सुदूर नेपाललाई विश्वसँग जोड्दै

साफ यू-१७ च्याम्पियनसिप फाइनलः भारतसँग नेपालको फराकिलो हार

२०७९ भदौ २९, १०:४७ खबर संवाददाता

काठमाडौंः श्रीलकाको कोलम्बोमा सम्पन्न भएको साफ यू-१७ च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग ४-० ले पराजित हुँदै उपविजेतामा सीमित भएको छ।

समूह चरणमा भारतलाई ३-१ ले पराजित गरेको नेपाल फाइनलमा भने भारतविरुद्ध निरीह रहँदा भारतलाई पराजित गर्दै उपाधि जित्ने चाहनामा पुन ब्रेक लागेको छ। कोलम्बोको रेस कोर्स ग्राउन्डमा बुधबार भएको फाइनलमा १० खेलाडीमा समेटिएको नेपालविरुद्ध भारतले समूह चरणको बदला लिने क्रममा सुरुवातबाटै रवाफिलो प्रदर्शन गरेको थियो। खेलमा १७ औँ मिनेटमा नै बोबी सिंहले गोल गर्दै भारतलाई सुरुवाती अग्रता दिलाएका थिए।

३० औँ मिनेटमा कोरोउ सिंहले भारतको अग्रता दोब्बर पार्दै नेपालमाथि दबाब बढाएका थिए। तर, २ गोलले पछि परेको नेपाल ३८ औँ मिनेटमा नै १० खेलाडीमा सीमित हुन पुग्दा झनै दबाबमा परेको थियो। नेपालका कप्तान प्रशान्त लक्ष्यमनले भारतीय खेलाडी ड्यानीलाई फउल गरेपछि सीधै रातो कार्ड पाएर मैदान छाडेका थिए। जसको फाइदा भारतले खेल अवधिभर लिएको थियो। पहिलो हाफमा २ गोल गरेको भारतले दोस्रो हाफमा थप २ गोल थप्यो।

६२ औँ मिनेटमा कप्तान गुइटेले गोल गर्दै भारतलाई ३-० को अवस्थामा पुर्‍याउँदा चौथो गोल इन्जुरी समयमा अमनले संभव बनाएका थिए।

कमेन्ट लोड गर्नुस