कैलालीमा शिक्षक सरुवा गर्न प्रधानाध्यापकले मागे ५ लाख घुस
कैलालीको धनगढी उप–महानगरपालिका १३ मा रहेको जनता राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापकले सरुवा मिलाईदिने भन्दै शिक्षकसँग पाँच लाख रकम माग गरेको तथ्य फेला परेको छ। विद्यालयका प्रधानाध्यापक सुरेन्द्र सुरेन्द्र कुमार ठाकुरले सरुवा मिलाईदिने भन्दै एकजना शिक्षकसँग ५ लाख घुस माग गरेको तथ्य फेला परेको हो।
प्राथमिक तहमा स्वीकृत दरबन्दीमा कार्यरत शिक्षकको सरुवा भएपछि, सबै कुरा मिलाईदिने भन्दै धनगढीका शिक्षक लक्ष्मी जोशीसँग पाँच लाख रकम माग गरेको तथ्य फेला परेको हो। गोदावरी नगरपालिका १२ मा रहेको दुर्गा आधारभुत विद्यालयमा पढाउदै आएकी जोशीको स्थायी बसोबास समेत धनगढीमै रहेकाले यतै सरुवा हुने इच्छा थियो।
प्रधानाध्यपक ठाकुरले उनीसँग सरुवा मिलानका लागि ५ लाख माग गरेका हुन्। आफ्ना श्रीमानसँगै आधारभुत विद्यालयमा पुग्नुभएकी जोशीलाई ठाकुरले अरुले २ देखी चार लाख सम्म दिने कुरा भएकाले पाँच लाख दिए सबै कुरा मिलाईदिने र नियुक्त गर्ने निर्णय तत्काल गर्ने भनेको अडियो सार्वजनिक भएको छ। प्राथमिक तहको स्वीकृत दरबन्दीमा कार्यरत शिक्षक अपसरा घिमिरे गत भदौँमा सरुवा भई काठमाडौँ गएपछि उक्त विद्यालयमा सो स्थान रिक्त छ।
उक्त दरबन्दीमा शिक्षक ल्याउन प्रधानाध्यापक लगायत विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र उप–महानगरपालिकाका जनप्रतिनिधीको बार्गेनिङ सुरु भईरहेको छ। सुरुमा डोटीमा कार्यरत शिक्षक नारायण भण्डारीसँग बार्गेनीङ गरिएको, त्यसपछि वडा अध्यक्ष विजयराज जोशीले आफ्नो नाता पर्ने रामचन्द्र न्यौन्याललाई भर्ना गर्न खोजेको तर अध्यक्ष कांग्रेसबाटै निर्वाचित भएको र आफू पनि कांग्रेस निकटकै भएकाले गाउँमा विरोध हुने ठानेपछि नयाँ व्यक्तिको खोजी भएको कुरा समेत प्रधानाध्यापक यादवले अडियो संवादमा खुलाएका छन्।
दिनेश खबरलाई प्राप्त २३ मिनेटको अडियो संवादमा प्रधानाध्यापकले पैसाको कुरा मिलेमा आफूले सबैतीर कुरा मिलाईदिने र असन्तुष्ट पक्षलाई समेत खरिद गर्ने आश्वासन दिएका छन्। यता पैसाको बार्गेनिङ गरेको तथ्य बाहिरिएपछि शिक्षक जोशीलाई ठाकुरले देखाईदिने भन्दै धम्की दिएपछि उनले ज्यान सुरक्षा गरिपाउ र पैसाको बार्गेनिङ रोक्न माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीमा उजुरी समेत दिएकी छन्।
यता प्रधानाध्यापक सुरेन्द्र ठाकुरले भने आफूले व्यक्तिगत स्वार्थका लागि रकम नमागेको दावी गरे। उनले विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र जनप्रतिनिधीको दबाबमा परी जोशीसँग रकम माग गरेको जिकिर गरे। तर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द गिरी र वडा नम्बर १३ का अध्यक्ष विजयराज जोशीले प्रधानाध्यापकले लगाएको आरोप स्वीकार गरेका छैनन्। विद्यालयमा भएको राजनीतिकरण र शिक्षक, व्यवस्थापन समितिका पदाधिकारी तथा जनप्रतिनिधीको मिलोमतोमा रकम असुल्ने स्वार्थका कारण भदौदेखी दरबन्दी रिक्त छ।
सो दरबन्दीमा आउनका लागि २० जना शिक्षकले विद्यालयमा निवेदन दर्ता गरेका छन् तर आर्थिक चलखेल नमिलेकै कारण अहिले सम्म पद रिक्त रहेको छ। पाँच लाख दिने सहमतीमा मोहनपुरकी निर्मलादेवी शाहीलाई नियुक्त गर्ने निर्णय विद्यालयले गरेपछि रकम नदिएका कारण नियुक्ती गरिएको छैन् भने माइनुट रजिष्टरमा पुषमा निरा खडकालाई सहमती दिने भनि गरेको निर्णयमा फर्जी कागज जोड्दै सहमती गरिसकेको देखाईएको छ।