शिक्षक नियुक्ती घुस माग प्रकरण :छानविन गर्न सरोकारवाला निकाय मौन
शिक्षक नियुक्तीमा घुस मागिएका कारण विवादित वनेको जनता राष्ट्रिय माध्यमिक विद्यालयको छानविन गर्न सरोकारवाला निकाय मौन देखिएका छन् । पाँच महिनादेखि विद्यालयमा शिक्षक नियुक्ती हुन नसकेर विद्यार्थीहरुको पढाई प्रभावित भएका वेला त्यसको छानविनका लागि सरोकारवाला निकायले वेवास्ता गर्दै आएका छन् ।
विद्यालयको प्राथमिक तहमा गत भदौँमा खाली भएको स्थायी शिक्षक दरबन्दीमा कसलाई ल्याउने भन्ने कुरामा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी र शिक्षकहरु बीच स्वार्थ नमिलेपछि विवादित बनेको विषयको वास्तविकता वाहिर ल्याउन कुनै वास्ता गरिएको देखिदैन् ।
आर्थिक प्रलोभन र आपसी विवादकै कारण पाँच महिनादेखि रिक्त रहेको शिक्षक दरबन्दीमा चलखेल भईरहेको विषयमा तीन महिना पहिले नै जिल्ला प्रशासन कार्यालय कैलालीमा उजुरी परेको छ भने शिक्षा विकास तथा समन्वय ईकाईलाई समेत शिक्षक नियुक्तीको विषयलाई लिएर भएको विवाद बारे जानकारी गराईएको छ तर यस वारे ती निकायले केही गरेका छैनन्।
शिक्षा विकास तथा समन्वय ईकाई कैलालीका शाखा अधिकृत प्रताप सिह धामीले घुस माग गरिएको विषयमा कुनै जानकारी नभएको प्रतिक्रिया दिए। उनले तथ्य सहित आफू कहाँ आए क्षेत्राधिकार हेरेर कारवाहीको प्रक्रिया सुरु गरिने बताए। विद्यालयले शिक्षक नियुक्तीमा भएको विवाद र आवश्यताका विषयमा समेत सहजीकरण गरिदिन भन्दै शिक्षा विकास तथा समन्वय ईकाईलाई अनुरोध गरिसकेको छ।
जिल्ला प्रशासन कार्यालयले पनि समन्वय ईकाईलाई पत्र काट्दै विवाद निरुपण गर्न आग्रह गरेको छ। सोही पत्रका टेक्दै शिक्षा समन्वय ईकाइले विद्यालयलाई विवाद टुङ्गाएर शिक्षक नियुक्त गर्न भन्दै पत्राचार गरेपछि त्यसपछि वास्ता गरिएको छैन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द गिरीको निर्देशनमा सरुवा मिलाईदिने भन्दै रकम बार्गेनिङ गरेका प्रधानाध्यापक सुरेन्द्र कुमार ठाकुरसँग रकमको मोलमोलाई नमिलेपछि शिक्षा समन्वय इकाईले समेत वास्ता नगरेको आरोप लागेको छ।
यता जिल्ला प्रशासन कार्यालय कैलालीले शिक्षक नियुक्तीको विषयलाई लिएर आर्थिक चलखेल गर्ने प्रयास भएको देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आवश्यक कारवाहीका लागि लेखी पठाएको जनाएको छ। कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले शिक्षक नियुक्तीमा भ्रष्टाचार भएको ठहर गर्दै आवश्यक कारवाहीका अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरमा लेखी पठाएको जानकारी दिए।
तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हाल सम्म विद्यालयलाई शिक्षक नियुक्तीको विषयमा के भएको हो भनी जवाफ समेत मागेको छैन्। शिक्षक नियुक्तीमा घुस माग्ने प्रधानाध्यापक सुरेन्द्रकुमार ठाकुरले भने यसमा आफु र जनप्रतिनिधिको कुनै दोष नरहेको दावी गरेका छन्।
उनले आफूले कानुनी प्रक्रिया पूरा गरी शिक्षक नियुक्त गर्नुपर्छ भन्दा पनि विद्यालयको आर्थिक स्थिति कमजोर भएकाले रकम दिने व्यक्तीलाई मात्र भर्ना गर्न विद्यालय व्यवस्थापन समितीका अध्यक्ष कृष्णानन्द गिरीले दबाब दिएको जिकिर गरे। प्रअ ठाकुरले विज्ञप्ती निकाल्दै आफुलाई जर्वजस्ती रकम माग्न लगाईएकोले मागेको जनाउदै त्यसमा आफ्नो र जनप्रतिनिधिको संग्लन नरहेको अडान राखेका हुन्। तर अडियो सम्वादमा भने ठाकुरले शिक्षक सरुवा वापतको रकम विद्यालयको हितमा नभई व्यवस्थापन समितीका अध्यक्ष, शिक्षा विकास समन्वय ईकाइ, र आफुले लिने कुरा बोलेका छन्।
कैलालीमा शिक्षक सरुवा गर्न प्रधानाध्यापकले मागे ५ लाख घुस
राजनीतिक हस्तक्षेपले धनगढीको जनता राष्ट्रिय मावि धरासायी बन्दै