सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘झुटा आश्वासन दिनु र नागरिकको भावनासँग खेल्नु पनि भ्रष्टाचार हो’

२०८३ असोज २२, ०४:२८

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिमका युवा नेता हुन् डिल्लीराज भट्ट। उनी डोटी जिल्ला सहसचिव एवम् संगठन विभाग प्रमुख छन्। भट्टले डोटीमा रास्वपाको संगठनलाई विस्तारका लागि विभिन्न अभियान चलाइरहेका छन्। यसैसन्दर्भमा केन्द्रीत रहेर हामीले भट्टसँग संवाद गरेका छौं।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डोटीमा के-कस्ता काम गरिरहेको छ ?
हामीले प्राथमिकताका साथ तीन काम गरिरहेका छौं। संगठन निर्माण, जनतासँग प्रत्येक्ष सम्वाद र विकासका मुद्दामा पहल गर्ने कामलाई हामीले गति दिएका छौं। हामीले संगठन विस्तार गर्दा गाउँका समस्या गाउँमै सुन्ने अभियान सञ्चालन गरेका छौं। त्यस अभियानले संगठन निर्माण र जनतासँग प्रत्येक्ष सम्वाद गर्दै समस्या सुनेर समाधानका लागि सम्बन्धित निमायमा पहल गर्ने काम गरिरहेका छौं। विकासका मुद्दामा हामीले फाइलदेखि फिल्डसम्म अभियान नै सञ्चालन गरेर नतिजान्मुख काम गरिरहेका छौं। डोटीमा सडक, पूल, शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता विषयमा नागरिकका कुरा सुन्ने र आवश्यक विषयलाई सम्बोधन गर्न तीनै तहका सरकारबीच समन्वय गरिरहेका छौं। मेरो बुझाइमा राजनीति जनताको समस्या सुन्ने ठाउँबाट सुरु हुन्छ र समाधान खोज्ने ठाउँमा पुगेर सार्थक हुन्छ।
तपाईं संगठन विभाग प्रमुख हुनुहुन्छ, डोटीमा रास्वपाको संगठन कसरी विस्तार भइरहेकाे छ ?
हामी संगठनलाई कार्यालयभित्र सीमित राख्न चाहँदैनौं। पार्टीको संगठन विस्तारको विषयमा मेरो सरल सुत्र छ, गाउँघरमा पुग्ने, आम नागरिकका कुरा सुन्ने, समस्या बुझ्ने र समाधानका उपाए खोज्दै मानिसहरूलाई पार्टी संगठनमा जोड्ने। संगठन भनेको संख्या मात्र होइन, जनताको विश्वास जित्ने गरि काम गर्न सक्ने नेतृत्व हुनुपर्छ। एक हजार मानिसलाई पार्टीमा ल्याउँदा पनि जनताको विश्वास छैन भने संगठन कमजोर हुन्छ। तर, १० जना नेता कार्यकर्ताले मात्रै जनताको सुख दु:खमा साथ दिए संगठन बलियो हुन्छ। त्यसैले हामी गाउँगाउँ, वडा र पालिकासम्म संगठनलाई सक्रिय बनाउने, युवाहरूलाई जिम्मेवारी दिने, महिलाहरूलाई सम्मान र सहभागिता गर्दै स्थानीय विषयसँग संगठनलाई जोड्ने प्रयास गरिरहेका छौं। मेरो विचारमा रुखको हाँगा जति नै फैलियोस् जसा बलियो भएन भन्ने रुख टिक्दैन। त्यसैले हाम्रो संगठनका जरा पहाडी भेगका गाउँवस्ती नागरिक हुन्।

डोटीको भूगोल सहज छैन। कतै बस्तीहरू निकै टाढा छन्। तर, म भूगोललाई चुनौतिका रुपमा हेर्दैन। अर्को एउटा महत्त्वपूर्ण विषय डोटीको पहाडले मलाई एउटा कुरा सिकाएको छ, उकालो छ भन्दैमा यात्रा रोकिँदैन र रोक्नु हुँदैन। गाडी नपुगेको ठाउँमा पनि नागरिकहरू पुग्न सक्छन्। प्रविधिले टाढा रहेका ती गाउँबस्तीका आमा नागरिकलाई नजिक ल्याउन सक्दछ। त्यसैले अहिलेको संगठन विस्तारमा भौगोलिक कठिनाइसँगै नयाँ प्रविधिको प्रयोग पनि आवस्यक हुन्छ भन्ने बुझाइ मेरो रहेको छ। हाम्रो लक्ष्य नक्सामा संगठन देखाउने होइन, दूर दराजका गाउँबस्तीमा जहाँ खानेपानीको अभाव छ, जहाँ बिलुली बत्ती छैन, जहाँ टेलिफोन सेवा छैन, जहाँ स्वास्थ्यको राम्रो सुविधा छैन तिनै गाउँबस्तीमा संगठनको उपस्थिति देखाउने प्रयास गरिरहेका छौं।

अहिले त तपाईंहरूकै सरकार छ, यी समस्यालाइ समाधान गर्न के गरिरहनुभएकाे छ ?
सरकार आफ्नै पार्टीको हो भन्दैमा प्रश्न गर्न नहुने भन्ने हुँदैन, बरु जिम्मेवारी अझैँ बढ्छ। सरकारले राम्रो काम गर्छ भने साथ दिनुपर्छ, काममा ढिलाइ भयो भने कारण खोज्नुपर्छ। डोटीको दूर दराजमा भएका नागरिकहरूको समस्या समाधान भएन भने प्रश्न उठाउनुपर्छ भन्ने मेरो स्पष्ट धारणा छ। अब तपाईंले सोधेको कुरा गर्दा हामी डोटीको विकासमा तल्लिन् छौं। अब डोटीबाट हाम्रो काम भनेको हामीलाई सडक चाहियो भनेर मात्र हुँदैन, हामीले भन्नुपर्छ कुन सडक? कति आवस्यक? कति जना प्रभावित हुन्छन्? योजना कहाँ अड्किएको छ? के निर्णय गरेपछि काम अगाडि बढ्छ भन्ने विषयमा बुझ्न आवस्यक हुन्छ।

दबाब भनेको ठूलो स्वरमा कराउनु मात्र होइन, तथ्यसहित प्रश्न गर्नु र समस्याको हल खोज्नु हो। त्यसैले हाम्रो डोटी जिल्ला पार्टी सभापति केशब बलायरको नेतृत्वमा काठमाडौंमा छौं। धनगढी-खुटीया-दिपायल-चयनपुर-उरै भन्ज्याङ फास्ट ट्रयाक विगत लामो समयदेखि धेरै पार्टीका नेताहरूले राजनीतिक मुद्दा बनाइएको पाइयो। वर्षौंदेखि चुनावी नारामा सीमित राखिएको भेटिएपछि सडकको बाँकि कामको ठेक्का प्रक्रिया अघि बढाउन, आवस्यक पुलको ठेक्क प्रक्रिया अघि बढाउन र आवस्यक बजेटको अर्थमन्त्रालयबाट स्रोत सुनिश्चितताका लागि हामीले सिंहदरबार धाएर काम गरेका छाै‌। हामी अरूलाई दोष दिएर राजनीति गर्न आएका होइनौं। तर, विगतमा किन बन्न सकेन?, कहाँ रोकियो र कसको जिम्मेवारी थियो भन्ने प्रश्न गउँका समस्या गाउँमै सुन्ने अभियान अन्तर्गत जनताले हामीलाई सोध्नु भएको छ। त्यसैगरी हामीलाई प्राप्त प्रश्नसँगै हाम्रो जिम्मेवारी पनि छ, कसले किन बनाएन मात्र होयन, अब कसले कहिलेसम्म बनाउँछ। डोटीका आम नागरिकले परिणाम खोजेको हुँदा काम पूरा गराएर मात्र जिल्ला फर्कने छौं।

जनताका सुझाव र अपेक्षा के-कस्ता पाउनु भएको छ?
डोटेली दाजुभाइ तथा दिदीबहिनीहरूका धेरै ठूला अपेक्षा छैनन्। उहाँहरूलाई राज्यले सामान्य रुपमा गर्नुपर्ने काम ठीकसँग गरिदेओस् भन्ने छ। जस्तै सडक समयमा बनोस्, स्वास्थ्य सेवा सहज होस्, शिक्षा राम्रो होस्, युवाले रोजगारी पाओस्, किसानले उत्पादनको मूल्य पाओस्, सरकारी कार्यालयमा कामका लागि पटक/पटक धाउन नपरोस् भन्ने उहाँहरूको चाहना छ। मलाई के लाग्छ भने- जनताको सबैभन्दा ठूलो अपेक्षा हामीलाई सुन्ने, बुझ्ने र सम्मान गर्ने राजनीतिक दल होस् भन्ने छ। त्यसैले हामीले विपन्न वर्गलाई केवल चुनावको समयमा भेट्ने संस्कारको अन्त्य गर्दै अहिले हामी गाउँगाउँमा भोट माग्न नभइ जनताका समस्या माग्न गाउँगाउँ गएका छौं।

तपाईंको दृष्टिकोणमा डोटीमा विकासका मूल आधार के-के हुन् ? डोटी विकासमा किन पछारि परेको जस्तो लाग्छ ?
म समस्या एउटै व्यक्तिमाथि थुपार्न चाहन्न। डोटीको विकासका लागि सडक र पुल, शिक्षा र स्वास्थ्य, कृषि र बजार, पर्यटन, ऊर्जा, रोजगारी र सूचना प्रविधिलाई एकै साथ हेर्नुपर्छ। डोटीको अर्को विशेषता भनेको भूगोल अनुसार सम्भावना पनि फरक छन्। जोरायल क्षेत्रको सम्भावना र खप्तड क्षेत्रको सम्भावना एउटै हुँदैन। दिपायलको भूमिका र दुर्गम गाउँको आवस्यकता एउटै हुँदैन, त्यसैले मेरो अध्ययनले पहिले भूगोल पढौं त्यसपछि विकासको योजना अघि बढाउनुपर्दछ। डोटीमा सम्भावना कम भएर विकास रोकिएको होइन, नियत सफा र दूर दृष्टि भएको नेतृत्व आवस्यक हुन्छ।
तपाईं त आफैँ युवा नेता, डोटीबाट युवा बाहिरिने क्रम बढ्दो छ। युवा पलायनलाई कसरी रोक्न सकिएला जस्तो लाग्छ ?
युवालाई गाउँ नछोडर भनेर मात्र रोक्न सकिँदैन। गाउँमै बस्ने स्पष्ट कारण दिनुपर्छ। किसानले राम्रो आमदानी गर्न सक्छन्, युवाले सीपअनुसार काम पाउँछन् भने गाउँमै बस्छन्। व्यवसाय हुने वातावरण हुन्छ भने व्यवसायीहरू बस्छन्। त्यसैले रोजगारीलाई केवल सरकारी जागिरसँग जोड्नु हुँदैन। डोटीको कृषि, पर्यटन, जडिबुटी, फलफूल, पशुपालन, साना उद्योग र डिजिटल माध्यमलाई रोजगारीसँग जोड्नुपर्दछ। युवालाई रोकेर होइन, अवसरलाई गाउँसम्म पुर्‍याउन राजनीतिक नेतृत्वले भूमिका खेल्नुपर्दछ।

जिल्लाबाट सरकार वा सिंहदरबारसँग समन्वय गर्न कत्तिको सहज असहज हुँदो रहेछ ?
समन्वय सजिलो काम होइन तर काम स्पष्ट र तथ्यसहित लिएर गयो भने बाटो खुल्ने रहेछ। हामी कुनै समस्या वा विषय लिएर जाँदा पहिले त्यसको अवस्था बुझ्ने प्रयास गर्छौं। त्यसपछि सम्बन्धित मन्त्रालय वा नियकायसँग कुरा गर्छौं। मन्त्रालयमा पुगेर यो गरिदिनुहोस् न भन्नुभन्दा यो समस्या हो, यसको कारण यो हो, समाधानका लागि यो निर्णय आवस्यक छ भनेर सिंहदरबार जाँदा नेतृत्वपंतिबाट सजिलै समस्याको समाधान भएको अनुभूति गरेका छौं। अहिले प्रधानमन्त्री कार्यालयले पनि नागरिकका सुझाव संकलन गर्ने प्रणाली सञ्चालन गरिरहेको छ। सरकारको घोषित प्राथमिकता, सार्वजनिक सेवा सुधार तथा सुशासन छन्। त्यसैले हाम्रो भूमिका सरकार र जनताबीचको समन्वयको पूल बन्ने हो।

रवि लामिछानेको पार्टीको नेतृत्व र बालेन शाहको सरकारको नेतृत्वलाई तपाईं कसरी लिनुहुन्छ ? 
म यसलाई दुई फरक भूमिकाबाट हेर्न चाहन्छु। रवि लामिछाने पार्टी सभापतिको भूमिकामा हुनुहुन्छ र बालेन शाह अहिले प्रधामन्त्रीको भूमिकामा हुनुहन्छ। मेरा लागि नेतृत्वको मूल्यांकनको आधार व्यक्ति होइन, कामको दिशा र परिणाम हो। रवि लामिछानेको नेतृत्वले राजनीतिमा जनताको प्रश्न, जवाफदेहिता र देशको समग्र नेतृत्व लिनुभएको छ। बालेन शाहको नेतृत्वको सरकारले सुशासन, सेवा सुधार, रोजगारी, शिक्षा, स्वास्थ्य र आर्थिक विकासलाई प्राथमिकतामा राखेको छ। अब जनताले अपेक्षा स्वभाविक रुपमा एउटै हो घोषणा र परिणामबीच दूरी छोटोहोस् भन्ने छ। म सन्तुष्ट छु कि छैन भन्नेभन्दा पनि  मेरो प्रश्न हुन्छ- अझ राम्रो कसरी गर्न सकिन्छ? राजनीतिमा सन्तुष्टिको अन्तिम विन्दू हुनु हुँदैन। सुधारको यात्रा निरन्तर हुनुपर्छ। जुन अहिले हाम्रो देशमा जारी छ।

तपाईँको नजरमा नयाँ राजनीति के हो र कस्तो हुनुपर्छ?
नयाँ राजनीति भनेको नयाँ मान्छे मात्र होइन, रचनात्मक सोच, नयाँ व्यवहार र नवीन परिणाम हो। पहिले समस्याको हिचान गर्ने र त्यसपछि तथ्य हेर्ने अनी योजना बनाउने, समय तोक्ने र सोही अनुरुप काम गर्ने गर्नुपर्छ। दूर दराजका नागरिकहरूलाई परिणाम देखाउने गरि काम गर्दै नयाँ नारा मात्र दिनु हुँदैन। पूराना समस्याहरूको दीर्घकालीन समाधानको बाटोतिर अगाडि बढ्नुपर्छ।

तपाईं त नेकपा माओवादीबाट आउनु भएको, तपाईंलाई अवसरवादी भन्ने आरोप पनि लाग्छ, के तपाईं अवसरवादी हो?
राजनीतिमा मानिसले प्रश्न गर्न पाउँछन्। त्यो लोकतन्त्रको सुन्दर पक्ष हो। म आफ्नो विगत लुकाउन चाहन्न। म जहाँ थिए त्यहाँबाट सिकेको छु समयसँगै मेरो राजनीतिक सोच र प्राथमिकतामा परिवर्तन आएको छ। तर, एउटा कुरा स्पष्ट रुपमा के भन्न चाहन्छु भने पार्टी बदल्नु र मूल्य मान्यता बदल्नु एउटै कुरा होइन। यति मेरो लक्ष्य पद र अवसर मात्र हुन्थ्यो भने जनताका समस्या, संगठन निर्माण र विकासका विषयमा यति धेरै समय दिनुपर्ने थिएन।

मेरो जवाफ भाषणबाट होइन, समय र कामबाट दिने छु। मलाई लाग्छ राजनीतिमा विगतको परिचय हो तर भविष्यकको काम पहिचान हो। म रास्वपामा आज मात्र जोडिएको होइन, यसको विचार, नागरिक केन्द्रीत राजनीति र जवाफदेहिताको संस्कारलाई आफ्नो राजनीतिक यात्राको आगामी जिम्मेवारी ठानेर अगाडि बढिरहेको छु। राजनीतिमा नेताको परिचय उसले हिजो कुन ढोकाबाट प्रवेश गर्यो भन्नेले मात्र होइन, आज कुन मूल्य बोकेर उभिएको छ? भोली जनताका लागि के गर्छ भन्नेले निर्धारण गर्छ।

अन्त्यमा के भन्न चाहनुहुन्छ?
डोटीबासी जनतालाई म झुटो सपना बेच्न चाहँदैन। डोटेली जनतालाई झुटा आस्वासन दिनु र निम्न वर्गका नागरिकको भावनासँग खेलवाड गर्नु पनि एक प्रकारको भ्रष्टाचार हो भन्ने मेरो बुझाइ छ। डोटीको भूगोल कठीक होला। तर, हाम्रो सम्भावना कठिन छैन। डोटिको विकास कुनै एक दल नेता वा व्यक्तिको मात्र एजेण्डा होइन, यो हामी सबैको साझा जिम्मेवारी हो। त्यसैले सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, जनप्रतिनिधि, सञ्चारकर्मी, युवा, व्यवसायी र डोटीबासी दाजुभाइ तथा दिदीबहिनीहरूलाई विचार फरक भए पनि विकासमा सधैँ हातेमालो गरौं भनि आग्रह गर्दछु। म रास्वपाको जिम्मेवार कार्यकर्ताको रुपमा डोटीको विकास, जनताको हितमा काम गर्न सबैसँग सहकार्य गर्न तयार र प्रतिवद्ध छु। 

कमेन्ट लोड गर्नुस