सुदूर नेपाललाई विश्वसँग जोड्दै

नवौं राष्ट्रिय खेलकुदः सुदूरपश्चिम क्रिकेट छनोटको खेल तालिका सार्वजनिक

२०७९ भदौ १३, ०२:५२ खबर संवाददाता

धनगढीः नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनोटको खेल तालिका सार्वजनिक भएको छ। तालिकाअनुसार छनोट प्रतियोगिता मंगलबार धनगढीस्थित फाप्ला खेलमैदानमा शुरु हुने भएको छ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टका अनुसार पहिलो खेलमा कैलाली र दार्चुला भिड्दा दोस्रोमा बझांग र डडेल्धुरा प्रतिस्पर्धा गर्नेछन्। भदौ १५ गते कञ्चनपुर र अछामबीच भिडन्त हुँदा दोस्रोमा बैतडी र डोटी आमनेसामने हुने भएका छन्। भदौ १६ गते पहिलो खेलमा कैलाली र दार्चुलाबीचको विजेता र बझांग तथा डडेल्धुराबीचको विजेता टोलीबीच भिडन्त हुनेछ। दोस्रो खेलमा बैतडी र डोटीबीचको विजेता टोलीले बाजुरासँग प्रतिस्पर्धा गर्नेछ।

भदौ १७ गते कञ्चनपुर र अछामबीचको विजेता टोली र १६ गतेको खेलको विजेता टोलीबीच भिडन्त हुनेछ। नकआउट चरणमा गरिने छनोटको फाइनल खेल भदौ १८ गते हुने जनाइएको छ। प्रदेशस्तरीय छनोटमा उत्कृष्ट प्रदर्शन खेलाडीबाट सुदूरपश्चिमको टोली बनाइनेछ। उक्त क्रिकेट टोलीले नवौं राष्ट्रिय खेलकुदमा सहभागिता जनाउनेछ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोजमा हुने तय भए पनि पुरुष क्रिकेट भने यही भदौ २२ गतेदेखि काठमाडौंमा शुरु हुनेछ। नेपाल क्रिकेट संघले आयोजना गर्न लागेको नेपाल टी २० लिग र नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति जुधेपछि क्रिकेटको नयाँ मिति तय गरेको हो। राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पुरुष क्रिकेटबाहेक आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा हुनेछ।

कमेन्ट लोड गर्नुस