य बदर मत’ को लक्ष्य राखेर अभियान सञ्चालन गरिएको महराले जानकारी दिए।
घरदैलोमा पुग्ने स्वयंसेवकले नमुना मतपत्र प्रयोग गरेर सही तरिकाले मत संकेत गर्ने विधि, मतपत्र पट्याउने तरिका तथा गोप्य मतदानको महत्वबारे प्रयोगात्मक रूपमा प्रशिक्षण दिनेछन्। विशेषगरी पहिलो पटक मतदान गर्न लागेका युवा मतदातालाई मतदान प्रक्रिया बुझ्न यो अभियान प्रभावकारी हुने अपेक्षा गरिएको छ।
जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा गरी कुल तीन लाख १४ हजार ३८५ मतदाता रहेका छन्।