सुदूर नेपाललाई विश्वसँग जोड्दै

गगन थापा सिंगो कांग्रेस सभापति बन्न नसक्नु दुर्भाग्य : कमलबहादुर शाह

२०८३ असोज २२, ०६:०६ खबर संवाददाता

कैलाली: नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले गगन थापा सिंगो नेपाली कांग्रेसको पार्टी सभापति बन्न नसक्नु दुर्भाग्यपूर्ण भएको बताएका छन्।

बिहीबार लम्कीचुहा नगरपालिकाको नगर अधिवेशनलाई सम्बोधन गर्दै शाहले पार्टीको संवैधानिक तथा वैधानिक अवधि बाँकी रहँदारहँदै पनि सबै पक्षलाई समेटेर एकताको महाधिवेशन गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए

उनले विशेष महाधिवेशनको पक्षमा रहेका नेताहरूले पार्टीभित्रको एकतालाई प्राथमिकता दिनुपर्ने बताए। प्रभाव पार्ने उद्देश्यले हतारमा महाधिवेशन गर्नुभन्दा कांग्रेसभित्रका सबै नेता–कार्यकर्तालाई एकताबद्ध बनाएर अघि बढ्ने वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ थियो।

“कांग्रेसका सबै नेता–कार्यकर्तालाई भावनात्मक रूपमा समेत समेटेर एकताको महाधिवेशन गर्नु अहिलेको आवश्यकता हो,” शाहले भने। कांग्रेस सभापति शेरबहादुर देउवाले आफू अब पार्टी नेतृत्वमा नरहने घोषणा गरिसकेको र पार्टी विधानले सभापतिको दुई कार्यकालको व्यवस्था गरेको उल्लेख गर्दै शाहले सबै पक्षलाई समेट्न सकेको भए नियमित महाधिवेशनबाट गगन थापा पार्टी सभापति बन्न सक्ने विश्वास व्यक्त गरे।

उनले कांग्रेस कमजोर हुँदा मुलुक र संविधानसमेत कमजोर हुने भएकाले पार्टीभित्र एकता कायम गर्नुको विकल्प नरहेको बताए। पार्टीभित्रको एकता, सहकार्य र भावनात्मक सम्बन्धलाई थप बलियो बनाएर अघि बढ्नुपर्नेमा उनले जोड दिए।

नगर संयोजक कृष्णप्रसाद धमलाको सभापतित्वमा सम्पन्न नगर अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। अधिवेशनबाट प्रयागराज खनालको नेतृत्वमा २७ सदस्यीय नगर कार्यसमिति चयन भएको छ।

कमेन्ट लोड गर्नुस