पीआरसीद्वारा मानव बेचबिखनविरूद्ध दिवसको अवसरमा कार्यक्रम
कञ्चनपुरः शान्ति पुर्नस्थापना गृह कञ्चनपुर(पीआरसी) ले मानव बेचबिखन तथा ओसारपसारविरूद्धको १६औँ राष्ट्रिय दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ। तीनै तहको सरकारः मानव बेचबिखनविरूद्धको सरोकार भन्ने मुल नाराका साथ गृहले सुदूरपश्चिम प्रदेश सरकार, भीमदत्त नगरपालिका, राष्ट्रिय मानव अधिकार आयोग, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, सशस्त्र प्रहरी बल, बोर्डर आउट पोस्ट गड्डाचौकी साथै गैर सरकारी संस्था महासंघलगायतका संघ संस्थाहरूसँग समन्वय तथा सहकार्य गरि दिवस मनाएको हो।
गृहले सोमबार मानवबेचबिखन विरूद्ध प्रतिवद्धता जाहेर गर्नका लागि सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टसहित स्थानीय सरकारका प्रतिनिधिहरू, सरोकारवाला निकायहरू साथै विभिन्न संघसंस्थाहरू प्रतिनिधिहरूको हस्ताक्षर संकलन गरेको छ।
त्यसैगरि भीमदत्त नगरपालिका वडा नम्बर–११ स्थित भुवनेश्वरी विद्या मन्दिरमा मानव बेचबिखन तथा ओसारपसारविरूद्ध सचेतनामुलक कार्यक्रम गरेको छ।
दिवसका अवसरमा गृहले गड्डाचौकी नाकामा रहेको आफ्नो बीटमा मानव बेचबिखन विरूद्ध सचेतना मुलक ब्यानर टाँसेको थियो भने जिङ्गल बजाएको थियाे। साथै पम्पलेटहरू समेत वितरण गरेको थियो। गृहले मानव बेचबिखन तथा ओसारपसारविरूद्ध सोमबार साँझ गड्डाचौकी नाकामा द्वीप प्रज्ज्वलन समेत गरेको छ।
कार्यक्रममा बोल्दै शान्ति पुर्नस्थापना गृह कञ्चनपुरका जिल्ला संयोजक संजीत सिंहले मानव बेचबिखन जस्तो जघन्य अपराधलाई जरैदेखि उन्मुलन गर्न तीनै तहको सरकार, प्रहरी प्रशासन, सरकारी तथा गैर सरकारी निकाय र सरोकारवाला निकायहरू एकजुट हुनुपर्ने बताए।